गठबन्धन दलको तुलनामा एमाले कमजोर,उम्मेदवार छान्न दललाई सकस, नेताहरु दोडधुपमा

Election Nc Uml

प्रकाश डोटेल,
स्याङ्जा, २४ चैत्र :

स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा जिल्लामा क्रियाशिल दलहरुले आफ्नो संगठन विस्तार र चुनावी गतिविधिलाई तिव्रता दिएका छन् । दलहरुले चुनाव केन्द्रित कार्यकर्ता भेला, प्रशिक्षण र भेटघाटलाई तिव्रता दिएसँगै जिल्लामा चुनावी सरगर्मि बढ्दै गएको छ ।

दलहरुका जिल्ला समिति, क्षेत्रिय समिति र पालिकास्तरीय समितिले चुनावी कार्यक्रमलाई केन्द्रित गर्न थालेपछि ठूला दलका स्थानीय नेताहरु पनि पालिका प्रमुख र उप–प्रमुख आफ्नो पक्षमा पार्न दौडधुपमा लागेका छन् । ठूला दलका स्थानीय नेताहरु ठूला नेतालाई आफ्नो पक्षमा पार्दै टिकट हात पर्ने दाउमा व्यस्त छन् ।

चुनावी वातावरण चर्कोसँगै दलका कार्यकर्ताहरु चोकचोकमा र चिया पसलमा समेत पालिकास्तरीय नेतृत्व गर्न सक्ने पात्रको अनुमान गर्न तल्लिन छन् । दल सम्बद्ध कार्यकर्ताहरु आफु पक्षिय दलको नेतृत्व हाबी हुने दाबी गर्छन भने स्वतन्त्र अनुमान गर्नेहरु जनपक्षिय नेता नेतृत्वमा आउने अनुमान लगाउन पछि पर्दैनन् ।

जिल्लाका ११ पालिका मध्ये जिल्ला सदरमुकामको पुतलीबजार र सबै भन्दा बढि मतदाता संख्या रहेको वालिङ नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेले उच्च महत्वका साथ उम्मेदावर छनौट प्रक्रियालाई मतसंख्याको जोडघटाउसँगै बलियो उम्मेदवारको खोजिमा केन्द्रित भएको दल सम्बद्ध श्रोतले जनाएका छन् ।

पुतलीबजारमा नेपाली काँग्रेसकाबाट बरिष्ठ कानून व्यवसायी तथा काँग्रेस महासमिति सदस्य तुलसी गिरी, पूर्व कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’, पार्टी प्रबक्ता भरतप्रसाद लम्साल, इन्द्रबहादुर गोदार, तुलसीराम रेग्मीले प्रमुख पदमा दाबी गरेका छन् भने उपप्रमुखमा महासमिति सदस्य देबी अर्याल, शक्तिचन्द्र अधिकारी, हिरादेबी शर्मा र तारा मल्लले दाबी नछोड्ने तयारीमा छन् ।

नेकपा एमालेबाट पुतलीबजार नगरपालिकामा वर्तमान नगरप्रमुख सिमा क्षेत्री, महेश पुरी, दीपक लम्साल र भरत गाेदारले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् भने उपप्रमुख पदमा तारा शर्मा, निर्मला लम्सालले आ–आफ्नो दाबीलाई जोडबल लगाएका छन् ।

उता वालिङमा वर्तमान नगरप्रमुख दिलिपप्रताप खाँण, पूर्व नगरप्रमुख भोजराज अर्याल, कल्पना तिवारी, केदार काफ्ले र लक्ष्मीप्रसाद रेग्मीले आफ्नो दाबेदारीलाई बलियो बनाउँदै लगेका छन् भने वालिङकै नगर उपप्रमुखमा कविता तिवारी, पदम गुरुङ् र बसन्त मल्ल कम्मर कसेर लागेका छन् ।

