आँधीखोलामा साप्ताहिक सरसफाई अभियान सञ्चालन ।

स्याङजा,पुस १६ गते ।
स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व जोगाउन साप्ताहिक रुपमा सरसफाई अभियान शुरु गरिएको छ ।
पछिल्लो समय आँधीखोलामा फोहर फाल्ने,जथाभावी बालुवा निकाल्ने लगायतका कार्य भईरहेको भन्दै वालिङका नागरिकले नदी संरक्षणका लागि सक्रियता देखाएका हुन् ।
नदि संरक्षण संस्था र आँधीखोला बचाउ सरोकार समाजको सक्रियतामा साप्ताहिक रुपमा आँधीखोलाको सरसफाई गर्न शुरु गरिएको संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो ।
मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला पछिल्लो समयमा दोहनको सिकार बन्दै जानुका साथै फोहर तथा ढल मिसाउने प्रवृत्ति बढेको आलेको भनाई छ । उहाँले सवैको सहकार्यमा ‘आँधीखोला संरक्षण महाअभियान’ शुरु गरिएको बताउनु भयो ।
आँधीखोलाको किनारमा रहेका बजारका ढलहरु सिधै मिसाउँदा खोलामा प्रदूषण बढ्दै गएकाले बेलैमा यसको नियन्त्रण र ढलको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।


संस्थाले केही समय पहिले खोलाबाट जथाभावीरुपमा ढुङ्गा, गिट्टी र बालुवाको दोहन रोक्नुपर्ने अवस्था छ । खोलाको मुहान तथा स्रोतको संरक्षण गर्नुपर्छ । खोला आसपास फोहोरमैला नफाल्न, बजारबाट निस्कने ढललाई प्रशोधन गरेरमात्रै मिसाउन, माझी जातीको पेसाको संरक्षण गर्दै जीविकोपार्जनमा सहयोग गर्नुपर्नेलगायत ११ बुँदे ज्ञापनपत्र वालिङ नगरपालिकालाई बुझाएको थियो ।
आँधीखोला वालिङको मात्रै नभएर स्याङ्जाकै गहना र सभ्यतासँग जोडिएकाले यसको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । नगरप्रमुख खाँणले भन्नुभयो,“बजारबाट खोलामा मिसिने ढललाई सिधै नभई प्रशोधन गरेर मिसाउनका लागि कार्य थालिएको छ, अब छिट्टै पुरा हुनेछ ।”
प्रत्येक शनिवार सञ्चालन हुने नदि सरसफाई अभियानलाई नगरपालिकाले समन्वय गरेर सहयोग गर्ने प्रमुख खाँणले बताउनु भयो । वालिङ क्षेत्रमा खोलामा फोहर फाल्न पूर्ण रुपमा रोक लगाईएको प्रमुख खाँणले बताउनु भयो ।
अन्धाअन्धी दहदेखि आँधीमुहान (मिर्मी) पुग्दासम्म जिल्लाका मुख्य मुख्य बजार यही खोलाको किनारमा अवस्थित छन् । आँधीखोलाले स्याङ्जा जिल्लालाई दुई भागमा बिभाजन गरिदिएको छ । जिल्लाका आँधीखोला गाँउपालिका,पुतलीबजार,भीरकोट,वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाँउपालिका आँधीखालाको प्रभावित क्षेत्र हुन् ।

 

Facebook Comments Box
TOP