नमूना पर्यटकिय गाउँ सिरुवारीमा बुद्ध शालिकको शिलान्यास

भवानी अधिकारी/स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले चार वर्ष प्रदेश चलाएको सरकारले भन्दा वर्तमान सरकारले राम्रो काम गरेको बताए। आँधीखोला गाउँपालिका १ पञ्चमूलस्थित नेपालकै पहिलो र नमूना पर्यटकिय गाउँ सिरुवारीमा बुद्ध शालिकको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले छोटो समयमै सरकारले उपलब्धीमूलक काम गरेको दावी गरे।

चार-चार वर्षसम्म एकलौटी चलाएको सरकार हटेर एकैचोटी प्रादेशिक सरकारले बजेट ल्याएर काम गर्ने क्रममा चुनौती देखिए। तर, पनि नागरिकले मूल्यांकन गर्नेगरी काम गर्नेमा आफू ढुक्क रहेकोमा जोड दिए। उनले भने, ‘आफू नेतृत्वको सरकारले पाठेघर क्यान्सर पीडित महिलालाई निशुल्क उपचार, कोभिडबाट मृतक परिवारलाई ५० हजार र मृतकका बालबच्चालाई मासिक पाँच हजार दिने, प्राकृतिक विपत्तीलाई राहत दिने निर्णय गर्यौं।’

कोरोनाका कारण धरासाही बनेको पर्यटन व्यवसाय चलाएमान बनाउन रोजगारका लागि विदेशिन वाध्य युवालाई स्वदेशमै रोजगार सृजना गर्ने अवसर पहिचान गर्ने बताए। गण्डकी प्रदेश पर्यटनको राजधानी भएकाले कयौं अवसरले पछ्याइरहेको उनको भनाइ छ।

स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको जनाउँदै आउँदो चैतसम्म गण्डकी प्रदेशका सबै नागरिकलाई पूर्ण खोप उपलब्ध गराउने प्रतिवद्धता जनाए। उनले थपे, बुद्ध शालिक निर्माणका लागि प्रादेशिक सरकारले सहयोग गर्नेछ।

सांसद क्याप्टेन रुद्रमान गुरुङ्को दुरदृष्ट्रिकोणले देशभर ‘होमस्टे’ योजना सञ्चालन भएर कला, संस्कृति र मित्रवत् व्यवहारको आदानप्रदान र देखासिकीले सामाजिक एवं आर्थिक स्तरवृद्धि भएको उनको भनाइ छ। उनले सिरुबारी जोड्ने निर्माणाधिन मोटरेबल पुल अलपत्र छाड्ने ठेकेदारलाई कारवाही गर्ने बताए। अबको वर्षदिनभित्र सिरुवारी पुग्ने ग्रामिण सडक र अलपत्र पुल निर्माण गर्ने मन्त्री पोखरेलले भने।

कार्यक्रममा शिक्षा संस्कृति तथा प्रविधिमन्त्री मेखलाल श्रेष्ठ, कानुन सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापा, बिना विभागियमन्त्री दोबाटे बिक, प्रदेश मुख्य सचिव दामोदर रेग्मी, प्रजिअ राजुप्रसाद पौडेल, होमस्टे सञ्चालिका उर्मिला गुरुङ, बबर सिहँ, गुरुङ, लगायतले सिरुवारीका विकास र प्रवद्र्धनमा सहयोग गर्ने बताए।

झण्डै ३० मिटर लम्बाई र चौडाई भएको र ६० फिट उचाईको बुद्ध शालिक ३ करोडको लागतमा निर्माण गरिने पर्यटन विकास समितिका संयोजक जुमबहादुर गुरुङ्ले जानकारी दिए।

Facebook Comments Box
TOP