अर्जुनचौपारीस्थित दरौंखोलामा ९० दिनमा नै बन्यो ‘ट्रस ब्रिज’,स्थानीयमा खुसियाली

Prakash Tiwari Arjunchaupari

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको केन्द्रविन्दु हो अर्जुनचौपारी बजार । अग्ला पहाडहरुले घेरिएको बीचमा केही फराकिलो ठाउँ । जहाँ गाउँपालिकाको प्रशासकीय भवन पनि रहेको छ । गाउँ नै गाउँले भरिएको अर्जुनचौपारी गाउँपालिकाको मुकामकोरुपमा रहेको छ अर्जुनचौपारी बजार । बजारलाई दुई भागमा विभाजन गर्दै बहेको दरौंखोला । हालसम्म प्रदूषित नबनिसकेको दरौं खोला स्याङ्जा जिल्लाकै ठूलो मध्येको एक खोला पनि हो । मुख्य बजारको बीच भागमा ३० वर्ष अघि निर्माण भई सञ्चालनमा रहेको झोलुङ्गे पुल । जीर्ण अवस्थामा रहेको पुल जहाँ काठका फलिया ठोकिएको थियो । वर्षाको पानीले बीचबीचमा कुहिएर वारपार गर्दा दुर्घटना हुनसक्ने जोखिम थियो ।
मुख्य बजारबाट वारपार गर्न ३० वर्ष अघि निर्माण भएको पुलबाट स–साना बालबालिकाहरु विद्यालय जानुपर्ने बाध्यता थियो । सुसाउँदै बहेको दरौं खोला र झोलुङ्गो जस्तै हल्लिने जीर्ण अवस्थामा रहेको पुलले जो कोही वारपार गर्न पनि डराउँथे । मानिसहरुको ओहोरदोहोर गर्ने पुल जीर्ण बनेकाले आवातजावतमा समस्या भएपछि उक्त ठाउँमा ‘ट्रस ब्रिज’ निर्माण गरी सञ्चालनमा ल्याईएको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
“बजारको बीच भागमा रहेकाले लठ्ठा तानेर पुल बनाउन नमिल्ने भएपछि ‘ट्रस ब्रिज’ को डिजाईन गरी पुल निर्माण गरेका हौं” उहाँले भन्नुभयो, “पुल निर्माण भएसँगै दुर्घटनाको जोखिम हटेर गएको छ भने ओहोरदोहोर गर्न पनि निक्कै सहज र छिटो भएको छ ।” पुल निर्माण गर्न संघीय सरकारको रु। २९ लाख, गाउँपालिकाको रु। २० लाख र स्थानीयवासीको एक लाख गरी कूल रु। ५० लाखको लागतमा निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।
दरौं खोलामा निर्माण सम्पन्न भई बुधबारबाट सञ्चालनमा आएको पुल ३२ मिटर लम्बाईको रहेको छ । सम्झौता भएको मितिले तीन महिनाभित्र काम सम्पन्न गरी हस्तान्तरण गरिएको अर्जुनचौपारी बजार झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष क्याप्टेन रुद्रबहादुर थापाले बताउनुभयो ।
“३० वर्षअघि निर्माण भएको झोलुङ्गे पुलबाट आवात जावत गर्नुपर्ने बाध्यता थियो” उहाँले भन्नुभयो, “पुल जीर्ण हुँदा, पुलमा प्रयोग भएका फलियाहरु कुहिँदा स–साना स्कुले बालबालिकाहरुको खुट्टा छिर्ने, चप्पल बगाउने, घाउ चोटपटक लाग्ने गरेको थियो ।” पुल सम्पन्न भई सञ्चालनमा आएसँगै स्थानीयलाई निक्कै सहज भएको महशुस गरेका छन् । पुलले अर्जुनचौपारी गाउँपालिका वडा न १ र २ लाई जोडेको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP