वालिङ नगरपालिकाद्वारा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक ।

तोलाकान्त बगाले /वालिङ :

वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वालिङ नगर कार्यपालिकाको आज बसेको बैठकमा नगर प्रमुख दिलीपप्रताप खाँणले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

वालिङ नगरपालिकाले ‘समृद्ध वालिङ सुखी वालिङबासी’ को आकांक्षा पूरा गर्न महामारीका कारण समग्र सामाजिक, आर्थिक पक्षमा परेको प्रतिकुलता समेतलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेको हो ।

नगरपालिकाले अर्थतन्त्रको संरचना परिवर्तन र आयमा कमी आउने, विकास साझेदारहरुको स्रोत साधन परिचालनको क्षमता, प्राथमिकता र क्षेत्र फरक हुन सक्ने अवस्था भएकाले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने ब्यवस्था मिलाईने बताईएको छ ।

नीति तथा कार्यक्रममा आर्थिक क्रियाकलाप, कृषि औद्योगिक उत्पादन, रोजगारी सिर्जना, उत्पादनशिल क्षेत्र, विकास निर्माण कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदिई सुचारु गरी तिब्रता दिने उल्लेख गरिएको छ । कोभिड १९ को रोकथामका लाग अपनाउनु पर्ने स्वास्थ्य सजगकताका ब्यवस्थाहरु गरिनुकासाथै परीक्षणको दायरालाई ब्यापक बनाउने नीति लिईएको छ । नगरमा रहेका बेरोजगारहरको तथ्यांक संकलन गरी अभिलेख ब्यवस्थापन गर्नुका साथै स्वरोजगार तथा आत्मनिर्भर हुने गरी कृषि, पशुपालन, उद्योग ब्यवसायको ब्यवसायीकरणमा विशेष प्राथमिकतासहित कार्यक्रम सञ्चालन गरी वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार युवाहरुलाई प्राथमिकता दिने उल्लेख छ ।

.

त्यस्तैगरी नगरपालिकाले स्वास्थ्यसम्बन्धी नीति, शिक्षासम्बन्धी नीति, कृषिसम्बन्धी नीति, पर्यटनसम्बन्धी नीति, उद्योगसम्बन्धी नीति, यूवा तथा खेलकूद नीति, सहकारी तथा अन्य वित्तीय क्षेत्रसँग सम्बन्धी नीति, सामाजिक विकाससम्बन्धी नीति, खानेपानी तथा सरसफाई सम्बन्धी नीति, संस्कृति प्रवद्र्धनसम्बन्धी नीति, पूर्वाधार विकास सम्बन्धी नीति, सिञ्चाईसम्बन्धी नीति, भवन तथा शहरी विकास सम्बन्धी नीति, उर्जा लघु तथा साना जलविद्यूत सम्बन्धी नीति, सञ्चारसम्बन्धी नीति, वन वातावरण तथा भू संरक्षणसम्बन्धी नीति, जलाधार संरक्षण तथा जलवायू परिवर्तनसम्बन्धी नीति, सरसफाई फोहोरमैला ब्यवस्थापनसम्बन्धी नीति, प्रकोप नियन्त्रण र विपद ब्यवस्थापनसम्बन्धी नीति, वारुणयन्त्र सञ्चालनसम्बन्धी नीति, सुशासन तथा संस्थागत विकाससम्बन्धी नीति, मानव संसाधन विकास सम्बन्धी नीति, संस्थागत क्षमता विकास सम्बन्धी नीति, राजश्व परिचालनसम्बन्धी नीति, सेवा प्रवाहमा विद्युतीय सूचना प्रविधिको प्रयोगसम्बन्धी नीति, स्मार्ट सिटी आईसिटी सम्बन्धी नीति तथा कार्यक्रमहरु आज सार्वजनिक गरिएको छ ।