नेकपा एमालेबाट वालिङ नगर प्रमुखमा संविधानसभा सदस्यमा पराजित कृष्ण खाँण, गत निर्वाचनमा नगर प्रमुखमा पराजित पुन्यप्रसाद अर्याल, राजेन्द्र डुम्रे र शोभाकान्त पौडेल अगाडी सर्दा उपप्रमुखमा खगिसरा थापा एकल जस्तै हुँदा नेतृ मञ्जु के.सी. र अनुपमा ढुङ्गानाले हानथाप गरेका छन् ।

जिल्लाका ५ नगरपालिकामा मध्ये गल्याङ्मा नेकपा एमालेबाट जिल्ला अध्यक्ष सुरज गैह्रे ‘पारश’ र वर्तमान नगरप्रमुख भुपराज अधिकारी मध्ये एकले टिकट प्राप्त गर्दा काँग्रेसबाट नगरसभापति श्यामप्रसाद बश्याल, महाधिबेशन प्रतिनिधि श्रीप्रसाद श्रेष्ठ ‘महेन्द्र’, महेश भट्टराई र जिल्ला सचिव गुरुप्रसाद भट्टराई टिकट प्राप्त गर्ने दौडमा छन् ।

गल्याङ् नगरपाकिाको नगर उपप्रमुखमा भने काँग्रेस पार्टीबाट महाधिबेशन प्रतिनिधि खगिसरा भण्डारी र नेतृ हेमा न्यौपाने अगाडी बढेका छन् भने एमालेबाट देबीसरा थापा, विष्णु भण्डारी र धनमाया वि.क. अगाडी बढेको एमाले श्रोतले जनाएको छ ।

भीरकोट नगरपालिकामा नेपाली काँग्रेसबाट वर्तमान नगरप्रमुख छायाँराम खनाल, नगर उपप्रमुख सिमा कर्माचार्य क्षेत्री, नगर सभापति यामप्रसाद अधिकारी ‘लक्ष्मण’, गोविन्द कर्माचार्य र दिपेन्द्र क्षेत्रीले नगर प्रमुख पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दा एमालेबाट विश्व अर्याल, हर्क गुरुङ् र सन्तोष के.सी. टिकट प्राप्त गर्ने दौडमा सामेल छन् ।

त्यस्तै भीरकोटको नगर उपप्रमुखमा काँग्रेसबाट ईन्दिरा के.सी., भगवती अर्याल र सुनिता उच्चैको चर्चामा रहेपनि सिमा कर्माचार्य उपप्रमुखमा दोहोरिने सम्भाबना पनि उत्तिकै रहेको काँग्रेस बृत्तमा चर्चा छ भने एमालेबाट सरस्वती अधिकारी एकल रुपमा अघि सरेकी छन् । अधिकारी गत निर्वाचनमा उपप्रमुखमा पराजित उम्मेदवार समेत हुन् ।

काँग्रेसको संगठन बलियो मानिएको चापाकोट नगरपालिकामा कानून व्यवसायी तथा बौद्धिक नेताका रुपमा परिचित रामबहादुर श्रेष्ठ, शिव गिरी, ईश्वर खाँण, महाधिबेशन प्रतिनिधि रामचन्द्र पंगेनी अगाडी बढ्दा गत निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा पराजित डा. बुद्धिमान श्रेष्ठ, किशोरबिक्रम मल्ल र जग्गा खरिद बिक्री, राजु कोईराला अगाडी देखिन्छन् ।

चापाकोट नगरपालिकाको प्रमुखमा काँग्रेसभित्र अन्तरघात हुने दाबी गर्दै श्रोतले रामबहादुर श्रेष्ठलाई प्रमुख पदमा टिकट दिन सन्तुलन मिल्ने दाबी गरेको छ । काँग्रेसका युवा नेता श्रेष्ठ स्थानीय युवाबीच लोकप्रिय मानिन्छन् ।

चापाकोटको नगर उपप्रमुखमा काँग्रेसबाट वर्तमान नगर उपप्रमुख विमला श्रेष्ठ, गायत्री आचार्य, ईशा राना, सृजना वस्ती, हिता चन्द र बिमला काफ्ले आन्तरिक प्रतिस्पर्धामा सामेल हुँदा नेकपा एमालेबाट सरस्वती भट्टराई एकल उम्मेदवार जस्तै भएपनि उनलाई शान्ति आचार्यले असहज बनाउन तल्लिन छन् ।

