ठकुरी महिलाबाहेक अरू पस्न नपाउने आलमदेवी
स्याङ्जा, चैत १५ गते । देशमा रहेका विभिन्न शक्तिपीठमा महिलाको प्रवेशमा रोक लगाउने गरिएको कमै सुन्ने गरिएको छ तर कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाह वंशको कुलदेवता आलमदेवी मन्दिरमा भने ठकुरी परिवारका महिलाबाहेक अरूलाई प्रवेशमा रोक लगाउने गरिएको छ।
यस मन्दिर प्रवेशका लागि एक जना ढोकामै बसेर रोक लगाउने गरेको इतिहास पाइन्छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापा भने पछिल्लो समयमा विगतमा जस्तो अरू समुदायका महिलाको प्रवेशमा पूर्ण रोक नलगाइएको बताउनुभयो। ठकुरीबाहेकका महिला मन्दिरमा प्रवेश गरे राम्रो नहुने (अनिष्ट हुने) भन्ने विगतबाट सुन्दै आएको बताउँदै थापाले बाहिरबाट आउने एक/दुई जना महिला मन्दिरमा प्रवेश गरे पनि विगतदेखिका प्रचलन जानेका भने मन्दिरमा प्रवेश नगर्ने गरेको जानकारी दिनुभयो।
छालाको पेटी, जुत्ता लगाएर भित्र प्रवेश गर्न नहुने इतिहास बोकेको आलमदेवी मन्दिरमा रङरोगनसमेत नगरिने र मन्दिरको सुरुवातदेखि नै १५ वर्षभित्रका चुडाकर्म गरेको रानामगर पुजारी रहने गरेको थापाले बताउनुभयो। अझैसम्म कसैलाई मन्दिर जाऊ र नजाऊ आफूले नभनेको बताउँदै कालीगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले परम्परा, संस्कृति र रीतिरिवाजको हिसाबले आफू अहिलेसम्म मन्दिरभित्र नपसेको बताउनुभयो। वि.सं. १३५० मा स्थापना भएको नेपालका शक्तिपीठमध्ये बेग्लै विशेषता र पहिचान बोकेको आलमदेवी मन्दिरमा दशैँको नवमीका दिन वर्षभरिकै सबैभन्दा ठूलो विशेष पूजा र सरकारी पञ्चबलि चढाउने प्रचलन रहेको छ।
यस मन्दिरमा नवमीको दिन बिहानै डेढ घण्टा लामो यज्ञ र नवदुर्गाको पूजापछि पञ्चबलि दिने गरिएको छ। आलमदेवीमा राँगो, पाठो, कुखुरा, परेवा र भेडालाई बलि चढाउने परम्परा रहेको छ भने भेडा उपलब्ध नहुँदा कुभिन्डो प्रयोग गर्ने गरिएको अध्यक्ष थापाले बताउनुभयो। दर्शनार्थीको भीड लाग्ने भएकाले नवमीका दिन अबेरसम्म पूजा र बलि दिने गरिन्छ भने एकै दिन पाँच हजारभन्दा बढी बलि चढाइने अनुमान गरिएको छ। धेरै वर्ष पहिला शाह वंशीय राजाहरूले राँगो छोडिदिने र राँगो आफैँ आलमदेवी आइपुग्ने र स्थानीयले बलि चढाउने गरेको इतिहास रहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो।
पछिल्लो समय राँगो छोड्न परम्परा छाडेर गुठी संस्थानको ८४ हजार रुपियाँ बजेटमार्फत मन्दिरको व्यवस्थापन हुँदै आएको छ। जीवनमा ठूलो सङ्कट आइलागेपछि वा आउने सम्भावना देखेपछि यहाँ आएर आलमदेवीसँग वर मागेपछि सङ्कट मोचन हुने जनविश्वास छ। भारतको चितौरगढका चन्द्र वंशावली भट्टारक राजा ऋषि राणाको राज्यमा मुगलले आक्रमण गरेपछि आलमदेवी अग्लो डाँडोमा आएको किंवदन्ती रहेको छ। Gorkhapatra
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…