११ पालिका मध्ये ९ को नजिता सार्वजनिक,स्याङ्जाका नगरमा काँग्रेस गाउँपालिकामा एमाले

प्रकाश डोटेल/स्याङ्जा, जेठ ३

स्याङ्जाका ११ स्थानीय तहमा ५ नगरपालिका र ६ गाउँपालिका मध्ये हालसम्म नतिजा प्राप्त भएका ३ नगरपालिका र १ गाउँपालिकामा नेपाली काँग्रेस र ५ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २ नगरपालिकाको नजिता आउन बाँकी रहेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा जिल्ला सदरमुकामको पुतलीबजार सहित २ नगरपालिका र ५ गाउँपालिकाको नेतृत्व आफ्नो पोल्टामा पार्न सफल एमाले यसपटक ५ गाउँपालिकामा सिमित भएको छ । अघिल्लो निर्वाचनमा प्रचण्ड बहुमत सहित पालिकाको नेतृत्व हात पारेको एमाले यसपल्ट झिनो मतान्तरले विजयी भएको छ ।

जिल्लाको सदरमुकाम पुतलीबजार नगरपालिकामा पहिलोपटक नेपाली काँग्रेस विजयी भएको छ । २०५४ सालमा स्थापना यता पुतलीबजारमा एकछत्र राज गर्दै आएको नेकपा एमालेको गढ मानिएको नगरमा यसपालि काँग्रेस विजयी भएको हो ।

नगर प्रमुखमा काँग्रेसका तुलसी रेग्मी र उपमेयरमा देवी अर्याल विजयी भएकी हुन् । रेग्मीले १२ हजार ५ सय १५ मत पाउँदा नेकपा एमालेबाट उम्मेदवार रहेकी सिमा कुमारी क्षेत्रीले १० हजार ९ सय मत प्राप्त गर्दै पराजित भएकी छन् । रेग्मी काँग्रेस स्याङ्जा क्षेत्र न.. १ का क्षेत्रीय सभापति समेत हुन् ।

यस्तै उपमेयरमा अर्यालले ११ हजार ७ सय ४८ मत पाउँदा एमालेका महेश पुरीले १० हजार ७ सय ६१ मत पाए । रेग्मी २ हजार ४ सय २५ मतान्तरले विजयी हुँदा अर्याल ९८७ मतान्तरले विजयी भएको निर्वाचन कार्यालय जनाएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा क्षेत्री रेग्मीलाई पराजीत गर्दै प्रमुखमा निर्वाचित भएकी थिईन् भने उपमेयरमा पुरीले कँंग्रेसकी हिरादेवी शर्मालाई पराजीत गरेका थिए । गत निर्वाचनमा १४ वडामध्ये ४ वडामा मात्र कांग्रेस विजयी भएको थियो । यसपटक वडामा समेत कांग्रेसले आफ्नो वर्चस्व कायम गर्दै १४ वडामध्ये ९ वडामा विजयी हुँदा एमाले ५ वडामा खुम्चिएको छ ।

त्यसैगरी भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्माचार्यले ६ हजार ५०४ मत प्राप्त गर्दै विजयी भएका छन् । कर्माचार्यसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार विश्वनाथ अर्यालले ५ हजार ६ सय ६९ मत प्राप्त गर्दै पराजित भए ।

नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल विजयी भएकी छन् । अर्यालले ७ हजार १७९ मत प्राप्त गर्दा एमालेकी सरस्वती अधिकारीले ४ हजार ८९८ मत प्राप्त गरेकी थिईन् ।

नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वटा वडाका अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ । नगरको ४७ सिटमध्ये वडा नं ६ को वडा अध्यक्षबाहेक सम्पूर्ण सीटमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

त्यसै गल्याङ नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई विजयी भएका छन् । भट्टराईले नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका सूर्यप्रसाद गैह्र ‘पारस’ लाई पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले ९ हजार ६२१ मत प्राप्त गर्दा गैह्रेले ८ हजार ९२२ मत प्राप्त गरेका थिए ।

