यसवर्ष स्याङ्जामा सुन्तला उत्पादनमा कमी, ५७ करोडको सुन्तला बिक्रि ।

वालिङ :
यसवर्ष स्याङ्जामा सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष १७ हजार छ सय ३२ टन सुन्तला फलेको स्याङ्जामा यसवर्ष भने १३ हजार ८ सय ४० मेट्रिक टन सुन्तला फलेको छ । गत वर्ष १ हजार ६ सय ५५ हेक्टरमा सुन्तला खेति गरिएकोमा ७० प्रतिशत अर्थात १ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा १५.२ टन प्रति हेक्टर सुन्तला फलेको थियो । गत वर्ष १ हजार १ सय ६० हेक्टरमा ७९ करोड ३४ लाख ४० हजारको सुन्तला फलेको थियो भने ५५ करोडको सुन्तला निर्यात भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । यसवर्ष ३३ प्रतिशत सुन्तला उत्पादनमा कमी आएको ज्ञान केन्द्रले जनाएको छ ।
यसवर्ष भने १ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा १३ हजार ८४० मेट्रिक टन सुन्तला फलेको हो । यहाँ सुन्तला खेति १ हजार ९६९ क्षेत्रफलमा विस्तार गरिएपनि ५९० हेक्टर क्षेत्रफलमा रहेका सुन्तलाले उत्पादन दिएका छैनन् ।
गत वर्ष ७९ करोड ३४ लाख ४० हजारको सुन्तला फलेको जिल्लामा अहिले ७६ करोड १२ लाख रुपैँयाको सुन्तला फलेको छ । यसवर्ष ३ हजार ४६० मेट्रिक टन अर्थान २५ प्रतिशत १९ करोड २ लाख मुल्य पर्ने सुन्तला आँफै उपभोग गरिएको छ भने १० हजार ३८० मेट्रिक टन सुन्तला विक्रि गर्दा ५७ करोड ९ लाख आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख हमालले जानकारी दिनुभयो ।
२० प्रतिशत २ हजार ७६ मेट्रिक टन सुन्तला यहाँको स्थानीय बजारमै विक्रि हुँदा ११ करोड ४१ लाखको सुन्तला यही खपत भएको छ भने ८० प्रतिशत ८ हजार ३०४ मेट्रिक टन सुन्तला बाहिर निर्यात हुँदा ४५ करोड ६७ लाख रुपैँया जिल्लामा भित्रिएको छ । गतवर्ष ४५ रुपैँयामा होलसेल विक्रि भएको सुन्तला यसवर्ष भने ५० रुपैँयामा विक्रि भयो भने ७५ मा खुद्रा विक्रि भएको सुन्तला यस वर्ष ५ रुपैँया बृद्धि भएर ८० रुपैँयामा विक्रि भएको छ । जिल्लामा सुन्तला टिपाई ९५ प्रतिशत सकिएको छ ।
सुन्तला उत्पादनका लागि उपयुक्त भूगोल भएकाले यहाँ सुन्तला सुपरजोन परियोजना संचालनमा छ । सुपरजोन अन्र्तगत १५ सय ९० हेक्टरमा र कृषि ज्ञान केन्द्र मार्फत ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएका छन् ।
पुतलीबजार, वालिङ्, भीरकोट, चापाकोट, गल्याङ नगरपालिकाका अधिकांश वडामा सुन्तला खेती हुन्छ । दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन । यहाँ उत्पादित सुन्तला पोखरा, बुटवल, नारायणघाट, काठमाण्डौंमा विक्रि हुँदै आएको छ ।
तस्वीर : सुन्तलाको उत्पादन घटेको भन्दै सुन्तला बोट तर्फ देखाउदै पुतलीबजार ११ मायटारीकी सुन्तला कृषक तारा अर्याल ।

Facebook Comments Box
TOP