सडक फराकिलो पार्दै गल्याङ नगरपालिका

वालिङ :

स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्रका साँघुरा सडकलाई फराकिलो पार्न सुरु गरेको छ । साँघुरो सडकका कारण ग्रामीण भेगमा दुर्घटना बढेको भन्दै पालिकाको पहलमा सडक फराकिलो पार्न सुरु गरिएको हो ।

पहिलो चरणमा गल्याङ चापाकोट सडक खण्डमा फराकिलो पार्ने र पक्की पर्खाल उठाउने काम सुरु गरिएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । पालिकाभित्र जनघनत्व धेरै भएको क्षेत्रलाई प्राथमिकतामा राखेर सडकको व्यवस्थापन गर्ने काम सुरु गरेको उहाँको भनाइ छ ।

अन्य सडकको पनि लगत लिने काम सुरु गरेका छौँ, प्रमुख भट्टराईले भन्नुभयो, ‘क्रमागत रूपमा स्तरवृद्धि गर्ने काम गर्ने योजना छ ।’ गाउँका सडक अत्यन्तै साँघुरा र समस्याग्रस्त हुँदा दुर्घटना जोखिम बढ्यो, त्यसैले ग्रामीण सडक फराकिलो पार्न लागिएको प्रमुख भट्टराईले बताउनुभयो ।

सडकको स्तर वृद्धिका लागि छुट्याइएको बजेटमार्फत सो खण्डमा काम सुरु गरिएको छ । गल्याङ नगरपालिका र चापाकोट नगरपालिका जोड्ने सडकको केही भागमा स्तरवृद्धिको काम सुरु गरिएको पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।

प्रमुख अर्यालका अनुसार तत्काल ७० लाख बजेटमार्फत गल्याङ बजार नजिकै स्तरोन्नति गर्न सुरु गरिएको हो । जिल्लाका अन्य सडकको पनि स्तरवृद्धिका लागि माग भएको उहाँको भनाइ छ ।

Facebook Comments Box
TOP