नगर प्रमुख खाँणले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमहरुमा वालिङको शहरी क्षेत्रलाई स्मार्ट सिटी र ग्रामीण क्षेत्रलाई स्मार्ट भिलेजकोरुपमा विकास गरिने, विद्यालय तथा सार्वजनिक स्थलहरुमा वाईफाई विस्तार गरिने, नगरपालिकाले गर्ने कार्यहरुमा आईसिटी र आईओटी को प्रयोग गरी सेवाग्राहीमैत्री बनाईने, छिमेकी देशका नगरपालिकाहरुसँग भगिनी सम्बन्ध गाँसिने, सामाजिक सुरक्षा भत्तालाई अझ ब्यवस्थित गर्ने तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई थप उपचार खर्च प्रदान गरिने, ब्यक्तिगत घटना दर्तालाई तोकिएकै समयमा गर्ने वातावरणको सिर्जनाका लागि स्वास्थ्य संस्थामा जन्म भई ३५ दिन भित्र जन्म दर्ता मृत्यु दर्ता गर्दा रु. पाँचसय प्रोत्साहन भत्ता उपलब्ध गराउने नीति अवलम्बन गरिने, मादक पदार्थ तथा मदिरा विक्री वितरणका लागि निश्चित समय तोकिने, हरेक वडामा स्थापित मेलमिलाप केन्द्रलाई थप प्रभावकारी बनाईने छ । त्यस्तैगरी नगरको बृहत्तर हितका लागि औद्योगिक क्षेत्र, हेलिप्याड, हवाई मैदान, पार्क, खेलमैदान, रंगशाला र रिसोर्टजस्ता कार्यहरुका लागि र थप अन्य नगरपालिकास्तरीय महत्व प्रदेशस्तरीय महत्व र संघ स्तरीय महत्वपूर्ण कार्यहरुका लागि आपसी सल्लाहद्वावार वा जग्गा प्राप्ति ऐन अनुसार आवश्यक पर्ने जग्गाहरु नगरपालिकाले खरिद गर्ने, प्रदेश र संघीय सरकारसँग सहकार्य, समन्वय र सह अस्तित्वको आधारमा सुमधुर सम्बन्ध स्थापित गरी विकास निर्माण गर्ने, काठका पोलहरु विस्थापित गरी फलामका पोलहरु ब्यवस्थापन गर्दै बिजुलीको सेवा नपुगेका घरधुरीहरुलाई बिजुली पु¥याउने, बिजुलीका तारहरुलाई दीर्घकालीन ब्यवस्थापनका लागि शहरी क्षेत्रमा जमिनमुनीबाट लाईन विस्तार गर्न विद्युत प्राधिकरणसँग सहकार्य गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

राजनीतिक सामाजिक तथा आर्थिक उपलब्धीलाई संरक्षण गर्दै थप उन्नत बनाउने वालिङको हित, गौरब, सम्मान र स्वाभिमान बृद्धि गर्ने र सबैसँगको सम्बन्धमा सुदृढ गर्ने, महामारीबाट प्रभावित सामाजिक आर्थिक क्षेत्रहरुलाई पुर्नजीवन दिई विकास निर्माणलाई तिब्रता दिने अठोटका साथ आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

“आज कार्यपालिकाको बैठकबाट आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रमहरु थपघट गर्न सकिने भएकाले अध्ययन गरेर पूरा हुन सक्ने नीति तथा कार्यक्रमहरु समावेश गरिने र पूरा गर्न नसकिने महत्वाकांक्षी देखिने योजनाहरुलाई आगामी बैठकमा छलफल गरी कटौति गरी कार्यान्वयनकालागि अगाडि बढिने छ ।”

आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्राथमिकताका आधारमा योजनाहरु अगाडि बढाउने नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।

आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी र नगरको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने नीति तथा कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिंदै अगाडि बढ्ने उप प्रमुख तिवारीको भनाई थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले सबै नगरबासीको सामूहिक पहलबाट नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सहजता हुने बताउनुभयो ।

Facebook Comments Box
TOP