दोस्रो पटक हराउने दाउमा थापा

Raju Thapa

प्रकाश डोटेल,
स्याङ्जा, २१ कार्तिक ।

नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापा २०७० सालको संविधानसभा निर्वाचनमा जस्तै एमालेका उम्मेदवार नारायण प्रसाद मरासिनीलाई हराउने लक्ष्यमा छन् । २०७० र २०७४ मा थापा र मरासिनीले पालैपालो एक अर्कालाई हराएर संसद छिर्न सफल भएका थिए ।

२०५१ देखि एमालेको लाल किल्लाका रुपमा परिचित स्याङ्जा क्षेत्र नं. १ मा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा थापाले झण्डै २० वर्षपछि १२ सय मतान्तरले लाल किल्ला भत्काए । पहिलो भेटमै चुनाव हराएका थापा भने २०७४ को निर्वाचनमा दोस्रो भेटमा उनै मरासिनीसँग १० हजार बढि मतले पराजित बन्न पुगे ।

२०७४ मा देशभर बामगठबन्धनको माहौल थियो, देशभर बनेको माहौल विपरित स्याङ्जा रहने कुरै भएन । अघिल्लो निर्वाचनमा मरासिनीका सारथी बनेका स्याङ्जा माओवादीका युवा नेता शैलेन्द्र घिमिरे यसपटक थापाको सारथी बनेका छन् । माओवादी नेता घिमिरे पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिनिकट छन् ।

यस क्षेत्रमा ३ स्वतन्त्र सहित १४ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदार दिएका छन् । मुख्य रुपमा काँग्रेसका थापा र एमालेका मरासिनीबीच नै चुनाबी प्रतिस्पर्धा छ । माओवादी निकट झण्डै ४५ सय मतदाताले अघिल्लो निर्वाचनमा मरासिनीलाई सहयोग गरेपनि यस पटक राष्ट्रियस्तरमा बनेको बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापाका पक्षमा मत दिने माओवादीको दाबी छ ।

२०३५ सालमा स्याङ्जा सदरमुकाममा जन्मेका थापाले ३५ वर्षकै उमेरमा मरासिनीलाई हराएर संविधान बनाउनदेखि विकास निर्माणका गतिविधिलाई तिव्रता दिएको दाबी गर्दै आएका छन् । निर्वाचनको प्रचारका क्रममा थापाले मरासिनी चुनाब जितेर संसद त छिरे तर अपेक्षाकृत काम गर्न नसकेको घाम जस्तै छर्लङ्ग रहेको जिकिर गर्दै आएका छन् ।

पहिलो जितमै संविधान बाउन सफल र आफ्नो क्षेत्रमा विकासका कामले आमुल परिवर्तन ल्याउन योगदान गरेको २०७४ को निर्वाचनपछि हारेपनि प्रत्येक मतदाताको सुखदु:खमा हातेमालो गरेको भन्दै थापाले तेस्रो भेटमा दोस्रो पटक जित सुनिश्चित रहेको बताए । हारेपछि पनि थापा निरन्तर गाउँघरमा आएको बताउँदै स्थानीयले चुनाव जितेपछि मरासिनी संसदतिरै हराएको बताए ।

नेपाली काँग्रेसको गत महाधिबेशनबाट सभापतिमा निर्वाचित थापाले महाधिबेशनमा आन्तरिक प्रतिस्पर्धीलाई भित्तामै पुर्‍याउने राजनीति गरेको आरोप नलागेको होईन्, तर उक्त महाधिबेशनमा फरक धारबाट महाधिबेशन प्रतिनिधि हारेका बुद्धिबहादुर राना ‘कुमार’लाई क्षेत्र १ को २ र माओवादीकी नेतृ अमृता थापालाई १ को १ मा प्रदेश सभाका लागि उम्मेदवारका रुपमा अंगालेका छन् ।

२०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलले स्याङ्जा क्षेत्र नं. १ का ५२ वटा वडामा ३९ हजार ४९४ मत प्राप्त गरेको थियो भने एमालेले ३६ हजार ८ सय ४५ मत प्राप्त गरेको थियो । पालिकाको निर्वाचनपछि केहि युवा मतदाता थपिएका छन् ।

स्याङ्जा क्षेत्र नं. १ मा पुतलीबजार नगरपालिकाका १४ वटा, फेदीखोलाका ५, आँधीखोलाका ६, अर्जुनचौपारीका ६, बिरुवाका ८, हरिनाश गाउँपालिकाका ७ र वालिङका २ तथा भिरकोट नगरपालिकाका ४ वटा वडा रहेका छन् । वडा तहमा काँग्रेस निकटको नेतृत्व बाहुल्य रहेपनि अधिकांश पालिकाको नेतृत्व स्थानीय निर्वाचनपछि एमालेको हातमा छ ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP