घट्यो स्याङजाको जनसंख्या ।

janagadana3

स्याङ्जा :

राष्ट्रिय जनगणना २०७८ मा स्याङ्जाको जनसंख्या ओरालो लागेको देखिएको छ । २०६८ मा भएको जनगणना र २०७८ मा भएको जनगणनाको नतिजा हेर्दा स्याङ्जामा १० बर्षपछि जनसंख्यामा बृद्धिदर निकै ऋणात्मक देखिएको हो । केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको प्रारम्भिक नतिजाले स्याङ्जाको नतिजामा माइनस १.२१ बृद्धिदर देखाएको छ । यो आधारले हेर्दा स्याङ्जाको जनसंख्याको बृद्धिदर निकै कमजोर देखिएको छ । २०७८ को जनगणनामा स्याङ्जाको जनसंख्या २ लाख ५४ हजार ९ सय ६५ रहेको छ । ठिक १० बर्ष अगाडी २०६८ सालमा गरिएको जनगणनामा स्याङ्जाको जनसंख्या २ लाख ८९ हजार १ सय ४८ रहेको थियो । १० बर्ष पछि २०७८ सालमा गरिएको जनगणनाले ३४ हजार १ सय ९३ कम जनसंख्या देखाएको छ । 

२०६८ सालमा गरिएको जनगणनाले पनि जिल्लाको जनसंख्या चिन्ताजनक देखाएको थियो भने १० बर्ष पछि गरिएको जनगणनाले झनै चिन्ताजनक अवस्था देखाएको छ । प्रारम्भिक नतिजा अनुसार स्याङ्जामा पुरुषको संख्या १ लाख १८ हजार ७६ रहेको छ भने महिलाको संख्या १ लाख ३६ हजार ८ सय ८९ रहेको छ । तुलानात्मक रुपमा स्याङ्जामा महिलाको संख्या बढी देखिएको छ । विभागले देखाएको तथ्याङ्कमा घर परिवार संख्या ७० हजार ७ सय २१ रहेको छ भने जनगणना घर संख्या ६२ हजार ८ सय ६७ रहेको छ । नेपालकै जनसंख्या सन्तोषजन नभएको टिप्पणी आइरहेका बेला स्याङ्जामा पनि जनसंख्याको बृद्धिदर क्रमश घट्दो अवस्थामा आएको छ । 



जनसंख्या घट्नुमा जन्म, मृत्यु र बसाइसराईको आधारमा हुने तथ्याङक कार्यालय स्याङ्जाका सुचना अधिकारी राजेन्द्र पराजुलीले बताए । जिल्लाको जनसंख्याको बृद्धिदर निकै चिन्ताजनक अवस्थामा देखियो सुचना अधिकारी पराजुलीले भने,‘यसको गहनरुपमा अध्ययन गर्न जरुरी देखिएको छ ।’ बेलैमा सरोकारवाला निकायहरुले अध्ययन नगर्ने हो भने आउने दिनमा अझै विकराल समस्या आउन सक्छ उनले भने । रोजगारीका लागि युवाहरु विदेशीने, ढिलो बैवाहिक सम्वन्ध गास्ने, महिलाहरुमा रोजगारी बढ्दो र एक सन्तान मात्रै जन्माउने कारणहरु पनि जनसंख्या बृद्धिदरमा कमी आउन सक्ने विश्लेषण गरिएको छ । यो प्रारम्भिक नतिजा भएकाले सबै फाइनल नतिजा आएपछि अध्ययन गरेर जनसंख्या बृद्धिदर बढाउन लाग्नु पर्ने पराजुलीले सुझाएका छन् । आवद्यिक नीति, योजना तथा कार्यक्रम तर्जुमा, अनुगमन तथा मुल्याङ्कन गर्नका लागि राष्ट्रिय जनगणना आवश्यक पर्ने हुन्छ । जसले जिल्लाको योजना तर्जुमा समेत टेवा पुग्ने गर्छ । जनसंख्याको बृद्धिदर घट्ने मात्रै अवस्था आयो भने यस्ता बिषयमा निकै घाटा हुने विज्ञहरु बताउछन् । 

११ पालिका रहेको स्याङ्जामा सबै भन्दा बढी जनसंख्या वालिङ नगरपालिकामा रहेको देखिएको छ भने फेदिखोला गाँउपालिकामा सबै भन्दा थोरै जनसंख्या देखिएको छ । वालिङ नगरपालिकामा ५० हजार ९ सय २२ र फेदिखोलामा १० हजार ७ सय ८६ जनसंख्या रहेको तथ्याङ्कले देखाएको छ । नगरपालिकाहरु मध्ये सबै भन्दा थोरै गल्याङ् नगरपालिका रहेको छ । गल्याङ नगरपालिकाको जनसंख्या २१ हजार १ सय २५ रहेको छ । यसै गरी गाँउपालिकाहरुमा सबै भन्दा धेरै जनसंख्या कालीगण्डकी गाँउपालिका रहेको छ । कालीगण्डकी गाँउपालिकामा १८ हजार ८ जनसंख्या रहेको तथ्याङ्कले देखाएको छ । 

बुधवार प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । जसमा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा देखाइएको छ । 

Facebook Comments Box
TOP