राष्ट्रसंघमा नेपालको भोट युक्रेनको पक्षमा , भारत अनुपस्थित, चीन विपक्षमा ।

काठमाण्डौ:

नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा भोट हालेको छ।

सोमबार जेनेभामा भएको परिषदको बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणपछि युक्रेनमा भएको मानव अधिकारबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए।

परिषद सदस्य रहेको रूसका प्रतिनिधिले भने यस्तो छलफल जरूरी नरहेको बताएका थिए। दुई पक्षको विवादले बैठक केहीबेर रोकिएको थियो।विवाद भएपछि प्रस्तावमाथि मतदान भएको थियो। मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनु पर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।युक्रेनको प्रस्तावको पक्षमा २९ मत आएको थियो भने १३ देश अनुपस्थित भएका थिए भने ५ मुलुकले विपक्षमा भोट हालेका थिए।

भारत मतदानमा अनुपस्थित भएको थियो भने चीनले युक्रेनी प्रस्तावको विपक्षमा मतदान गरेको थियो। परिषदमा ४७ मुलुक सदस्य छन्।

बहुमतले पारित भएसँगै युक्रेनको प्रस्तावमा बिहीबारदेखि छलफल सुरू हुने भएको छ। रूसले युक्रेनमाथि आक्रमण गरेकै दिन नेपालले रूसी कदम संयुक्त राष्ट्रसंघको बडापत्र विपरीत रहेको बताएको थियो।

‘संयुक्त राष्ट्रसंघको सदस्य हुनुका नाताले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्छ भन्ने ठान्छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।

युक्रेनमाथि आक्रमण गर्नु केही दिनअघि रूसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो।‘कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ,’ विज्ञप्तिमा भनिएको छ।रूसको यो आक्रमण दोस्रो विश्वयुद्धपछि युरोपमा कुनै एक मुलुकले अर्को मुलुकमाथि गरेको सबैभन्दा ठूलो सैन्य आक्रमण हो। रूस युक्रेन युद्धले यी दुई मुलुकका बासिन्दासँगै संसारभरिका मानिसलाई असर पार्नेछ।

सानो छिमेकीमाथि सैनिक कारबाही गर्ने रूसी कदमको विश्वका शक्ति राष्ट्रहरूले विरोध गरेका छन्। संयुक्त राज्य अमेरिका, युरोपियन युनियन, क्यानडा, अष्ट्रेलियालगायत मुलुकले राष्ट्रपति पुटिनको कदमको विरोध गरेका छन्।

Facebook Comments Box
TOP