आजदेखि एसईई शुरू

SEE

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू भएकाेछ। परीक्षा बिहान ८ बजेदेखि शुरू भएकाे हाे।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार‚ यस वर्ष सामुदायिक र संस्थागत गरी १२ हजार ८३ ओटा विद्यालयका चार लाख ८५ हजार ३८६ जना विद्यार्थीले एसईई दिंदैछन्। जसमध्ये छात्रा दुई लाख ४२ हजार ७१२ र छात्र दुई लाख ४२ हजार ६७४ रहेको कायममुकायम परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए। कुल परीक्षार्थीमध्ये प्राविधिक धार समेत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थी समेत परीक्षामा सहभागी हुने छन्।

परीक्षाका लागि दुई हजार ३७ परीक्षा केन्द्र तोकिएको श्रेष्ठले बताए। परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७,९९२ जना जनशक्ति प्रत्यक्ष परीक्षा केन्द्रमा खटिने जनाइएको छ।

परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै तयारी भएको कायममुकायम परीक्षा नियन्त्रक श्रेष्ठले बताए।

Facebook Comments Box
TOP