बाख्राको दूधबाट चीज उत्पादन
स्याङ्जा :
स्याङ्जाको भीरकोट ८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन सुरु गर्नुभएको छ । दशवर्ष अघि ‘जूना बाख्रापालन फर्म’ दर्ता गरी सानन जातका बाख्रापालन थाल्नुभएका गुरुङले दुई साता अघिदेखि चीज उत्पादन सुरु गर्नुभएको हो । गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाउँदै आउनुभएको छ । “फर्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० वटा बाख्रा रहेका छन्” उहाँले भन्नुभयो, “२७ माउहरुमध्ये अहिले १० वटाले दूध दिन्छन् ।”
भैंसी तथा गाईबाट उत्पादन हुने दूधबाट चीजहरु बनाईरहेका बेला स्याङ्जामा नै पहिलो पटक आँफूले बाख्राको दूधबाट चीज उत्पादन थालेको दावी उहाँको छ । स्थानीय खरीको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराईएको हो । दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन बनाउने उहाँको लक्ष्य हो । “तारे होटलहरुमा बाख्राको दूधबाट बनेको चीजको माग बढी हुने भएकाले उत्पादन थालेको हुँ” उहाँले भन्नुभयो, “भर्खरै उत्पादन थालेको छु, अहिले उत्पादन भएको बिक्री भईरहेको छ, अब उत्पादन बृद्धि हुँदै जाँदा बजारको अभाव हुन सक्ने भएकाले बजारको खोजीमा छु ।”
बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप उहाँले तनहुँको बन्दीपुरमा सिक्नुभएको थियो । दुई वर्ष अघि चीज बनाउने सीप सिकेपश्चात घरमै प्रयोगात्मक परीक्षणहरु गरेर ब्यवसायिक उत्पादन थालेको उहाँ बताउनुहुन्छ ।
“अहिले उत्पादन भएको चीज स्थानीय स्तरमै प्रतिकेजी २ हजारका दरले बिक्री भईरहेको छ” उहाँले भन्नुभयो, “अब यसलाई गुणस्तर, प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउने तयारीमा छु ।”
भारतमा रेडियो टिभी मर्मत तथा वायरिङसम्बन्धी तालिम लिई काम गर्दै आउनुभएका गुरुङले स्वदेशमै फरक ढंगको ब्यवसाय थाल्ने लक्ष्यसहित जन्मभूमि फर्कनुभयो । बाख्रापालनसम्बन्धी दुई दिने तालिम लिनुभएका गुरुङ भन्नुहुन्छ, “मासु तथा पाठापाठी खरिद बिक्री त सबैले गर्छन्, अरुले भन्दा फरक खालको ब्यवसाय गर्ने हुटहुटीले दूधालु सानन जातका बाख्रा पालन गर्ने निचोडमा पुगेको हुँ, अहिले राम्रै गरेछु भन्ने लाग्छ ।” उहाँले २०७० सालमा १२ वटा बाख्राबाट ब्यवसाय थाल्नुभएको थियो । बाख्रा खरिद र खोर निर्माणमा रु. तीन लाख ५० हजार लगानी गरी ब्यवसाय थाल्नुभएका गुरुङ अहिले यो ब्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ।
सानन जात दूधकालागि राम्रो बाख्रा हो । सीप सिकेर ब्यवसायिकरुपमा बाख्रापालन गर्नुभएका गुरुङले चीज उत्पादन गर्नुभएको छ । बाख्राको दूधबाट बनाईएको चीज विशेष गरी होटलहरुमा माग बढी हुने गरेको युवाहरुकालागि नमूना बाख्रा गाउँ अभियानका अभियान्ता सुशील अर्यालले बताउनुभयो । चीजको माग पछिल्लो समय बढ्दै गएकाले उत्पादनलाई गुणस्तरयुक्त बनाउनुकासाथै वृद्धि गर्नुपर्ने सुझाव उहाँको छ । “बाख्राको दूधबाट उत्पादित चीजको बजार मूल्य राम्रो रहेको छ” उहाँले भन्नुभयो, “गुणस्तरयुक्त उत्पादन गर्न सकेको खण्डमा बजारको समस्या हुँदैन ।” नयाँ नयाँ ब्यवसायहरुलाई प्रवद्र्धन गर्न सके युवाहरु ब्यवसायतर्फ आकर्षित हुने र स्वदेशमै रोजगार उपलब्ध हुने धारणा उहाँको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


