पर्बतको पहिरो : एउटै चितामा जले दम्पती

कुश्मा : चन्द्र शमशेरले १९७७ सालमा सती प्रथामा बन्देज लगाएपछि त्यस्ता घटना विरलै सुनिन्थे। तर, सोमबार पर्वतको मोदीवेणी घाटमा भएको घटनाले सती प्रथाकै झल्को दिइरहेको थियो। श्रीमान्– श्रीमती एउटै चितामा जलिरहेका थिए।

पहिरोले पुरिँदा ज्यान गुमाएका तुलबहादुर थापा र उनकी   श्रीमती मीनकुमारीलाई एउटै चितामा राखेर दाहसंस्कार गरिएको हो। कुश्मा नगरपालिका–३ दुर्लुङको काउलेमा शनिबार राति पहिरोमा पुरिएर दुई परिवारका ८ जनाको मृत्यु भएको थियो। सँगै मर्ने र सँगै बाँच्ने वाचाकसम खाएर झन्डै चार दशकअघि विवाह गरेका थापा दम्पती अन्ततः एउटै चितामा जलेर खरानी बने। उनीहरूलाई १ छोरी, १ नातिनी र २ नातिहरूसँगै विनाशकारी पहिरोले लगेको थियो।

थापा दम्पतीको चितासँगै थिए, नातिनी विदिशा र नाति सम्राटका चिता पनि। यस्तो वीभत्स दृश्य देखेर मलामी गएकाहरू भावविह्वल देखिन्थे। कसैका आँखा ओभाना थिएनन्। घाटमा चिता बनाउनेका हात काँपिरहेका थिए। आफन्त र गाउँलेहरू ठूला ढुंगाको लुकेर रुँदै गरेका देखिन्थे। कोही डाँको छोडेर रुँदै थिए त कोही गहभरि आँसु पार्दै।

६ जनाको अन्त्येष्टिका लागि लहरै बनाइएका चिता देख्दा मन थाम्न सक्ने अवस्था नरहेको स्थानीय याम शर्माले बताए। कलिला बालबालिकालाई चितामा राख्दा कसैले मन थाम्न नसकेको उनको भनाई छ।

त्यहाँ रहेकाहरू ‘शत्रु लागोस तर दैव नलागोस’ भन्दै भावविह्ल बनिरहेका थिए। बाबुआमा र छोराछोरीलाई एकैपटक दागबत्ती दिनुपर्दा तुलबहादुरका छोरा अम्मरबहादुर होसमा थिएनन्।

मलामी गएका स्थानीय सूर्यबाबु गिरीले तुलबहादुर र मीनकुमारीको मृत्यु एकै दिन एकै ठाउँमा भएकाले आफन्तको सल्लाहमा एउटै चितामा जलाइएको बताए। छोरा अम्मरबहादुरले एउटै चितामा जलाउँदा ‘बाबुआमाको सपना पूरा हुने’ बताएका थिए।

विनाशकारी पहिरोमा ज्यान गुमाएकामध्ये थापा परिवारका चार र कमला विक र उनकी छोरी प्रमिशालाई मोदीवेणी घाटमा सामूहिक दाहसंस्कार गरियोे। कमला र प्रमिशालाई जेठाजु चक्रबहादुर विकले दागबत्ती दिए। कमलाका श्रीमान् विकास विक साउदी अरबमा छन्। तुलबहादुरकी छोरी दिर्पा र छोरीतर्फका नाति विवेकलाई उनीहरूको घर बागलुङको थन्थापतर्फ पठाएर जैमिनी घाटमा दाहसंस्कार गरियो।

पहिरोमा पुरिएका नौ जनामध्ये कमलाका १२ वर्षिय छोरा जेनिस अझै फेला पर्न सकेका छैनन्। शनिबार रातिदेखि निरन्तर सुरक्षाकर्मी, स्थानीय र मंगलबार दिउँसो तालिमप्राप्त कुकुरमार्फत खोजी गरिए पनि अझै पत्ता नलागेको हो।

दुई परिवारका ६ जनालाई एकै ठाउँमा जलाएको घटना जिल्लामै पहिलो भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए। यस्तो हृदयविदारक घटनाले सिंगो गाउँवासीलाई रुवाएको उनको भनाइ छ। थापा परिवार काउले गाउँमा बस्न थालेको डेढ दशक मात्रै भएको थियो। दुर्लुङ ढकालबारीमा जन्मिएका तुलबहादुरले जन्मथलोमा सधै पहिरोको जोखिम भएपछि सुरक्षा खोज्दै गाउँको समथर जमिन भएको काउलेमा वासस्थान बनाएका थिए।

पल्लो ढकालबारीमा रहेको घर भएको जमिन सधै कोल्टे पर्ने र ढल्कने समस्या थियो। पहिरोको उच्च जोखिम भएकाले तुलबहादुरले परिवारलाई सुरक्षित बनाउन काउले गाउँमा २०६२ सालमा घर बनाएका हुन्। ‘पहिरोको डरले परिवारलाई जोगाउन जन्मथलो छाडे। बाउबाजेको थातथलो छाडेर किनेको जमिनले पनि उनको परिवारलाई बचाउन सकेन’, स्थानीय प्रभु गुरुङले भने, ‘दैवको खल यस्तै रहेछ।’

बेपत्ताको खोजी

सोही पहिरोमा बेपत्ता बालकको खोजीका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ। १२ वर्षीय जेनिश बिकको खोजीका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर खोजी थालिएको हो। जिल्ला प्रहरी पर्वतका प्रमुख बिश्वराज अधिकारीले तीन दिनसम्म खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न नसकेपछि तालिमप्राप्त कुकुर प्रयोग गरिएको बताए।

उक्त पहिरोले पुरिँदा ५३ वर्षीय तुलबहादुर, उनकी ५२ वर्षीया पत्नी मीनकुमारी, छोरी ३४ वर्षीया दिर्पा, नातिहरू १५ वर्षीय विवेक र १४ वर्षीय सम्राट तथा नातिनी ११ वर्षीया विदिशाको मृत्यु भएको थियो । तुलबहादुरकै छिमेकी कमला विक र उनकी आठ वर्षीया छोरी प्रमिशाले पनि ज्यान गुमाएका थिए । कमलाका छोरा जेनिश बेपत्ता छन । अन्नपुर्णपोष्ट दैनिकमा समाचार छ ।

Facebook Comments Box
TOP