स्याङ्जामा तीन जनाले कोरोना जिते, तीन जना सङ्क्रमित थपिए

corona update

स्याङ्जा : स्याङ्जामा शनिवार ३ जनाले कोरोना जिते भने ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा उपचाररत ३ जनाले कोरोना जितेका हुन्। असार ८ गते र १३ गतेदेखि आइसोलेसनमा राखिएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले घर पठाएको हो ।

कोरोना जितेर घर जानेमा अर्जुनचौपारी गाउँपालिकाका २ जना र गल्याङ नगरपालिकाका एक जना हुन। उनीहरु क्रमश : ३१, २० र २६ वर्षका पुरुष हुन्। यसैगरी, वालिङ र चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेका उनीहरुका पिसिआर टेष्ट शनिवार पोजिटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनु भयाे ।

क्षयरोग केन्द्र पोखरामा गरीएको परीक्षणमा वालिङका २० वर्षीय, चापाकोटका २९ वर्षीय र  कालीगण्डकीका १९ वर्षीय पुरुष हुन्। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ। ती मध्ये २ जनाको मृत्यु भएको छ भने १ सय ३१ ले कोरोना जितेर घर फर्केका छन्। बाँकी संक्रमित भीरकोटस्थित कालिका अस्पतालमा, वालिङ स्थित कुँवर समाज भवनमा, गल्याङस्थित गल्याङ अस्पताल र पुतलीबजार स्थित करेण्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा उपचाररत छन्।

Facebook Comments Box
TOP