स्याङ्जाको चापाकोट र गल्याङ् आँप–लिची जोन

प्रकाश डोटेल ,
स्याङ्जा, ९ असार :

स्याङ्जाका पूर्वी दक्षिण भेगका दुई नगरपालिकालाई मिलाएर आँप–लिची जोन बन्ने भएको छ । चापाकोट नगरपालिकाका १० वटै वडा र गल्याङ् नगरपालिकाका ५ वटा वडा मिलाएर आँप र लिची जोन बन्ने भएको हो ।

प्रायः तराईका भूभागमा उत्पादन हुने आँप र लिची स्याङ्जामा पनि गरिने भएको छ । तराईको वातावरणसँग मिल्दोजुल्दो हावापानी भएकाले पहाडी जिल्लाको उक्त भूभागमा पहिलो र एकमात्र आँप–लिची जोन संचालनमा ल्याउन लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जा अन्तर्गत जिल्लाका २ नगरपालिकाका भूभाग समेटेर जोन बनाएर परियोजना संचालन गर्न लागिएको परियोजना प्रमुख माधव लम्सालले जानकारी दिए । चालु आर्थिक वर्षदेखि चापाकोटका १० वटै र गल्याङका कालीगण्डकी किनारका वडा नं. १, २, ३, ९ र १० वडा समेटेर आँप–लिची जोन संचालनमा ल्याउन लागिएको छ ।

समथर भूभाग र गर्मी हावापानी भएका कारण यस क्षेत्र आँप र लिचीको उर्वर क्षेत्रका रुपमा लिईन्छ । रैथाने जातका आँप र लिचीको त्यस क्षेत्रमा विगतदेखि उत्पादन गरिदै आएको छ । चापाकोट क्षेत्रमा प्रशस्तरुपमा आँच र लिचीका बगैंचा छन् । प्रायजसो सबैका घरमै आँप र लिचीका बोट भएपनि व्यवसायिक बनाउन जोन संचालन गर्न लागिएको हो ।

आधुनिक कृषि प्रविधिको उपयोगसँगै बगैचाको उचित ब्यवस्थान गरेर उत्पादकत्व बढाएर बजारीकरणसँगै आयआर्जन बढाउने परियोजनाको मुख्य उद्देश्य रहेको प्रमुख लम्सालले बताए । जोन संचालन भएपछि कृषकलाई प्रत्यक्ष लाभ मिल्ने लम्सालले विश्वास गरे ।

कृषकको माग बमोजिम जोन संचालनमा ल्याइएको छ । स्थानीय कृषकको एक भेलाले चापाकोट र गल्याङ्का कृषकको प्रतिनिधित्व हुनेगरी विश्वास पुरीको संयोजकत्वमा ९ सदस्यीय आँप–लिची जोन संञ्चालन समन्वय समिति गठन भएको छ । समितिले बगैंचा ब्यवस्थापनदेखि बिरुवा रोप्ने र कृषकलाई आवश्यक पर्ने कृषि औजार तथा मेशिनरी लगायत सिंचाईका योजनाका काममा समन्वय गर्ने छ ।

पहिलो चरणमा आँप–लिची रोप्नका लागि खाडल खन्ने काम पूरा भएको छ । चालु वर्षमै झण्डैं सय हेक्टर क्षेत्रफलमा आँप–लिचीका बिरुवा रोप्ने लक्ष्य राखिएको छ । चितवनबाट १० हजार वटा बिरुवा खरिदगरी ल्याउने तयारी भैरहेको परियोजना प्रमुख लम्सालले बताए । उनका अनुसार ‘आम्रपाली’ जातका आँप र ‘शाही’ जातका लिची रोपिने छ । दुबै जातका बिरुवाले ३÷३ वर्षमै उत्पादन दिनेछ ।

ब्यक्ति, फर्म, समूहगरी जोनमा करिब १ सय कृषक सूचिकृत भएका छन् । प्रतिब्यक्ति २ सय रोपनीसम्म आँप र लिची रोप्न तयारी गरिएको छ । मलखाद, खाद्यतत्व, रोगको उपचारलगायतका बारेमा कृषकलाई प्रशिक्षण दिईएको छ । हाल उत्पादन दिईरहेका बोटमा कीटनाशक औषधी छर्कने काम भएको संयोजक विश्वास पुरीले जानकारी दिए ।

परियोजनाले ५ सय हेक्टर क्षेत्रफलमा आँप–लिचीका बिरुवा रोपण गर्ने लक्ष्य राखेको छ । चापाकोट र गल्याङ् नगरपालिकाका कृषकको आयस्तरमा बृद्धि गर्ने लक्ष्यसहित परियोजना संचालनमा ल्याएको प्राबिधिक प्रमुख इन्द्र सुवेदीले बताए । आँप–लिचीको व्यवसायिक उत्पादनबाट ३ वर्षमा करिब १ हजार कृषक स्वरोजगार बन्ने छन् ।

Facebook Comments Box
TOP