घरमै बसेर नमाज, सामाजिक सञ्जालबाट शुभकामना
भवानी अधिकारी/स्याङ्जा : रमजान महिनाको अन्त्यमा मनाइने मुस्लिम समुदायको प्रमुख पर्व इदुल फित्रका सोमबार घरघरमै नमाज पढेर मनाइएको छ । मस्जिदमा गइ सामुहिक नमाज पढ्ने र शुभकामना लिन आफन्तकहाँ प्रचलन रहे पनि यसपटक भने सबैले आ-आफ्ना घरमा बसेर नमाज पढ्ने र सामाजिक संजालमार्फत शुभकामना आदानप्रदान गरेका छन् ।
गतवर्ष पुतलीबजार नगरपालिका ३ वाडखोलाको नुरी स्लामिया जामे मस्जिद परिसरमा ३ सय जनाले एकसाथ इदको नमाज पढेर रोजा अन्त्य गरेको स्मरण गर्छन् बाडखोला मस्जिदका धर्म गुरु इमाम रमजान मिया । सबैजना एक साथ रमाउँदै वर्षभरिका दु:ख बिर्संदै खुशियाली मनाउने दिन यसरी एक्लै खुम्चिएर मनाउनुपर्दा नरमाइलो लाग्नु स्वाभाविक ठान्छन् मुस्लिम समाजका वरिष्ठ उपाध्यक्ष अलि मिया पनि । विगतका वर्षमा सयौंले एकसाथ पढेर मनाउँदै आएकोमा यसपालि मस्जिदमा ७ जना मात्र थिए ।
विगतका धेरै वर्षहरू मस्जिदमा समाजका सबैजना सामुहिक बसेर नमाज पढेर मनाइने रमजान यसवर्ष भने कोरोना भाइरस संक्रमणका कारण त्यसरी मनाउन पाइएको छैन । महिनाभर खचाखच भरिने मस्जिद प्राय बन्दै रह्यो । धर्म गुरु लगायत २-३ जनाले नियमित नमाज पढे पनि सबैजना घरघरमै बसेर नमाज पढेका हुन् ।
इस्लामि पात्रो हिजरी सम्वतको नवौं महिनाको एक महिना स्लाम धर्मावलम्बी रोजा (व्रत) बस्ने गर्छन् । रोजाको दिन आज सोमबारबाट सकिंदैछ । धार्मिक नियमप्रति कटिवद्ध मुस्लिम समुदायका ससाना बालकदेखि वृद्धसम्म दिनभर निराहार रोजा बस्ने गर्छन् । दशौँ महिना सौवालको पहिलो दिन सोमबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठसहित शुभकामना आदानप्रदान र ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाइने गरेको गण्डकी प्रदेश मुस्लिम संघका सभापाति शाह मोहम्मदले बताए ।
‘अन्तिम दिनको विशेष नमाजपछि ३ दिन आफन्तकहाँ गएर आशीर्वाद लिने चलन हो । अहिले भने त्यस्तो रहेन । नजिकका घरमा पुगे पनि अन्य आफन्तसँग भने टेलिफोन र इन्टरनेटका माध्यमबाट रमजानको आर्शीवाद लिने र दिने भएका छौं’,उनले भने ।
एक महिनासम्म दिनभर भोकै रोजा बसेर दिनमा र साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । रोजा गर्नेहरु बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि तोकिएको समयमा मात्र खाना खान्छन् । एक महिने रोजा चन्द्रमा देखिएपछिमात्र अन्त्य गरिन्छ । रोजाले आत्मशुद्धी साथै कुकर्मबाट बचाउने धार्मिक विश्वास मुस्लिम समुदायको छ । महिनाभर पटक-पटक अल्लाहको ध्यान गर्दै नमाज पढ्ने र विपन्न तथा गरिब परिवारलाई सहयोग गर्ने चलन छ । वर्षभरि कमाएको मुनाफाको केही प्रतिशत रकम छुट्याएर विपन्न परिवारलाई दिने गर्छन् । प्रति ब्यक्ति कमाइको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने धर्मग्रन्थ कुरानमा उल्लेख छ।
लकडाउनका कारण यसवर्ष स्याङजाका एक दर्जन मस्जिद पनि थोरै उपस्थितिमा इदको नमाज पढेर रोजा समापन गरिएका छन् । धार्मिकस्थलमा पुग्न नपाएका मुसलानहरुले घर-घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इदउल फित्र मनाउँदै छन् । गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको रोजा सुरु भएको थियो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…