स्याङ्जा-२ : आयोगको टोलीले दोलखामा जस्तो पुनः मतदानको सिफारिस गरेन ।

स्याङ्जा :

स्याङ्जा-२ मा पुनः मतदान वा गणना भन्नेमा अन्यौल भएको छ । स्याङ्जा-२ र बाजुरा गरी दुई क्षेत्रमा के गर्ने भन्नेमा निर्वाचन आयोगले पनि निर्णय  गर्न सकेको छैन ।

हिजो बैठक बसे पनि कुनै निष्कर्ष निस्कन सकेन । आज फेरि बैठक बस्ने तयारी छ । आयुक्तहरूबीच नै राय बाझिँदा निर्णय हुन नसकेको हो । बैठकको सुरुवातमा स्याङ्जा-२ र बाजुरा गएको आयोगको टोलीले प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा विवादित क्षेत्रको वस्तुस्थिति, विभिन्न पक्षको भनाइ जस्ताको–तस्तै राखिएको थियो । तर, टोलीले दोलखामा जस्तो पुनः मतदानको सिफारिस भने गरेको थिएन ।

वस्तुस्थितिसहितको प्रतिवेदन बुझाएको टोलीले निष्कर्ष निकाल्ने र निर्णय गर्ने जिम्मा भने आयुक्तहरूलाई छोडेको थियो । निष्कर्षसहितको प्रतिवेदन नआउँदा पुनः मतदान कि गणना भन्नेमा आयुक्तहरू बाझिएका थिए । केही आयुक्तले स्याङ्जामा ज्यान गुमाइसकेकालाई पनि भोट हालेको भन्ने आएकाले त्यस्तो मतलाई कसरी सदर मान्न सकिन्छ भनेर तर्क गरेका थिए भने केही आयुक्तले मतपेटिका उठाउँदासम्म दलहरूकै सहमतिमा प्रतिनिधिले हस्ताक्षर गरेर उठाएको, मतदान तथा निर्वाचन अधिकृतबाट कुनै कैफियत नभएको र गणनाको समयमा झमेला गरिएको भन्दै गणना अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

दुवै प्रतिवेदनमा आयुक्तहरूको मत बाझिएपछि प्रमुख आयुक्त दिनेश थपलियाले बैठक स्थगित गर्नु भएको थियो । बैठक आज बिहान ११ बजे फेरि बस्दै छ । दोलखामा भने आयोगले पुनः मतदान गर्ने निर्णय गरिसकेको छ । दोलखामा भोलि पुनः मतदान हुँदैछ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP