स्याङ्जा कोरोनाको उच्च जोखिममा

Syangja_district


प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जा कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सहित ३८ प्रहरी, एक थुनुवा एक नाबालक र गल्याङ्मा एक प्रहरी र औषधी व्यवसायीमा कोरोना संक्रमण देखिएपछि स्याङ्जा कोरोनाको उच्च जोखिममा परेको हो ।

प्रहरी र औषधी व्यवसायीको नागरिक स्तरमा प्रत्यक्ष सम्पर्क हुने भएकाले संक्रमितबाट कोरोना भाइरस समुदायमा फैलिएको आशंका गरिएको छ । आशंकासँगै स्याङ्जाको सदरमुकाम पुतलीबजार र गल्याङ् नगरपालिका १० दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ भने जिल्लालाई आंशिक रुपमा ‘सिल’ गरिएको छ ।

कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड अपनाउन आग्रह गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री भन्छन्, “नागरिक स्तरबाट पनि कोरोना बिरुद्ध सचेतना अपनाउँदै संक्रमणको जोखिमलाई कम गर्नुपर्छ ।” नागरिकको सेवामा खटिएका सुरक्षाकर्मीलाई कोरोना देखिएपछि सरकारका तर्फ गर्न सक्ने सबै सर्तकता अपनाएको क्षेत्रीले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत सामान्य रुखाखोकि लागेका तीन जना प्रहरीमा पिसिआर परीक्षण गर्दा तीनै जना संक्रमित भेटिएको हो । उनीहरु संक्रमित भएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी, विभिन्न तहका प्रहरी, उनका परिवार र थुनुवा सहित १ सय २ जनाको स्वास्थ्य परीक्षण गर्दा ३८ प्रहरी २८ महिनाको एक नाबालक र एक थुनुवामा कोरोना संक्रमण भेटिएको थियो ।

“संक्रमितलाई जिल्लाका विभिन्न स्थानमा रहेका आईसोलेसनमा लगेर स्वास्थ्य सुरक्षा सहित राखिएको छ ।” जिल्ला प्रहरी कार्यालयका प्रबक्ता तथा डिएसपी राजेन्द्रप्रसाद अधिकारीले भने, “ संक्रमण देखिएपछि आईसोलेसनमा राखिएका सबै साथीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।” संक्रमित प्रहरी मध्ये दीर्घरोगी र अन्य रोगबाट ग्रसित नभएको अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका ३ दिन अघिदेखि पूर्ण रुपमा बन्द गरिएको छ । संक्रमण समुदायमा गएको आशंकासँगै पुतलीबजारलाई अत्यावश्यक काम बाहेकका लागि बन्द गरिएको हो ।

४ दिनअघि जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित प्रहरी संक्रमण देखिएपछि पिसिआर परीक्षणको दायर फराकिलो बनाउँदै लग्दा गल्याङ् प्रहरी चौकीमा कार्यरत एक प्रहरी र एक औषधी व्यवसायीमा कोरोना संक्रमण देखिएपछि गल्याङ् नगरपालिका साउन २४ सम्मका लागि सिल गरिएको छ । गल्याङ् नगरपालिका सिल भएसँगै प्रदेश नं. ५ बाट राम्दी नाकाबाट भित्र्ने अत्यावश्यकका सवारी साधन बाहेक अन्य सवारीहरु पूर्ण रुपमा बन्द गरिएको छ ।

“प्रहरी र औषधी व्यवसायीमा कोरोना संक्रमण देखिएसँगै स्वास्थ्य सजकता अपनाउँदै आफ्नो काम गर्न जिल्लावासिलाई आग्रह गरिएको छ ।” स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले भने, “कोरोनाबाट त्रसित भैहाल्ने अवस्था त छैन् तर सजकता अपनाउन पर्छ ।” कोरोना संक्रमण समुदायमा गईसकेको त छैन तर त्रसित होईन सुरक्षित हुन् उनले आग्रह गरेका छन् ।

संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ्ग र स्वाब लिने काम भईरहेको स्वास्थ्य प्रमुख शर्माले बताए । शर्माका अनुसार कन्ट्रयाक ट्रेसिङ्गमा पर्नेहरुको खोजि कार्य र भेटिएकाको स्वाब लिने कामलाई तिव्रता दिइएको छ । आशंका त छ तर संक्रमण समुदायमा पुगि नसकेको शर्माले दाबी गरे ।

कोरोना संक्रमितहरु अन्य जिल्लाबाट आएका नभएर जिल्लामै क्रियाशिल रहेका प्रहरीमा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । सरुवा, बढुवा भएर आउने र जाने भएको छैन् तर जिल्ला भित्रै काम गर्दा प्रहरीहरु संक्रमित भएको प्रहरी कार्यालयको भनाई छ । प्रहरीका अनुसार प्रहरीमा संक्रमण बढ्दै जाँदा कार्यालयका दैनिक काम र सुरक्षा व्यवस्था समेत प्रभाबित भएको छ ।

समुदायमा संक्रमण फैलिएको छैन् र नागरिकहरु सुरक्षित छन् भन्ने ग्यारेन्टी गर्न संक्रमण देखिएका पालिकामा एक घर, एक व्यक्तिको पिसिर गर्न स्थानीयले माग गरेका छन् । पुतलीबजारका स्थानीय सुमन गुरुङ्ले भने, “हामीले एक घर, एक व्यक्तिको पिसिआर परीक्षण गर्न माग गरेका छौं, तर कतैबाट सुनुवाई भएको छैन् ।” पिसिआर परीक्षणको दायरा फराकिलो बनाउनेबारे छलफल भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Facebook Comments Box
TOP