कोरोना पछि लाग्न छाड्यो चैते दशैको बाह्रबिसे मेला ।

वालिङ, चैत १६ गते  :
प्रत्येक बर्षको चैते दशै (रामनवमी)को अवसर पारेर वालिङ ९ को बाह्रबिसेमा ठूलो मेला लाग्ने गर्दथ्यो । बजारगर्न र रमाईलो हेर्नका लागि जिल्लाभरबाट मात्रै होईन पर्वत,गुल्मी,पाल्पा लगायतका जिल्लाबाट मानिसहरु आउने गर्दर्थे । जिल्ला कै चर्चित मेला भर्नका लागि बिदेश गएका र जिल्लाबाट बाहिर रहेकाहरु समेत धर आउने गर्दर्थे । बालबालिकाहरु बाह्रविसे बजारका लागि खर्च गर्न भनेर पहिले देखिनै पैसाको जोहो गर्ने गर्दर्थे । मेलाका लागि एक हप्ता अगाडिबाट तयारी हुन्थ्यो, खुला चौरमा पसल राख्नका लागि कतिपयले ठाँउ नै पाउदैन थिए । कोरोनाको महामारी फैलिनु अगाडि सम्म पनि मेला भव्य रुपमा लाग्ने गर्दथ्यो तर कोरोनाको महामारी पछाडि भने मेला लाग्नै छाडेको छ ।
मेलामा जानेहरुले बर्ष भरीको लागि पुग्ने गरी ठेका, डाला, नाङ्ला, आँसी, बाउसा लगायतका सामाग्री खरिद गर्ने प्रचलन थियो । मेलामा लिङ्गे पिङ र चर्खे पिङ्गको रौनक नै फरक हुने गर्दथ्यो भने रैथाने सांगितिक प्रस्तुतीका कारण मेलामा रमाउनेहरुको संख्या उल्लेख्य रहन्थ्यो ।
बढ्दो सहरीकरण र मोवाईल लगायतका प्रविधिको प्रयोगका कारण मेला विस्थापित हुन पुगेको स्थानीय यमकान्त गैह्रेको भनाई छ । उहाँले भन्नुभयो,‘हामीले स्टल बनाएर व्यापारको लागि उपलव्ध गराउने गर्दथ्यौ तर कोरोना पछि मेला हुने वातावरण नै रहेन ।
मेलालाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि आफूहरु छलफलमा जुटेको वडान ९ का वडाअध्यक्ष शेरवहादुर श्रेष्ठले बताउनु भयो । आगामी बर्षबाट निरन्तरता दिन सकिन्छ की भन्नेमा हाम्रो ध्यान छ श्रेष्ठले थप्नु भयो ।
पहिले मेलामा अत्यधिक व्यापार हुने डाला,सुपा लगायतलाई प्लास्टिकका सामाग्रीको प्रयोगले विस्थापित गर्दै लगेको छ । मेलाको मौलिकता नै पुराना र स्थानीय उत्पादन मात्रै बिक्रिबितरण हुनु रहेको थियो ।
वालिङको पहिचानको रुपमा रहेकोे र परम्पराकालदेखि लाग्दै आएको मेला हराउदा चिन्ता लागेको बताउनु हुन्छ स्थानीय ८६ बर्षका सूर्यप्रसाद गैह्रे । उहाँ भन्नुहुन्छ,‘धेरै पहिले देखि त्यो ठाँउमा मेला लाग्थ्यो अहिले हरायो ।’ आफू जान्ने हुँदा नै मेला लाग्ने गरेको भन्दै गैह्रेले धेरै लामो ईतिहास बोकेको मेला पूर्णरुपमा बन्द हुँदा दुःख लागेको बताउनु भयो ।
मेलामा गरेको रमाईलो संझदै वालिङ १३ का युवा अर्जुन गौतमले पुरानो र राम्रो परम्परालाई निरन्तरता दिन संवन्धित निकायले ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘घर अगाडि नै बाह्रबिसे मेला लागेको देख्दा कतिवेला जान पाईएला भनेर उत्साह हुन्थ्यो तर अहिले मेला नै लाग्नै छाड्यो कसलाई हो भन्ने हामी त अन्यौलमा परियो ।’

Facebook Comments Box
TOP