पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

तोलाकान्त बगाले/वालिङ :

पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ १४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिँदा नौ जनाको ज्यान जानुकासाथै घरबासै उठको थियो । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् ।

पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माईला छोरा भोजराज नेपाली रोजगारीको शिलशिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहेका स्थानीय टीकाराम लुईटेलले बताउनुभयो ।

माईला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन् ।

“पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका अन्य सदस्यहरुलाई पनि लग्यो” मनिषाले भन्नुभयो, “दिदीको बिहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो, दाई विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ” ।

बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै काजक्रिया गरिएको छोरी मनिषाले बताउनुभयो ।

“घरमाथिपट्टिको डाँडो चर्किएकोले जतिबेला पनि खस्न सक्ने भएकाले हामी पानी परेका रातको समयमा छिमेकीकोमा बस्दै जान्थ्यौं” मनिषाले भन्नुभयो, “त्यो राति पनि मैंले छिमेकीको जान अनुरोध गरेँ तर दाजुहरुले मान्नुभएन बिहान पख सबैलाई पु¥यो, म उठेर बाहिर निस्कन लाग्दा मलाई नि ढोकैमा शरीरको केही भागसम्म पु¥यो” ।

“घटना हुँदाका बेला उक्त घरमा दश जना थिए” स्थानीय लुईटेलले भन्नुभयो, “पहिरोमा पुरिएर नौ जनाको घटनास्थलमै ज्यान गयो, मनिषालाई भने हामीले जीवितै उद्धार गर्न सक्यौं” ।

घाईते अवस्थामा उद्दार गरिएकी मनिषाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारपश्चात घर फर्किनुभएको हो । मनिषाको सम्पूर्ण खर्चको ब्यवस्था वालिङ नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । नगरपालिकाले विपदको घटनामा परी कुनै ब्यक्तिको मृत्यु भएमा प्रति मृतक रु. १० हजार परिवारलाई उपलब्ध गराउने, घर पूर्णरुपमा क्षति भएमा रु. १० हजार, खाद्यान्न बाली जग्गा जमिन नष्ट भएमा रु. ५ हजार, घर आंशिकरुपमा क्षति भएमा रु. ७ हजार, गोठ नष्ट भएमा रु. ५ हजार, घटनामा परी घाईते हुनेहरुलाई उपचारका लागि अस्पताल जान आउन यातायात खर्चवापत रु. ३ हजार र विपदका कारण दुहुनो गाईभैंसी मरेमा प्रति पशु रु. ८ हजार र दुध दिन योग्य गाई भैंसी भएमा रु. ५ हजार, खसी बोका र माउ बाख्रा भएमा रु. ३ हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

Facebook Comments Box
TOP