कोभिड रोक्न मास्क बोकेर रेडक्रस स्याङ्जा सडकमा

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
मास्क नलगाई नागरिकहरु सडकमा हिड्न थालेपछि जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाले मास्क वितरण अभियान शुरु गरेको छ । सडकमा हिड्ने नागरिकका कारण समुदायमा कोरोना संक्रमण फैलिनबाट रोक्न रेडक्रसले यो अभियान शुरु गरेको हो । ‘तपाईको मास्क खोई ?’ भन्ने नारा सहित मास्क नलगाई पैदल यात्रा र सवारी साधनमा यात्रा गर्ने नागरिकलाई निशुल्क मास्क वितरण गर्दै दैनिक मास्क प्रयोग गर्न रेडक्रसका अभियान्ताहरु र नेपाल प्रहरीले सुझाएका थिए । नेपाल रेडक्रस सोसाईटीको कोभिड प्रतिकार्य योजना अनुरुप सडक र सवारी साधनमा मास्क नलगाई हिड्ने नागरिकलाई मास्क लगाउन बानी पार्ने उदेश्यले यो अभियान शुरु गरेको रेडक्रस स्याङ्जाले जनाएको छ ।
जिल्लामा केही दिनयता कोरोना संक्रमण बढ्न थालेको छ । समुदायमा कोरोना संक्रमण नफैलियोस भन्ने उदेश्यले जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाले राजमार्गका बजारहरुमा निशुल्क मास्क वितरण गरेको जिल्लाका सभापति दिनेश अर्यालले बताउनु भयो । एकहप्ता सम्म बजार क्षेत्रमा मास्क नलगाई हिड्ने नागरिकलाई निशुल्क मास्क वितरण गर्ने योजना रहेको छ अर्यालले भन्नुभयो,‘ मास्क लगाइएर हिड्ने बानीको पनि विकास हुने र कोभिड न्युनिकरण पनि हुने विश्वास लिएका छौं ।’ पहिलो दिन फेदिखोला, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ्का बजार क्षेत्रमा मास्क वितरण गरिएको सभापति अर्यालले बताउनु भयो । मानिसहरुको बढी चाप राजमार्गमा हुनेभएकाले मास्क वितरण गरेर सन्देशमुलक अभियानको थालनी बजार क्षेत्रबाट शुरु गरेको रेडक्रस स्याङ्जाको भनाई छ ।
एकै दिन मास्क नलागाएर हिड्ने १ हजार नागरिकलाई मास्क हात—हातमा पु¥याएको रेडक्रस स्याङ्जाले जनाएको छ । सिदार्थ राजमार्गमा पर्ने बजार क्षेत्रमा पहिलो प्रथामिकता राखेर यो जनचेतनामुलक अभियान चलाएको सभापति अर्यालले बताउनु भयो । विश्वरभर माहामारी फैलिएका खबरहरु आएपनि अझै नागरिकले मास्क लगाउनुपर्छ भन्ने मानसिकताको विकास हुन सकेको छैन । जसले गर्दा कोरोना संक्रमण न्युनिकरण गर्न गरेको प्रयास सफल हुन नसकेको बताइएको छ । एकसाता अगाडि जिल्ला कोभिड व्यवस्थापन समितिले पनि जिल्लाका मुख्य बजार क्षेत्रमा मास्क अनिवार्य लगाउन सचेतनामुलक कार्यक्रम गरेको थियो । मास्क नलगाउने व्याक्तिलाई ठामको ठाम कारवाही गरि जरिवाना समेत गरेको थियो । वालिङमा भएको निशुल्क मास्क वितरणमा जिल्ला रेडक्रसका उपमन्त्री खगेन्द्र अर्याल, बिष्णुप्रताप खाँण र आजिवन सदस्य कल्पना अर्यालको सक्रियतामा वितरण गरिएको थियो । नेपाल प्रहरीले यस कार्यमा सहयोग गरेको थियो । एकसाता सम्म यो क्रम जारी रहने उपमन्त्री अर्यालले बताउनु भयो ।

 

Facebook Comments Box
TOP