स्याङ्जामा फेरी थपियो लकडाउन,निशेधाज्ञा यथावत, रातीमा आवतजावत गर्न नपाईने ।

स्याङ्जा :
स्याङ्जामा कोरोना सक्रमण बढेपछि यसअघि जारी गरिएको लकडाउनलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बढाएको छ । यो भन्दा अगाडि अर्काे आदेश नभए सम्मका लागि जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको छ ।
लकडाउनको समयअवधि आज शुक्रवारबाट सकिदै थियो तर डिसिसिएमसिको बैठकले बढ्दो सक्रमणलाई मध्यनजर गर्दै २३ गतेबाट पुन २९ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जारी गर्नु भएको सूचनामा साउन २९ गतेसम्म अत्यावश्यक बाहेकका वस्तु तथा सेवा प्रवाह नगर्न नगराउन भनिएको छ ।
त्यस्तै राति ९ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न निषेध गर्ने गृह मन्त्रालयको आदेश अनुसार जिल्लामा समेत प्रशासनले आवतजावतमा प्रतिवन्ध लगाएको जनाईएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सूचनामा यो निर्णयको अवज्ञा गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड विपरित भेटिएमा कारवाही गर्ने स्पष्ट पारेको छ ।
प्रशासनले सार्वजनिक स्थलमा मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने नगराउने, भेला, गोष्ठी, सेमिनार, भोजभतेरलगायतका निषेधित क्रियाकलाप गरेको पाईए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
यसअघि साउन १३ गतेको बठैकले १० दिने लकडाउन गर्ने निर्णय गरेको थियो ।
स्याङ्जामा हाल सम्म दुई सय ८२ जनामा कोरोना संक्रमण भएको छ भने एक सय ९८ जना निको भएर घर फर्केका छन त्यस्तै दुई जना संक्रमिको ज्यान गएको छ ।
जिल्लामा सुरक्षाकर्मी,सर्बसाधारण, आईसोलेशनमा काम गर्ने कर्मचारी लगायतमा कोरोना संक्रमण देखिएको छ ।
.

समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…