भीरकोट बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका
स्याङ्जा :
गण्डकी प्रदेशमै पहिलो बालमैत्री नगर घोषणा गर्न सफल भएको भीरकोट नगरपालिकाले पुर्ण खोप सुनिश्चित बनाउन सफल भएको छ । कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका बनाउन सफल भएको हो । भीरकोट नगरपालिकालाई एक औपचारिक समारोहकाबीच पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । कोभिड १९ बिरुद्धको पुर्ण खोप सुनिश्चित गर्ने स्याङ्जा जिल्लाको दोस्रो नगरपालिका बनेको छ । पुतलीबजार कोभिड–१९ को खोप सुनिश्चित भएको पहिलो नगरपालिका हो ।
गण्डकी प्रदेश शिक्षा मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको घोषणा कार्यक्रममा वर्तमान र निवर्तमान जनप्रतिनिधिहरू, जिल्ला स्वास्थ्य कार्यालका प्रमुख वसुन्धरा शर्मा, नगरपालिकाका कर्मचारीहरू, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सुरक्षाकर्मी र पत्रकारहरूको सहभागीता रहेको थियो ।
कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालले कोभिड –१९ नियन्त्रणमा भीरकोट नगरपालिका र सरोकारवाला संघसंस्थाहरूले खेलेको भुमिका र सफलताको चर्चा गरेका थिए । प्रशासकीय अधिकृत भूसालले कोभिड महामारीको समयमा नगरपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम, क्वारेन्टाइनको व्यवस्थापन, तत्कालीन कालिका सामुदायिक अस्पतालमा आइसोलेसन कक्षको व्यवस्थापन, हप्तामा २ दिन निशुल्क पिसिआर र हप्तामा सातै दिन एन्टीजिन परीक्षण, राष्ट्रिय आविष्कार केन्द्रसँगको लागत साझेदारीमा मिनि अक्सिजन प्लान्ट स्थापना लगायतका विविध कार्यक्रम गरेर कोभिड १९ नियन्त्रणको प्रयास गरेको उल्लेख गरेका थिए । यसैगरी उनले भीरकोट नगरपालिका भित्र रहेका राजनीतिकदल, विभिन्न सामाजिक संघसंस्थाहरुले कोरोना संक्रमणका बेला खेलेको भुमिकाको उच्च मुलयाङ्कन रहेको बताए ।
भीरकोटमा १२ वर्ष माथिका लक्षित जनसंख्या १६ हजार ९ सय ९३ जना मध्ये १६ हजार २ सय ९३ जनाले कोभिड विरूद्धको खोप लगाएका छ्न् । जुन लक्षित जनसंख्याको ९५.८८ प्रतिशत हुन आउँछ । लक्षित उमेर समुहका ९० प्रतिशत जनसंख्याले कोभिड विरूद्धको खोप लगाएपछि स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्न सकिने व्यवस्था छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले भीरकोट नगरपालिका समग्र स्वास्थ्य सूचकका आधारमा हेर्दा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तह मध्ये बाह्रौं स्थानमा रहेको जानकारी दिइन् । फेदीखोला गाँउपालिका बाहेक स्याङ्जा जिल्लाका १० वटै पालिका र पर्वत जिल्लाका कोभिड संक्रमित बिरामीहरूलाई क्वारेन्टाइनमा राखिएको, खानपान र औषधोपचारको व्यवस्थापन गरिएको स्मरण गर्दै निवर्तमान नगर प्रमुख छायाराम खनालले कोभिड नियन्त्रण एवं खोपको सुनिश्चितता लागि सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र संघसंस्थाका प्रतिनिधिहरूलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेका थिए । संक्रमणका बेला भीरकोट नगरवासीको ज्यान जोगाउन महत्वपुर्ण भुमिका खेल्नेहरु समाजका गहना भएको खनालले बताए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी एवं गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठ र नवनिर्वाचित नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले भीरकोटलाई पूर्ण खोप सुनिश्चित नगरपालिका बनाउन सहयोग सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, संघसंस्थाका प्रतिनिधी, सुरक्षाकर्मी सबैलाई धन्यवाद एवं आभार व्यक्त गरेका थिए । उनीहरूले अहिले स्वास्थ्य सेवा र भौतिक विकासको क्षेत्रमा नगरपालिकालाई उत्कृष्ट बनाउन सबै मिलेर लाग्नुपर्ने कुरामा जोड दिए । कोरोना संक्रमणका बेला नागरिकको स्वास्थ्य उपचार देखि रोगबाट बचाउन भुमिका खेल्ने, पुर्णखोप सुनिश्चित गराउन भुमिका खेल्ने व्याक्तिहरुलाई सम्मान गरिएको थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …