स्याङ्जाको समृद्धिमा सधै साथमा रहनेछु : प्रदेश सांसद तिवारी

वालिङ :
गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले स्याङ्जाको समृद्धिमा सधै साथमा रहने बताएकी छन् । मनकामना मन्दिर व्यवस्थापन समितिको आयोजना र मनकामना मितेरी युवा क्लवको व्यवस्थापनमा भएको मनकामना चैते दशैं मेला २०७९ को उद्घाटन गर्दै सांसद तिवारीले जिल्लाको विकासमा हातेमालो गर्दै अगाडी बढ्ने विश्वास दिलाउदै सधै स्याङ्जावासी जनताको साथमा रहने बताएकी हुन् । स्याङ्जा धार्मिक, सांस्कृतिकरुपले पहिचान बनाएको जिल्लालाई यसको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने काम गर्नुपर्ने सांसद तिवारीले बताइन् । विकासमा राजनीति नगरी समग्र स्याङ्जालाई उज्यालो जिल्लाको रुपमा चिनाउन सबै लाग्नुपर्ने सुझाव सांसद तिवारीको छ ।
तिनैतहका सरकारले जनताकै सेवा र विकासलाई महत्व दिनुपर्ने धारणा राख्दै सांसद तिवारीले विकासमा राजनीति भयो भने हामीले बोकेको समृद्धि नहुने बताइन् । बिरुवा गाउँपालिका धार्मिक रुपले जोडिएको पालिका भएकोमा जोड दिदै तिवारीले एतिहासिक धार्मिक पिठको रुपमा रहेको मनकामना मन्दिरलाई अझै विकासोन्मुख बनाउन आफ्नो तर्फबाट पहलकदमी हुने बताईन् । वालिङ त्रियासी देखि रत्ने, एलादी मनकामना हुदै बिरुवाबाट पोखरा र तनहुँ जोड्न सकिने सडकलाई छिट्टै कालोपत्रे गरी आवतजावतमा सहजता दिलाउन आफ्नो तर्फबाट पहल हुने बताइन् । नयाँ बन्न लागेको गण्डकी प्रदेश सरकार नेपाली काँग्रेसको नेतृत्व बन्ने बताउदै नेपाली काँग्रेसका गण्डकी प्रदेश उपसभापति समेत रहेकी सांसद तिवारीले त्यसपछि विकासका कामहरु धमाधम अगाडी बढ्ने बताइन् ।
कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य कुँवर, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्वर १ प्रदेश १ का सभापति ध्रवविक्रम खाँण, नेपाली काँग्रेस बिरुवा गाउँ गाउपालिका सभापति डिआर पोखरेल, समाजसेवी चौबहादुर गुरुङ्, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि भिमप्रसाद पंगेनी, वालिङ उद्योग वाणिज्य संघका सदस्य अशोक तिवारी लगायतले चैतेदशै मेलाले यो क्षेत्रको पहिचान जोगाउदै आएको बताए । मेलामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । बडादशैको पुर्णिमा र चैतेदशैमा लामो समयदेखी मनकामना मन्दिर परिसरमा मेला लाग्दै आएको छ । यसैको निरन्तरता दिदै मन्दिर व्यवस्थापन समितिले मेला आयोजना गरेको अध्यक्ष मेखराज गुरुङ्ले जानकारी दिए । विभिन्न खेलकुद प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तत्वना हुने खेलाडीहरुलाई नगद, शिल्ड र प्रमाणपत्र सहित पुरस्कृत गरिएको क्लवका सचिव वेदकुमार गुरुङ्ले बताए ।

 

 

Facebook Comments Box
TOP