खेतमै विज्ञ पाएपछि किसान हर्षित

तोलाकान्त बगाले/वालिङ :

धान काटेर थन्क्याएपछि आलु लगाउने बेला हो यो । अहिले किसानहरु आलु लगाउनका लागि खेतको तयारी गरिरहेका छन् । तर कतिपयमा आलु कसरी लगाउने, कुन जातको लगाउने, कसरी खन्ने, बीउ कुन अवस्थाको भएपछि लगाउने भन्ने पूर्ण ज्ञान नभएकाले आशा गरिए अनुरुप उत्पादन नहुने भएकाले उत्पादनमा जोड दिनका लागि खेतमै आलु विज्ञमार्फत प्रयोगात्मक ज्ञान दिईएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पूर्व बरिष्ठ वैज्ञानिक तथा आलु विज्ञ डा. भीमबहादुर खत्रीले किसानका खेतमै पुगेर आलु खेतीकाबारेमा प्रयोगात्मक ज्ञान दिनुभएको हो । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका किसानहरुले समूहमा र ब्यक्तिगतरुपमा आलु खेती गर्दै आएका छन् । सामूहिक वा ब्यक्तिगतरुपमा आलु खेती गर्नेहरुका लागि वालिङ नगरपालिका, युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको ब्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत ब्यवसायिक तालीम खेती सम्बन्धी जानकारी दिने उद्देश्यले खेतमै पुगेर प्रयोगात्मक तालीम दिईएको हो ।

“यहाँका किसानहरुले सामूहिक र ब्यक्तिगतरुपमा आलु खेती गर्दै आउनुभएको छ” परियोजना वालिङका प्रमुख राधाकृष्ण डुम्रेले भन्नुभयो, “परम्परागत तबरले निर्वाहमुखीरुपमा आलु खेती गर्दै आउनुभएका किसानहरुलाई ब्यवसायिक बन्नका लागि प्रयोगात्मक सिकाई निक्कै लाभदायी भएको महशुस गरेको छु ।” किसानले आलु लगाउनका लागि तयार पारेको खेतमै पुगेर विभिन्न ५ वटा सहकारी संस्थाका किसान तथा ब्यवसायिकरुपमा आलु उत्पादनतर्फ उन्मुख भएका ५० जना किसानहरुले यसबाट लाभ लिएका परियोजना प्रमुख डुम्रेले बताउनुभयो । वालिङ ६ मिर्दीका किसानहरु आलु विज्ञलाई आफ्नै खेतमा पाउँदा निक्कै खुसी देखिन्थे । यहाँका महिलाहरुले गतिशील कृषक समूह गठन गरी केही वर्ष पहिलेदेखि सामूहिकरुपमा आलु, काउली, बन्दा लगायतका मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन गर्दै आएका छन् । “गतवर्ष पनि हामीले समूहमार्फत आलु खेती गरेका थियौं” समूहकी संयोजक शान्ति तिवारीले भन्नुभयो, “हामीले जसरी जान्यौं त्यसरी नै लगाउने गरेका थियौं पूर्ण ज्ञानको अभावमा भनेजति उत्पादन लिन सकेका थिएनौं, अहिले भने आलु विज्ञमार्फत खेतमै प्रयोगात्मक विधि जान्ने अवसर प्राप्त भयो, जसकाकारण हामी निक्कै खुसी छौं ।” वालिङ नगरपालिका, युएनडिपी नेपाल र दियालोको सहयोगमा गतवर्ष पनि वालिङका विभिन्न ठाउँमा समूह तथा सहकारीमार्फत आलु खेती गर्नेहरुका लागि शतप्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराईएको थियो । उक्त समूहले गतवर्ष उत्पादन गरेको आलु ग्रेडिङ गरी बीउका लागि छुट्टयाएर अरु आलु बिक्री गरेको थियो । यहाँ उत्पादन भएको आलुलाई शीतभण्डारमा सुरक्षित राखेर फेरि सोही आलुलाई बीउकारुपमा प्रयोग गरिएको संयोजक तिवारीको भनाई थियो ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP