वालिङमा सुविधा सम्पन्न डायलाईसिस सेन्टर सञ्चालन हुँदै ।

kidney dialysis center

राधाकृष्ण डुम्रे,
वालिङ, पुस ३० गते :
स्याङ्जाको वालिङमा सुविधा सम्पन्न डायलाईसिस सेन्टर सञ्चालनमा ल्याईने भएको छ । वालिङ नगरपालिका वडा नम्वर १० मा सञ्चालनमा ल्याउन लागिएको वालिङ सामुदायिक डायलाईसिस सेन्टरको सम्पूर्ण काम सम्पन्न भएको हो । रोटरी क्लव अफ वालिङले वालिङ नगरपालिका र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।
रोटरी क्लव अफ वालिङको प्रस्तावनामा रोटरी ईन्टरनेसनलले डायलाईसिस सेन्टर सञ्चालनका लागि रु ५ करोड ५३ लाख उपलव्ध गराएको थियो । डायलाईसिस सेन्टरको सम्पूर्ण तयारी पुरा भएको र माघको पहिलो हप्ताबाट नै सेवा प्रवाह शुरु गर्ने रोटरी क्लव अफ वालिङका अध्यक्ष युवाराज पाठकले जानकारी गराउनु भयो ।
वालिङ नगरपालिकाले उपलव्ध गराएको भवनलाई मर्मत गरेर सेन्टरको रुपमा परिणत गरिएको अध्यक्ष पाठकले बताउनु भयो ।
बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको मृगौला डायलाईसिस सेन्टरमा ११ वटा मेसिन जडान गरिने छ । पहिलो चरणमा आठ वटा मेसिन जडान भईसकेको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पहिलो चरणमा आठ वटा मेसिन जडान गरेका छौं यसलाई बढाएर ११ वटा पुर्याउने छौं ।’ सेन्टर सञ्चालनको शुरुमा नै दैनिक १६ जना मृगौलाका बिरामीले डायलाईसिस गर्न सक्ने आलमले बताउनुभयो ।
सेन्टरलाई राज्यको सहयोगमा सञ्चालन गरिने बताउदै आलमले राज्यको सहयोगी भूमिकाका रुपमा आफूहरुले काम गरेको स्पष्ट पार्नुभयो ।
मृगौला डायलाईसिस सेन्टरलाई नगरपालिकाले सहयोग र समन्वय गदै आएको बताउदै वालिङ नगरप्रमुख दिलिप प्रताप खाँणले बिभिन्न संघसंस्थाले शुरु गरेका प्रशंसनीय कामलाई स्थानीय सरकारले उच्च मुल्याङ्कन गर्ने बताउनु भयो । उहाँले सेन्टरको सञ्चालनका लागि स्थानीय सरकारले आवश्यक सहयोग र सहकार्य गर्ने जानकारी दिनुभयो ।

सेन्टर सञ्चालन भएपछि स्याङ्जा सहित पाल्पा,गुल्मी र पर्वतका सेवाग्राहीलाई निक्कै सहज हुनेछ । सेन्टरको प्रस्तावना तयार गर्दा स्याङ्जामा मात्रै दुई सय ४४ जना नियमित डायलाईसिस गर्ने बिरामी भएको स्मरण गर्दै क्लवका अध्यक्ष पाठकले भन्नुभयो, जिल्ला कै मध्य भागमा सञ्चालन आउने सेन्टरले धेरै बिरामीको आर्थिक भार कम गर्नेछ ।
सेन्टर परिसरमा नै एक भेन्टिलेटरको व्यवस्था समेत गरिएको छ । जसबाट यस क्षेत्रमा अत्यावश्यक रुपमा ख्याल गर्नु पर्ने, हर्ट एट्याक लगायतका बिरामीलाई सजिलो हुने गौतमबुद्ध सामुदायिक मुट अस्पतालका अध्यक्ष आलमले बताउनु भयो ।
एक जना मृगौलाका बिरामीलाई एकपटक डायलाईसिस गर्न चार घण्टा लाग्नेछ । डायलाईसिस सेवा निशुल्क रुपमा उपलव्ध हुने अध्यक्ष पाठकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले प्रत्येक डायलाईसिस गर्ने बिरामीको रेकर्ड राखेर सरकारलाई पठाउछौं,सरकारले प्रति व्यक्ती रु दुई हजार पाँच सय उपलव्ध गराउनेछ । बिरामीको तर्फबाट कुनै शुल्क लाग्दैन ।’
सेन्टरमा बिशेषज्ञ चिकित्सक सहित ११ जना स्वास्थ्यकर्मी कार्यरत रहने क्लवका अध्यक्ष पाठकले बताउनु भयो ।

 

Facebook Comments Box
TOP