गल्याङमा कृषि र पशु स्वास्थ्य शिविर

स्याङ्जा :
स्याङ्जाको गल्याङ नगरपालिकाले प्रत्येक वडामा कृषि तथा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कृषि र पशुमा देखिएको समस्या पहिचान र समाधानका लागि नगरपालिकाले प्रत्येक वडामा शिविर आयोजना गरेको हो । नागरिकको मुख्य आयश्रोतको रुपमा रहेको कृषि र पशुमा हुने समस्याको पहिचानमा शिविरले सहजता ल्याउने विश्वास नगरपालिकाले लिएको छ । बैशाख १९ गतेबाट शुरु गरिएको शिविर ३१ गते सकिएको छ ।

शिविरबाट ४ हजार ८ सय ७६ पशुपंक्षीको उपचार गरिएको छ भने कृषि तर्फ ४ सय ५१ नमुना परिक्षण गरिएको छ । गाईभैसीको गोवर, दुध परिक्षण गरिएको थियो भने कुकुर, बिरोलो लगायत घरपालुवा जनावरलाई रेविज बिरुद्धको खोप दिइएको नगरपालिकाले जनाएको छ । कृषिमा माटो परिक्षण गरी माटोको अवस्था र बिरुवा समेत परिक्षण गरिएको थियो । शिविरले गल्याङ् नगरपालिका भित्र कृषि र पशुको अवस्था चित्रण देखाएको पशु शाखा प्रमुख शुशिल अर्यालले जानकारी दिए । कृषि र पशुको अवस्था अत्यन्तै नाजुक अवस्था देखिएको छ उनले भने,‘गाईभैसीमा नाम्ले र गहते किरा, कृषिमा ढुसीजन्य रोग र अमेरीकन फौजी किराको प्रकोप देखिएको छ ।’ अब यसको न्युनिकरण काम गर्ने तर्फ नगरपालिकाले बिशेष रणनीति तय गर्ने छ उनले भने ।

नगरभित्र ७० प्रतिशत माटो तथस्ट, २० प्रतिशत माटोमा अम्लियपन र १० प्रतिशत माटोमा क्षारियापन शिविरबाट देखा परेको छ । त्यसैगरी गाईभैसीमा मुख्यगरी आन्तरिक परजीवी, बाह्रय परजीवी, अरुची, ज्वरो, पेट फुल्ने र राँगो नखोज्ने जस्ता समस्या देखिएको बताइएको छ । उपचार र परामर्स गरी शिविरबाट किसानले लाभ लिएको नगरपालिकाले जनाएको छ ।

गल्याङ् नगरपालिकामा अत्यन्तै ग्रामिण वडाहरु रहेकाले र कृषि र पशुको सेवा लिन किसानहरुलाई निकै समस्या हुँदै आएको थियो । यो शिविरले त्यस्ता किसानहरुलाई फाईदा हुने र नगरपालिकाले पनि कृषि र पशुको अवस्थाबारे जानकारी लिन सजिलो हुने अर्यालको भनाई छ । कृषि र पशुमा अधिकांश नागरिक आश्रित रहेको नगरपालिका गल्याङ् हो उनले भने,‘दुबै क्षेत्रको व्यवस्थापन गर्न सकियो भने समृद्ध नगर बनाउन सकिन्छ ।’ शिविर मार्फत समस्याको पहिचान र समाधान गर्न सजिलो हुन्छ भन्ने उदेश्यले नगरपालिकाले यो अभियान शुरु गरेको हो उनले भने ।

गल्याङ नगरपालिकामा नयाँ नेतृत्व आएपछि वडा—वडामा घुम्ती शिविर, स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ । नगरपालिकाबाट हुने सेवा प्रवाहलाई वडातहमा पु¥याएर सेवा दिएको नगरपालिकाले नागरिकको स्वास्थ्य परिक्षण समेत सम्पन्न गरेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम नागरिकमुखी बनाउने अभियान अनुसार नगरपालिकाले यस्ता शिविर आयोजना गरीएको गल्याङ् नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए । कृषि र पशुमा नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्य नगरको छ उनले भने,‘दुवै क्षेत्रको समस्या कस्तो खालको छ पहिचान गरेरपछि मात्रै कार्यक्रम बनाउन सजिलो हुन्छ ।’ जसले किसानको समस्या समाधान हुने र नगरपालिकाले लिएको लक्ष्य पुरा हुने छ उनले भने ।

वडातहमा गरिएकको शिविरले नागरिक सन्तुष्ट देखिएको विश्लेषण नगरपालिकाले गरेको छ । यस्ताखालका कार्यक्रमहरु आगामी बर्षबाट टोल—टोलमा पु¥याउने गरी तयारी थालिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिए । उनका अनुसार शिविरमा कृषि विज्ञ, पशु चिकित्सिक सहित १२ जना टोली खटाएर कृषि र पशु स्वास्थ्य शिविर सम्पन्न गरेको बताए । नागरिकको समस्यामा नगरपालिका हरदम सेवा दिन तप्पर रहेको दावी उनको छ । स्थानीय सरकार शिविर मार्फत वडातहमा पुगेर सेवा दिन थालेपछि स्थानीयहरु खुशी देखिएका छन् ।

Facebook Comments Box
TOP