स्याङ्जा कांग्रेस प्रदेशसभा अधिवेशन : तिवारी, खाँण, खनाल र भट्टराई निर्वाचित

स्याङ्जा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका ४ प्रदेशसभाका निर्वाचन मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) को सभापतिमा केशरबहादुर खाँण (धुव्र) विजयी भएका छन्। उपसभापतिमा बोधराज अर्याल र हुमबहादुर लम्साल (राजेन्द्र), सचिवमा आशिष लम्साल र नवराज वाग्ले, सहसचिवमा वेदकुमार गुरुङ र राजेन्द्र शर्मा निर्वाचित भएका छन्।

प्रदेशसभा (ख) तर्फ प्रदेश सभापतिमा प्रकाश तिवारी विजयी भए। उनीसँगै उपसभापतिमा थानेश्वर पौडेल र प्रल्हादजंग मरासिनी, सचिवमा प्रताप पौडेल तथा शिवबहादुर थापा र सहसचिवमा उदयराज पौडेल (सन्तोष) तथा युवराज हमाल निर्वाचित भएका छन्।

यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को सभापतिमा अर्जुनप्रसाद खनाल विजयी भए। उपसभापतिमा कुलबहादुर गुरुङ र भविष्वर कोइराला, सचिवमा ढण्डपानी पंगेनी (डण्डु) र अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण र बोधराज कुँबर (राजु) निर्वाचित भएका हुन।

प्रदेशसभा (ख) तर्फको सभापतिमा महेश भट्टराई विजयी भएका छन्। उपसभापतिमा टिकाराम तिवारी र खगीसरा निर्विरोध निर्वाचित भए। सचिवमा गोकर्णप्रसाद भट्टराई र रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएको जिल्ला निर्वाचन समितिको कार्यालयले जनाएको छ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को क अन्तर्गत केशरबहादुर खाँणसँगै सीमा केसी कर्माचार्य र ख अन्तर्गत प्रकाश तिवारीसँग रविन केसी चुनावी प्रस्पिर्धामा थिए। यसैगरी, निर्वाचन क्षेत्र नं. २ को क अन्तर्गत अर्जुन खनाल र बिद्या श्रेष्ठ, ख मा महेश भट्टराई र कमलप्रसाद रेग्मी चुनावी प्रस्पिर्धामा थिए।

४ प्रदेशमा २ हजार २ सय ५९ मतदाता थिए। सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत रामचन्द्र गौतम (आरसी) ले बताए। उनका अनुसार निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) मा ५३६ मधे ५३३, (ख) मा ४९३ मध्ये ४८९ र क्षेत्र नं. २ को (क) मा ६०० मध्ये ५९३ र (ख) मा ६३० मध्ये ६१३ जनागरी २ हजार २ सय २८ ले मतदान गरेका थिए।

Facebook Comments Box
TOP