स्याङ्जाका जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म-कोरोनाले रोजगारी गुमाएकाहरुका लागि उदाहरण(भिडियो सहित)

स्याङ्जा : वालिङ नगरपालिका वडा नम्बर ९ का वडा सदस्य दीपक श्रेष्ठको बिहान सबेरैबाट सुरु हुन्छ कृषि कर्म । एकाबिहानैबाट सुरु भएको उहाँको कृषि कर्म साँझ अबेरसम्म जारी रहन्छ । श्रेष्ठले आफ्ना साथी केशव श्रेष्ठसँग मिलेर खोल्नुभएको फार्ममा हाँस, कुखुरा, टर्की, खरायो र बटहीलगायतका पशुपन्छीका साथमा माछा समेत पालिएको छ ।  

श्रेष्ठले ३८ रोपनी जग्गा १० वर्षका लागि लिजमा लिएर काम सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘फार्म सञ्चालनका लागि हाम्रो ७५ लाख लागत लागेको छ ।’ ‘पोखरा, बुटवल र चितवनलगायतका ठाउँबाट माग आएको थियो । तर लकडाउनले समस्यामा पार्यो,’ सञ्चालक श्रेष्ठले भन्नुभयो, ‘प्रमाणित गरेर लकडाउनको बीचमा हामीले हाँसका ६ सय चल्ला पोखरा पठाएका छौँ ।’

.

मासिक २ लाख नाफा कमाइ गर्ने लक्ष्य राखेको बताउँदै सञ्चालक श्रेष्ठ भन्नुहुन्छ, ‘आर्थिक उपार्जन र बचतका लागि हामी आफैँ काममा खटिरहेका छौँ ।”
श्रेष्ठले कुरा मात्रै गरेर नहुने भन्दै राम्रो आम्दानीका लागि आफैँ काममा खट्नुपर्ने स्पष्ट पार्नुभयो । आफूहरुबाहेक ४ जना कर्मचारीले दैनिक काम गरिहेको भन्दै श्रेष्ठले आफूहरु चौबिसै घण्टा खटिरहेको बताउनुभयो । 

‘सुरुमा हामीले प्राविधिक सहयोग कहीँकतैबाट पाएका थिएनौँ । तर काम गर्न सुरु गरेपछि सबै ठाउँबाट सहयोग प्राप्त भइरहेको छ,’ श्रेष्ठले भन्नुभयो । नगरपालिकाले राम्रो सहयोग गरिरहेको उहाँको भनाइ छ । नेपालमा नै मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकिने भन्दै श्रेष्ठले कोरोना भाइरसको कारण रोजगारी गुमाएकाहरुलाई नआत्तिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा धेरै सम्भावना छ । धेरै ठाउँमा जग्गा बाँझो पनि छन् । ती ठाउँमा कृषि कर्म गर्न सकिन्छ ।’

.

आफ्नै जग्गा नभएपनि गाउँघरमा बाँझो रहेका जमिनहरु लिजमा लिएर काम गर्न उहाँले युवाहरुलाई आग्रह गर्नु भयो । जग्गा व्यवस्थापन र उपलब्धताका लागि राज्यले सहयोग गर्नुपर्ने उहाँको जोड छ । फार्ममा हाल १५ सय हाँस, विभिन्न प्रजातिका एक हजारभन्दा धेरै कुखुरा, २ हजार बटही, १ लाख ४० हजार माछा, टर्की र खरायोलगायतका पशुपन्छी पालिएका छन् । लकडाउन भएपनि माछा, हाँस, कुखुराको मासु, हाँस र बटहीको अण्डा लिन वालिङ बजारबाट ग्राहकहरु फार्मसम्म आउने गरेका उहाँले बताउनुभयो । 

भिडियो : वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण

यो पनि हेर्नुहोस् :

स्याङ्जामा आज पनि थपिए १४ जना संक्रमित, स्याङ्जामा मात्रै ३७ पुग्यो ।

Facebook Comments Box
TOP