आँधीखोलाको सरसफाई प्रभावकारी बन्दै, जिल्लाका अन्य भागमा पनि शुरु भयो अभियान

वालिङ :
आँधीखोला सरसफाईको २१ औँ हप्ता भएको छ । पछिल्लो समय प्रभावकारी बन्दै गएको आँधीखोला सरसफाई अभियानमा युवाहरुको सक्रिय सहभागिता रहदै आएको छ । वालिङका युवाहरुको सक्रियतामा शुरु गरिएको अभियानमा सवैको सहभागिता बढ्दो रहेको छ । शनिवार वालिङ ९ स्थित आँधीखोला परिसरमा सरसफाई गरिएको छ । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलाको अस्तित्वलाई जोगाउन यहाँका केहि युवाहरु मिलेर आँधीखोला सरोकार मञ्च गठन गरि सरसफाई अभियान शुरु गरेका हुन् । पछिल्लो समय वालिङमा बजारीकरण तथा मानिसको जनघनत्व बढेसंगै धार्मिक महत्वको आँधीखोला सरसफाई बिर्सजन स्थल बन्दै गएको छ ।
आँधीखोलालाई सफा तथा स्वच्छ राखी धार्मिक गन्त्व्यको रुपमा विकास गर्नका लागी आजभन्दा ६ महिना अगाडि आँधीखोला सरोकार मञ्च मार्फत सरसफाई अभियान संचालन गरिएको अभियन्ता प्रकाश अर्यालले जानकारी दिनुभयो । २१ हप्तासम्म आईपुग्दा यहाँका विभिन्न समुह, क्लब, सहकारी, विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । वालिङ ८ सुर्कौँदीबाट सरसफाई अभियान शुरु गरिएको थियो ।

वालिङ स्थित आँधीखोलामा सरसफाई गरिदै
वालिङ स्थित आँधीखोलामा सरसफाई गरिदै

आँधीखोलाको सभ्यता जोगाउनका वालिङ १३ का युवाहरु पनि जुटेकाछन् । आँधीखोलाको तिरमा रहेका शिवालय मन्दिर परिसरबाट गत हप्ता शुरु भएको अभियानमा युवाहरुको राम्रो उपस्थिती रहेको छ ।
युवाहरुको सक्रियतामा हामीले हप्ताको दुई घण्टा आँधीखोला सरसफाई गर्न र सचेतना कार्यक्रम गर्न जुटेका छौं युवा अर्जुन गौतमले भन्नुभयो । युवाहरुको सक्रियताले सार्थकता पाउनेमा हाफूहरु विश्वस्त रहेको बताउदै गौतमले आँधीखोला संरक्षणका लागि सवै जुट्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै वालिङ १ मा पनि आँधीखोला तथा मिर्दिखोला सरसफाई अभियान तिव्र पारिएको छ । रामबाच्छा बजार भएर बग्ने अर्मादीखोलाको सरसफाईमा बजारबासी जुटेको वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिनुभयो ।

वालिङ १ स्थित अर्मादीखोलामा सरसफाई गरिदै
वालिङ १ स्थित अर्मादीखोलामा सरसफाई गरिदै

यता आँधीखोला सरोकार मंचले आँधीखोला सरसफाई राख्नका लागी सरसफाई अभियानसंगै जनचेतनामुलक ¥याली, माईकिङ समेत गरी नागरिकस्तरमा चेतनाको विकास गर्ने प्रयास गरिरहेको छ ।
श्रवणकुमारको मातापिताको आँसुबाट उत्पत्ति भएको आँधीखोलाको धार्मिक महत्व रहेतापनि सहि संरक्षण तथा संर्वद्धन हुँन नसक्दा खोलाको महत्व कम हुँदै जाने, खोलामा भएका जलचर प्राणी संकटमा आउने र वातावरणीय प्रदुषण हुने भन्दै युवाहरुले सरसफाई तथा संरक्षण अभियान थालेका हुन ।
उता फेदीखोलामा पनि युवाहरुको सक्रियतामा फेदीखोलाको सरसफाई कार्यलाई तिव्रता दिईएको छ । युवाहरुको सक्रियतामा शुरु भएको अभियान तेस्रो हप्तामा पुगेको पुष्पराज शर्माले जानकारी दिनुभयो ।

फेदीखोला गाउँपालिका स्थित फेदीखोलाको सरसफाई गरिदै
फेदीखोला गाउँपालिका स्थित फेदीखोलाको सरसफाई गरिदै
वालिङ १३ स्थित आँधीखोलाको सरसफाई गर्दै युवाहरु
वालिङ १३ स्थित आँधीखोलाको सरसफाई गर्दै युवाहरु
Facebook Comments Box
TOP