अब पोखरामै निशुल्क मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिदै ।

पोखरा ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको छ । त्यसका लागि भक्तपुरस्थित धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रसँग अस्पतालको तालुक संस्था पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सम्झौता गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा। डुकबहादुर क्षेत्री र मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख पुकार श्रेष्ठबीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सम्झौता भएको छ । मिर्गौला प्रत्यारोपणमा विशेषज्ञता हाँसिल गरेको केन्द्रले पक्षे अस्पतालका चिकित्सकलाई दक्ष बनाउने लगायत बुँदा राखेर बुधबार भक्तपुरमा उक्त सम्झौता भएको हो । ‘यही आर्थिक वर्षभित्र सेवा सुरु गर्ने गरी गृहकार्य अगाडि बढाएका छौं,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। क्षेत्रीले भने, ‘हामीसँग विशेषज्ञहरु पनि हुनुहुन्छ, अंग प्रत्यारोपण केन्द्रले पनि सहयोग गर्छ ।’ मिर्गौला प्रत्यारोपण गर्नैका लागि एउटा राम्रो अप्रेसन थियटर र केही प्रविधि तथा उपकरणमात्रै भए पुग्ने उपकुलपति डा क्षेत्रीले जानकारी दिए । केन्द्रसँग क्षेत्रीय अस्पतालका चिकित्सकलाई तालिम उपलब्ध गराउने सम्झौता भएको उनले बताए ।

 

‘मिर्गौला प्रत्यारोपण गर्न कम्तीमा पनि १ वर्ष काम गरेको अनुभव चाहिन्छ,’ डा क्षेत्रीले भने, ‘१ जना डाक्टर साब त हामीसँग हुनुहुन्छ, अरु ३ जना पनि मिर्गौलाको क्षेत्रका डाक्टर हुनुहुन्छ । उहाँहरुलाई मानव अंग प्रत्यारोपण केन्द्रमा गएर तालिम गर्ने अवसरका लागि सम्झौता भएको हो ।’ उनले उक्त केन्द्रका प्रमुख डा। पुकार श्रेष्ठ स्वयं पोखरा आएर सघाउनसमेत तयार रहेको जानकारी दिए । ‘उहाँहरुले आफ्ना जनशक्ति पनि यहाँ पठाइदिनु हुन्छ,’ उनले भने, ‘हाम्रोबाट उहाँकोमा गएर पनि सिक्नुहुन्छ ।’

मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकले एमडीपछिको पढाइ र अभ्याससमेत गरेको हुनुुपर्छ । नेपाल सरकारको निकाय मानव अंग प्रत्यारोपण समन्वय समितिबाट प्रत्यारोपणको लाइसेन्स पनि लिएको हुनुपर्छ । प्रत्यारोपण सेवा सञ्चालन गर्ने अस्पतालले पनि त्यही समितिबाट लाइसेन्स लिनुपर्छ । मिर्गौला प्रत्यारोपण गर्ने लाइसेन्स प्राप्त चिकित्सक र लाइसेन्स प्राप्त नेफ्रोलोजिस्ट भएको अस्पताललाई समन्वय समितिले मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिन्छ । क्षेत्रीय अस्पतालमा कार्यरत डा. प्रकाश क्षत्रीले समितिबाट मिर्गौला प्रत्यारोपणको लाइसेन्स पाएका छन् । उनले वीर अस्पतालमा अध्ययन र अभ्यास गरेपछि लाइसेन्स लिएका हुन् । डा. प्रकाशले मिर्गौला फेल भएका बिरामीको उपचार कि डाइलसिस कि प्रत्यारोपण भएको जानकारी दिए । ‘दीर्घकालीन उपचार प्रत्यारोपण नै हो,’ उनले भने । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला फेल भएका बिरामीको डाइलसिस सेवा छ । तर त्यहाँ दिनहुँ भिड लाग्छ । बिरामीलाई पालो पाउनै मुस्किल छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न खास ठूलो लगानी गर्नु नपर्ने डा। प्रकाशको भनाइ छ । अस्पतालमा निर्मित नयाँ भवनमा प्रत्यारोपणका लागि पूर्वाधार तयार गर्न सकिने उनले सुनाए । वीर वा टिचिङ अस्पतालको सरह पूर्वाधारका लागि क्षेत्रीय अस्पतालमा समस्या नहुने उनी बताउँछन् । सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न बिरामीले पैसा तिर्नुपर्दैन । नेपाल सरकारले प्रत्यारोपणको खर्च व्यहोर्छ । सरकारी अस्पतालमा डाइलसिस पनि निशुल्क छ । तर धेरै बिरामी भएको हुँदा पालो पाउन निकै मुस्किल हुन्छ । निजी अस्पतालमा भने निकै महँगो पर्छ । नेपालमा वीर, महाराजगन्ज शिक्षण, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, सुमेरु, ग्रान्डी, किस्ट लगायत अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा छ । मानव अंग प्रत्यारोपणसम्बन्धी एउटा ऐन पनि छ । उक्त ऐनले तोकेका व्यक्तिको अंगमात्रै अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ ।

Facebook Comments Box
TOP