पदमार्ग निर्माण पछि धार्मिक स्थल डहरेदेउराली पुग्न सहज

वालिङ :
धार्मिक एवं ऐतिहासिक स्थलका रुपमा रहेको डहरेसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माण भएसँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ मा अवस्थित डहरे देउरालीसम्म भक्तजन पुग्न सहज हुने भएको हो ।
गण्डकी प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा बयालेदेखि लिलिङसम्मको अप्ठ्यारो बाटोमा पदमार्ग निर्माण गरिएको डहरे बयाले घनटे मल्कवाङ एकानन्द गुफा उपभोक्ता समितिका अध्यक्ष भद्रबहादुर गुरुङले बताउनुभयो ।
समुद्र सतहदेखि दुई हजार दुई सय ६० मिटरको उचाइमा अवस्थित डहरेसम्म पुग्न यसअघिका वर्षमा रु ६५ लाखको लागतमा एक दशमलव छ किलोमिटर पदमार्ग निर्माण भइसकेको उहाँले बताउनु भयो । चालु आर्थिक बर्षमा ढुङ्गा छापेर चार सय ३० मिटर लम्बाइको पदमार्ग निर्माण गरिएको छ ।
अब बयालेदेखि लिलिङबीचमा करिव डेढ किमी पदमार्ग निर्माण गर्न बाँकी छ । साँघुरो र उकालो बाटो भक्तजन आउनु पर्दा अप्ठ्यारो भएपछि पदमार्ग निर्माण गरिएको मोक्षद्वारी बालसिद्ध योगाश्रम डहरे स्याङ्जा, पर्वतका अध्यक्ष बाबुराम शर्माले बताउनुभयो ।
विशेष गरी नवदुर्गा, शिवरात्रि, बाला चतुर्दशीलगायतका चाडपर्वका समयमा यहाँ दर्शनार्थीको भीड लाग्ने गर्छ । यी चाडबाहेक अन्य दिनमा पनि यहाँ दर्शनार्थी पूजापाठ गर्न आउने गर्दछन् यस्तै बाला चतुर्दशीमा शतबीज छर्ने, तोरण टाग्नेको बर्सेनि भीड रहने गरेको छ ।
‘डहरा’ ऋषिले तपस्या गरेको ठाउँ भएकाले पछिल्लो समयमा डहरे देउरालीको नामबाट चिनिने गरिएको छ ।
स्याङ्जा र पर्वतको सङ्गमस्थल अर्जुनचौपारी–५ मा रहेको डहरे धार्मिक, ऐतिहासिक क्षेत्र मात्रै नभई प्रचूरमात्रामा पर्यटकीय सम्भावना बोकेको स्थल पनि हो ।

Facebook Comments Box
TOP