नगरपालिकाको उपप्रमुख काँग्रेसकै हेमा न्यौपाने विजयी भएकी छन् । उनले ९ हजार ११८ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार देवी थापाले ९ हजार ५५ मत प्राप्त गरिन् । नगरका वडा नं १, ३, ४, ६, ९ र १० गरी ६ वटा वडामा काँग्रेसका उम्मेदवार विजयी हुँदा वडा नं २, ७, ५, ८ र ११ मा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी छन् ।

जिल्लाका ६ गाउँपालिकामध्ये अर्जुनचौपारीमा मात्र जित हात पारेको काँग्रेसका तर्फबाट प्रकाश तिवारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी चिनमाया गुरुङ्लाई पराजित गरेका हुन् ।

गाउँपालिकाका अध्यक्षमा विजयी तिवारीले ५ हजार २९१ मत प्राप्त गर्दा एमालेकी गुरुङ्ले ४ हजार ८ सय २७ मत प्राप्त गर्दै पराजित बन्न पुगिन् । गाउँपालिकाको उपाध्यक्षमा समेत काँग्रेसले जित हात पारेको छ । काँग्रेसकी सपना गुरुङ्ले ३३ सय ४७ मत प्राप्त गर्दा एमालेका टंकप्रसाद खनालले ३७ सय ६७ मत प्राप्त गर्दै पराजित भएका छन् ।

अघिल्लो निर्वाचन समेत हित हात पारेको नेकपा एमालेका तर्फबाट फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित सुवेदीले ३ हजार ८ सय ३६ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार बरालले ३ हजार ७०४ मत प्राप्त गरेका छन् । गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ्ले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई १५ सय ९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी भएकी हुन् ।

एमालेकी देउकुमारी गुरुङले ३ हजार ९ सय ७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले २ हजार ३ सय ७९ मत प्राप्त गरे ।

पाँचवटा वडा रहेको गाउँपालिकामा १, ३, ४ र ५ गरी चारवटा वडामा काँग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं २ मा एमालेका अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

त्यसैगरी आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका विश्वनाथ पौडेल नेपाली काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । पौडेलले ५ हजार १७७ मत प्राप्त गर्दा काँग्रेसका प्रेमराज पौडेलले ४ हजार ३५१ मत प्राप्त गरे ।

गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै सिता थापा ५ हजार २७३ मत प्राप्त गर्दै विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का रामचन्द्र पौडेल ३ हजार ८१७ मत प्राप्त गर्दै पराजित भए ।

त्यस्तै बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । एमालेका सूर्यबहादुर कुँवर अध्यक्षमा विजयी भएका हुन् । उनले ४ हजार ८ सय ७२ मत गर्दा नेपाली कांग्रेसका उमेदवार डोलराज पोखरेल ४७ सय ४६ मत प्राप्त गर्दै पराजित भए ।

उपाध्यक्षतर्फ एमालेकी उम्मेदवार भगवती शर्मा ४९ सय ३७ मत ल्याउँदै निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका थमबहादुर गुरुङले ३ हजार ६ सय ७६ मत प्राप्त गरे ।

त्यसैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापा ६ हजार ७ सय मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गर्दै पराजित भएकी छन् ।

उपाध्यक्षमा एमालेकी सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेदवार बमबहादुर लामिछानेले ४ हजार ३३० मत प्राप्त गरेका छन् ।

उता हरिनास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जित हात पारेको छ । अघिल्लो निर्वाचनमा जित हासिल गरेका एमालेका उम्मेदवारहरु यसपटक पनि विजयी भएका छन् । मतगणना जारी रहेको वालिङ र चापाकोट नगरपालिकाको नजिता सार्वजनिक हुन केहि समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ ।

 

Facebook Comments Box
TOP