मंकीपक्स प्रकोपका कारण विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा ।
काठमाण्डौ:
मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन् ।
डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ। डा टेड्रोसले भने– यो प्रकोप विश्वभर द्रुतगतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ ।’
उनका अनुसार संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी रहेको बताए । त्यसका लागि डब्लुएचओले आवश्यक तयारी र पहल गरिरहेको उनको भनाइ छ ।
बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । संक्रमण भएको खण्डमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिन्छ ।खासगरी हात र गोडाका पैतालामा बिमिराहरू बढी देखिन्छ । केही दिन निकै चिलाउने वा दुख्ने भए पनि बिमिराहरू बिस्तारै हराउँछन् । तर बिमिरा आएका ठाउँमा दाग भने रहिरहन सक्छ । यसको संक्रमण भएका दसमध्ये एक जनाको ज्यान जान सक्ने वैज्ञानिकहरूको भनाइ छ ।पश्चिम अफ्रिकामा मंकीपक्सका कारण मानिसको मृत्यु भएको तथ्यांक छ । हालसम्म मंकीपक्स भाइरस थोरै संख्यामा मात्र पुष्टि भएको छ । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहजरूपमा भने सर्दैन, जसका कारण मंकीपक्स कोरोना जस्तो आमरूपमा फैलने सम्भावना देखिन्न । तर पछिल्लो समय यो भाइरस असामान्य रूपमा देखा परेको भन्दै अनुसन्धान गरिरहेका वैज्ञानिकसमेत अचम्ममा परेका छन् ।
खासगरी जंगली जनावरमा हुने मंकीपक्स भाइरस बाँदरभन्दा बढी मुसामा हुने वैज्ञानिकहरू बताउँछन् । डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ । त्यस्तो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने जनाइएको छ ।
यो भाइरसलाई यौन रोगका रूपमा हेरिएको छैन । तर यौन क्रियाकलाप गर्दा यो सर्न सक्छ । पछिल्लो समय देखिएका अधिकांश संक्रमण यौन सम्पर्कको समयमा सरेको ठानिएको छ । जसका कारण धेरैजसो संक्रमितका यौनांगनजिक डाबरहरू देखिएका छन् । संक्रमण नियन्त्रण गरेर यो भाइरसबाट बच्न सकिन्छ । यसको कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने डब्लूएचओले जनाएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …