स्याङ्जा : क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी, सामाजिक दूरी कसरी ?

भवानी अधिकारी/स्याङ्जा : जताततै सामाजिक दूरीका प्रसंग चलिरहदा जिल्ला कारागार शाखा भने पहिलाको जस्तै देखिन्छ। यी कुरालाई शाखाले कार्यान्वयन गर्न सकेको छैंन। सामाजिक दुरी त परै जावस् हात सफा गर्ने सेनीटाइज्ड लगायत सामान्य मास्क लगायतका समाग्री पनि कारागार शाखामा छैन।

स्याङ्जा कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएका छन्। विभिन्न अभियोगमा सजायँ भोगिरहेका विभिन्न समुदाय र उमेर समूहका, विभिन्न रोग लागेका कैदीबन्दीहरुलाई एक्कै ठाउँ राखिएको छ। यसरी एकै ठाउँमा खादिएर राख्नुपर्दा धेरै दुःख लागेको कारागार शाखा प्रमुख चुडामणी भण्डारी बताउछन्।

अहिले कोरोना संक्रमण फैलिँन नदिनका लागि सबै क्षेत्रमा सामाजिक दूरीको आवश्यता रहेको छ।  अवस्था जटिल भएपनि कारागारको बजेट नहुँदा कैदीबन्दीलाई आवश्यक पर्ने मास्क, सेनिटाइजर समेत दिन नसकेको कारागार शाखा प्रमुख  भण्डारीको गुनासो छ। अघिल्लो महिना केही दाताले मास्क र सेनिटाइजर उपलब्ध गराएको उनले जानकारी दिए।

 कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सामाजिक दूरी सजिलो र भरपर्दो तरिका हो भनिएको छ। संक्रमित व्यक्तिको नजिक आउँदा उसको मुख तथा नाकबाट निस्कने छिटाले भाइरस सर्ने उच्च जोखिम रहने चिकित्सकले बताउादै आएका छन्। कोरोना संक्रमण भएको हातले मुख वा नाकमा छुँदा त्यसैको माध्यमबाट कोरोना सर्ने गर्छ। जस्लाई न्यूनिकरण गर्न पटक पटक हात धुने र सेनीटाइजर प्रयोग गर्नुपने हुन्छ।

जीर्ण अवस्थाको कारागारमा क्षमताभन्दा तेब्बर भन्दाबढी कैदीबन्दी भएपछि यहाँका बस्ने र सुत्ने ठाउँको अभाव छ। ३५ बन्दीको क्षमता भएको कारागारलाई बिस्तार केही वर्षअघि गरी ५० पुर्‍याइएको थियो। कारागारका बरण्डा, बन्दीलाई भेट्ने स्थान र भान्सालाई समेटेर १५ बन्दी अटाउने कक्ष थप बनाइएको थियो। अहिले १४ महिला र १३८ पुरुष गरी १५२ जना कैदीबन्दी कारागारमा छन्। गणतन्त्र दिवसका अवसरमा २ जनाले कैद मिनाह पाएपछि १ सय ५२ रहेका हुन। कारागार शाखा १५ महिला र ३५ पुरुष क्षमताको छ।

जिल्ला कारागारमा क्षमता भन्दा बढी राखिँदा खान, बस्न र सुत्न समेत समस्या हुनेगरेको कैदीबन्दीहरुको गुनासो छ। कारागारको अवस्था पनि जीर्ण छ। कारागार स्थापनाको झण्डै ४० वर्ष पुग्दा पनि पुननिर्माण भएकोे छैन। तत्कालिन सदरमुकाम नुवाकोटबाट विस २०३७ सालमा स्याङ्जा सदरमुकाममा झारिएको कारागार पछिल्ला केही बर्ष मर्मत र टालटुर्ले ब्यवस्थापन गरिदै आएको छ। २०७२ सालको विनासकारी भूकम्पले समेत कारागारलाई क्षति पुर्‍याएको थियो। भित्ताहरु चर्केको र छानो चुहिएका प्रमुख भण्डारी पिडा पोख्छन्।

स्याङ्जा कारागारमा कर्तव्य ज्यान, जर्वरजस्ती करणी, जर्वरजस्ती करणी उद्योग, जर्वरजस्ती करणी हाडनाता , अपहरण शरीर बन्धक, बहुविवाह, लागुऔषध, डाकाचोरी, चोरी, सवारी ज्यानमुद्दा, गौबध, ज्यान मार्ने उद्योग , केही सार्वजानिक अपराध, जिउ मास्ने बेच्ने लगायतका अभियोगमा सजाए भोगिरहेका बन्दी छन्। एक भारतीय महिला पनि छिन्।

Facebook Comments Box
TOP