जिल्लाका ६ गाउँपालिकामा फेदीखोला गाउँपालिकामा भर्खर एमाले छोडेर काँग्रेस प्रबेश गरेका लक्ष्मी बराल अध्यक्ष बन्ने करिब पक्का छ । एमालेबाट भने वर्तमान गाउँपालिका अध्यक्ष घनश्याम सुबेदी बढ्ने निश्चित भएको एमाले श्रोतले जनाएको छ । फेदीखोलामा एमालेभित्र अन्तरघात हुने काँग्रेसले अनुमान लगाएको छ ।

आँधीखोला गाउँपालिकामा एमालेबाट वर्तमान अध्यक्ष सुधिर पौडेल र विश्व पौडेलबीच प्रतिस्पर्धा बढ्दै जाँदा काँग्रेसबाट प्रेमराज पौडेल देखिएका छन् । गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेल एमाले छाडेर समाजवादी पार्टी प्रबेश गरेपछि आँधीखोलामा एमालेलाई राजनीतिक क्षति हुने अनुमान गर्ने धेरै छन् ।

गाउँपालिका मध्येकै हरिनासमा एमालेबाट वर्तमान अध्यक्ष खिमबहादुर मानन्धर अगाडी देखिन्छन भने काँग्रेसबाट टोपबहादुर भुजेल ‘टोपा’ र कृष्णबहादुर चन्द टिकट प्राप्त गर्ने दौडमा लागेका छन् । हरिनासमा गत निर्वाचनमा एमालेले काँग्रेसलाई झिनो मतान्तरले हराएको थियो ।

कालिगण्डकी गाउँपालिकामा काँग्रेस र एमालेबीच कडा टक्कर हुँदै आएकोमा काँग्रेसबाट हुमनाथ पाण्डे ‘किसान’ र शेरबहादुर राना टिकट हत्याउने दाउमा हुँदा एमालेबाट गाउँपालिकाका वर्तमान अध्यक्ष खिमबहादुर थापा र कृष्ण लामिछाने आन्तरिक प्रतिस्पर्धामा छन् ।

अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादी मिल्दा समेत एमालेले चुनावी नतिजा चटकाएको बिरुवा गाउँपालिकामा काँग्रेसबाट सभापति डोलराज पोखरेल र युवराज के.सी. अगाडी बढ्दा एमालेबाट प्रकाश थापा र वर्तमान अध्यक्ष चुनप्रसाद शर्मा मध्ये एक चुनावी प्रतिस्पर्धामा उत्रने श्रोतले जनाएको छ ।

उता गत निर्वाचनमा अध्यक्षमात्रै काँग्रेसले जितेको गाउँपालिका अर्जुनचौपारीमा एमालेबाट मोहन अधिकारी र चक्रबहादुर गुरुङ् तथा काँग्रेसबाट गण्डकी प्रदेश सदस्य रामचन्द्र पोडेल र गाउँपालिका सभापति विष्णुप्रसाद काफ्ले प्रतिस्पर्धामा उत्रने निश्चित छ ।

११ पालिका रहेको स्याङ्जामा काँग्रेस नेतृत्व गठबन्धनले अधिक स्थानको चुनावी नतिजा आफ्नो पोल्टामा पार्ने दल सम्बद्ध श्रोतले दाबी गरेको छ । गठबन्धनलाई लिएर जिल्लामा एमालेभित्र उम्मेदावर छनौटको विषय पेचिलो बन्दै गएको छ । अधिकांश पालिकामा गत निर्वाचनमा एमालेसँग काँग्रेस झिनो मतले पराजित भएको थियो । एमाले बिभाजित भएपछि हरेक स्थानीय तहमा सांगठानिक रुपमा कमजोर बनेको राजनीतिक विज्ञहरुको ठमम्याई छ ।

 

Facebook Comments Box
TOP