नेपालको शिक्षा प्राणलीमा परिवर्तन आवश्यक : पूर्व अध्यक्ष रेग्मी

खगीन्द्र पौडेल,
चैत २८ गते ।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालको शिक्षा प्रणालीमा परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । अहिलेको शिक्षा प्रणालीले स्वालम्वन र आत्मनिर्भर बनाउन नसक्ने रेग्मीको भनाई छ ।
स्याङ्जाको वालिङमा रहेको नेपाल आदर्श माविको रजत जयन्ती समारोहमा बोल्दै पूर्व अध्यक्ष रेग्मीले शिक्षा प्रणालीको शिकाई र बुझाईमा आमुल परिवर्तन आवश्यक रहेको बताउनु भयो ।
शिक्षा मानव जीवनका लागि अपरिहार्य छ तर त्यो रोजगार सिर्जना गराउने खालको हुनु पर्दछ रेग्मीले भन्नुभयो ।
नागरिकलाई नागरिक बनाउने शिक्षा पद्धती आवश्यक छ भन्दै रेग्मीले अभिभावक र विद्यार्थीलाई सँगसँगै हिडाउन जरुरी रहेको स्पष्ट पार्नु भयो ।
बहुआयामिक शिक्षा प्रणाली मार्फत सक्षम नागरिक बनाउन सकिने भन्दै रेग्मीले भन्नुभयो,‘ व्यवहारिक र प्राविधिक शिक्षा अहिलेको आवश्यक्ता हो ।’
नैतिक शिक्षाको आवश्यक्ता रहेको भन्दै रेग्मीले पछिल्लो समय मर्यादाको पालन गर्ने संस्कार अस्तव्यस्त भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘प्रत्येक विद्यालयले हप्ताको दुई दिन भए पनि विद्यार्थीलाई संस्कार,संस्कृति र नैतिक शिक्षा सिकाउनु पर्यो ।’
रेग्मीले बिद्यालयको रजत स्मारकको समेत अनावरण गर्नु भएको विद्यालयका प्रधानाध्यापक होमकान्त गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याल राज्यको ठूलो लगानी शिक्षामा रहेको भन्दै शिक्षालाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिनुभयो ।
वालिङ नगरपालिकाको पूर्व नगर प्रमुख समेत रहनु भएका अर्यालले वालिङलाई शैक्षिक हवको रुपमा विकास गर्न सकिने भन्दै खाका कोरेको स्मरण समेत गर्नु भयो । उहाँले भन्नुभयो, बढ्दो सहरीकरण देखेर नै शैक्षिक हवको रुपमा रहनेगरी वालिङको नीति तय गरेको अर्यालको भनाई छ ।


कार्यक्रममा बोल्दै अर्का गण्डकी प्रदेश सदस्य कल्पना तिवारीले परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्दै व्यवहारिक शिक्षायुक्त पठनपाठन शुभारम्भ गर्ने रणनीति तयार गरेको विद्यालयका अध्यक्ष शंकर डुम्रेले जानकारी दिनुभयो ।
२०५४ सालमा स्थापना भएको नीजिस्तरको शैक्षिक संस्था नेपाल आदर्श माध्यमिक विद्यालय जिल्लाकै एक शैक्षिक धरोहरका रुपमा चिनिदै आएको छ ।
कार्यक्रममा शसस्त्र प्रहरीका पुर्व एआईजी सुवोध अधिकारी, जिल्ला शिक्षा ईकाई प्रमुख विश्वराज आचार्य, मन्त्रिपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीमा प्रेस संयोजक राजेन्द्र पाण्डे, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्याव्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रे, गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई, विद्यालय तथा क्याम्पसहरुको तर्फबाट वालिङ बहुमुखी क्याम्पसका निमित्त प्रमुख युवराज पाठक, विद्यालयका संरक्षक धु्रवशर्मा पंगेनी, विद्यालयका निर्देशक दिपक लम्साल, अभिभावक बिष्णुनारायण श्रेष्ठ, विद्यार्थीद्धय एलिसा पौडेल र सुब्रित्री गौतम लगायतले विद्यालयले शैक्षिक उन्नयनमा खेलेको भुमिकाका बारेमा बोलेका थिए । कार्यक्रममा उत्कृष्ठ शिक्षक तथा शिक्षिकाहरु, संचालक समिति, अभिभावकहरुलाई सम्मान गरिएको थियो । विद्यालयका अध्यक्ष शंकर डुम्रेको अध्यक्षमा सम्पन्न भएको समारोहलाई विद्यालयका प्रिन्सिपल होमकान्त गौतमले स्वागत र संचालन खगेन्द्र प्रसाद अर्यालले गरेका थिए ।

Facebook Comments Box
TOP