संसदको भत्ता खाँदै, प्रतिनिधि सभा अवरोधमा एमालेको नयाँ रेकर्ड ।

काठमाण्डौ

नेकपा एमालेले प्रतिनिधि सभा अवरोधमा आफ्नो पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। केपी ओलीले दुई दुई पटक संसदलाई भंँग गर्दै-गर्दा अदालतले पुर्नस्थापना गरेपछि एमालेले विभिन्न वहानामा संसदलाई अवरोध गर्दै आएको छ । संसद अवरोध गरे पनि सांसदहरुले भत्तामा कुनै कञ्जुस्याई नगरि बुझेका छन ।

२०५७ सालमा एमालेले ५७ दिन संसद अवरोध गरेको रेकर्ड थियो। यसपटक एमालेले आजको पुस २६ गते सम्मको हिसाब गर्ने हो भने अवरोध गरेको ७९ दिन पुगेको छ। जुन नयाँ रेकर्ड हो।

एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनका सबै बैठक अवरूद्ध गरेको थियो। २०७८ भदौ २३ गते बुधबारबाट सुरू भएको नवौं अधिवेशन २०७८ कात्तिक ११ सम्म ५१ दिन चलेको थियो। ती सबै बैठकमा एमालेले वेल घेराउ गर्दै नाराबाजी गर्‍यो। एमालेको अवरोधबीच १२ दिनमा १३ पटक बैठक बसेको थियो। नाराबाजीबीच सरकारले बजेट पास गरेको थियो। एमालेले आफ्नो पार्टी विभाजन गर्न सरकारले बीस प्रतिशत केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाउँदै आएको छ। साथै आफ्नो पार्टीले कारबाही गरेका व्यक्तिलाई संसदमा सहभागी गराएको भन्दै सभामुखले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ।

एमालेले प्रतिनिधि सभाको दशौं अधिवेशनमा पनि सुरूआतदेखि नै प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएको छ। २०७८ मंसिर २८ देखि सुरू भएको दशौं अधिवेशनका अहिलेसम्म ३ वटा बैठक भएका छन्। मंसिर २८, पुस ६ र पुस ७ का तीन वटै बैठकमा एमालेले अवरोध गरेको छ। त्यसपछि पुस १८ गतेका लागि तोकिएको बैठक ३ पटक सूचनामार्फत् स्थगित गरिएको छ। संसदको अधिवेशन चालु रहेको अवधिको मात्र हिसाब गर्ने हो भने एमालेले संसद अवरोध गरेको दिन संख्या ७९ पुगेको हो। प्रतिनिधि सभाको अर्को बैठक माघ ३ गतेका लागि डाकिएको छ। उक्त दिन पनि एमालेले बैठक सञ्चालनमा अवरोध गरे ८६ दिन संसद अवरूद्ध गरेको रेकर्ड बन्नेछ।

 

Facebook Comments Box
TOP