बिरुवा गाउँपालिकाकाे प्रशासकीय भवनको शिलान्यास ।

 १ कार्तिक २०७७, शनिबार ११:०८   | आँधीखोला समाचार डेस्क

बिरुवा गाउँपालिकाकाे प्रशासकीय भवनको शिलान्यास ।

बिरुवा : बिरुवा गाउँपालिका स्याङजामा मुख्य प्रशासकीय भवनको शिलान्यास भएको छ । आज एक विशेष कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माद्वारा उक्त भवनको शिलान्यास भएको हो। बिरुवा गाउँपालिकामा हालसम्म अस्थायी प्रशासकीय भवन बाट सेवा सञ्चालन भइरहेकाे थियो । जिल्लाको उत्तर पूर्वमा रहेको यस गाउँपालिकामा आधुनिक प्रशासकीय भवनको निर्माणसँगै सेवा प्रवाहमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का गत आर्थिक वर्षमा सम्पन्न भएको हो ।

सम्झौताअनुसार गीता एंड क्रियटिभ जेभीले उक्त भवन निर्माण गर्नेछ । २०७७ असारमा भएको सम्झौताअनुसार १४ महिनाभित्र उक्त भवनको निर्माण कार्य सम्पन्न हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीका अनुसार ७,५९, ७६, ०८८ रुपैयाँको कुल लागतमा प्रशासकीय भवन बन्न लागेको हो । उक्त भवन निर्माणकोलागि गत आर्थिक वर्षमा संघीय सरकारबाट रु २० लाख र प्रदेश सरकारबाट रू ५० लाख रुपैयाँ अनुदान स्वरुप प्राप्त भएको थियो । यसैगरी यस आर्थिक वर्षमा गाउँपालिकाले रु दुई करोड रुपैयाँ समेत विनियोजन गरेको छ। उहाँका अनुसार थप रकमको लागि संघीय सरकार तथा प्रदेश सरकारद्वारा बचनबद्धता समेत प्राप्त भइसकेको छ ।

प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण सँगै सेवा प्रवाह थप चुस्त तथा दुरुस्त हुने समेत आशा गरिएको बताउनु भयो । गाउँपालिका अध्यक्ष शर्माले साविकको कृषि विकास कार्यालय द्वारा गाउँपालिकामा हस्तान्तरण भएको १४ रोपनी जग्गामा गुरुयोजना बनाई प्रशासकीय भवन निर्माणको सुरुवात भएको बताउनुभयो। उहाँका अनुसार प्रारम्भमा प्रशासकीय भवन मात्र निर्माण हुने र थप बजेट को जोहो भएसँगै कर्मचारीहरूको लागि आवासीय भवनहरू लगायत आवश्यकतानुसार अन्य भवनहरुको समेत निर्माण हुनेछन् । आफ्नै कार्यकाल भित्र भवन निर्माण सम्पन्न हुने अपेक्षा गरेको ऊँहाले बताउनुभयो । यसै कार्यकालमा सुविधासम्पन्न भवन निर्माण भए सँगै आउने कार्यकालका जनप्रतिनिधिलाई विकास निर्माण कार्यमा मात्र केन्द्रीकृत भई काम गर्न सहज हुने गाउँपालिकामा प्रवक्ता एवं वडानम्बर ८ का वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति युवराज केसीले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभयो । यसैगरी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नारायण थापाले नयाँ भवनको निर्माणसँगै सेवा प्रवाहमा प्रभावकारिता आउने अपेक्षा समेत गरेको बताउनुभयो । सम्झौता अनुसार काम भएमा २०७८ असोज मसान्त भित्रमा निर्माण सम्पन्न हुने छ ।

Facebook Comments

अन्तिम अपडेट: १ कार्तिक २०७७, शनिबार ११:०८





-->