कञ्चनपुर देखि वालिङका युवाको उद्धार : बास्तविकता र आरोपप्रत्यारोप

राधाकृष्ण डुम्रे :
पछिल्लो समय स्याङ्जामा कञ्चनपुरबाट वालिङका ४ जना युवाहरुलाई उद्धार गरी जिल्लामा ल्याएको घटना निक्कै चर्चित छ । नेकपाका नेता लक्ष्मीपति पौडेलको सक्रियतामा क्वारेन्टिनमा बसेका युवाहरु वालिङमा ल्याउनु भएको थियो । देशभर लकडाउन चलिरहेका बला पौडेलले जिल्ला प्रशासन कार्यालय स्याङ्जाको पास लिएर आफै ति युवाहरुलाई लिन जानु भएको उहाँले फेसवुकमा पोष्ट गरेको स्टेटसबाट स्पष्ट हुन्छ । पौडेलले राम्रो काम गर्नुभयो भनेर चर्चा भईरहेको बेला उहाँ कै पोष्टले एकाएक विवाद र राजनीतिक धु्रवीकरण ल्याईदियो । कतिपयले राम्रो काम भन्दै प्रशंशा गरे भने कतिपयले आफ्ना आफन्त पनि ठाउँ ठाउँमा अलपत्र परेको भन्दै किन नल्याईदिने भन्दै प्रश्न गरे । सरकारले लकडाउनको घोषणा गरी जहाँको तही रहन निर्देशन दिएसँगै बिभिन्न ठाउँमा तथा काम बिशेषले बाहिर रहेका नागरिक अलपत्र अवस्थामा नै रहेका छन् । भारतबाट आई कञ्चनपुरमा बसेका वालिङका युवालाई ल्याईएको र उनीहरुको पूर्ण परिक्षण भए नभएको भन्दै कतिपय नागरिकले आशंका समेत व्यक्त गरेको पाईयो । आशंकाको पछाडि भारतमा कोरोनाको महामारी फैलिनु रहेको पाईन्छ ।
के थियो पौडलेको विवाद उत्पन्न गराउने पोष्ट :
नेता पौडेलले आफ्नो फेसवुकमा आफुले निक्कै मेहनतका साथ काम गर्दा पनि स्थानीय सरकारले वेवास्ता गरेको, प्रहरी लगाएर ज्यादती गरिएको,सुरक्षित बिधि अपनाएर युवाहरुलाई ल्याईएको तर आफुलाई पनि क्वारेन्टीनमा बस्न भनिएको, मेयरको निर्देशनमा आफु माथि नराम्रो व्यवहार गरिएको, स्याङ्जाको सिमानाका राम्दीमा ३ घण्टा सम्म आफुहरुलाई रोकिएको, वालिङ नगरपालिका वडा नम्वर २ का अध्यक्ष पोत प्रसाद लम्सालले अल्पत्र युवाका परिवारलाई ‘जसलाई भोट हालेको हो उसलाई भन हामी ल्याउन सक्तैन’ भनेको जस्ता बिषयहरु उल्लेखछ । आफूलाई मेयरकै निर्देशनमा दुख दिईएको पौडेलको आरोप छ ।
पौडेलको पोष्टले एकाएक राजनैतिक बिभेदसँगै ताली र गालीको अवस्था सिर्जना भयो कतिपयले नेपाली कांग्रेसले जितेको वालिङ नगरपालिकाको नेतृत्व प्रति नै आक्रोश पोखे तर कतिपयले स्वयं लक्ष्मिपति पौडेल र नेकपा र सत्ताको आडमा प्रशासनलाई नियन्त्रणमा लिईएको भन्दै कटाक्ष गरेको भेटियो । उहाँको पोष्टमा दुवैथरी प्रतिक्रिया आईरहेका बेला कतिपय व्यक्तिहरुले आ आफ्नै वालमा पनि व्यक्तिगत बिचार पोष्ट गरिरहेका थिए । त्यो पनि दुवै पक्षप्रति नै लक्षित थियो ।
.

नगरप्रमुख खाँणको कमेन्ट :
नगरपालिका र उसको नेतृत्वलाई गाली गरिरहेका बेला माहोलको टर्निङ पोईन्ट नै बन्न पुग्यो वालिङका नगरप्रमुख दिलिप प्रताप खाँणको कमेन्टले, सितिमिति कसैको पक्ष र विपक्षमा प्रतिक्रिया नजनाउनु हुने खाँणले स्वयं पौडेल तथा पत्रकारहरुको पोष्टमा कमेन्ट गर्नुभएको भेटियो । नगरप्रमुख खाँणले लक्ष्मीपति पौडेललाई गलत सुचना दिएर भ्रममा पार्नु भएको भन्दै धन्यवाद समेत दिनुभएको थियो । उहाँले स्थानीयतहलाई अनावश्यक रुपमा मुछिएको पोष्टमा उल्लेखछ । अर्काे तर्फ पत्रकार प्रकाश डुम्रेको पोष्टमा नगरप्रमुख खाँणले गरेको कमेन्टमा भनिएको छ, ‘लक्ष्मीसरले बातको बताङ बनाउनु भएको छ, जवाफ दिन मन लागेको छैन । तर उहाँले लगाएको आरोपमा कुनै सत्यता छैन, यो समयमा राजनीति बात माथि उठेर कोरोनासँग लडाई गरौं ।’
नेता लक्ष्मीपति पौडेलको पोष्ट आक्रामक र कडा खालको भए पनि मेयर खाँणको कमेन्ट प्रतिवाद सहित सकारात्मक र मिलेर जानु पर्छ भन्ने खालको थियो । यसमा पनि धेरैले आआफ्नो बिचार फेसबुक मार्फत नै व्यक्त गरेको भेटियो ।
.


कसले के भने :
पौडलेको विवाद निम्त्याउने पोष्टसँगै जनपत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेको फेसवुक पोष्ट सबै भन्दा चर्चित रह्यो । उहाँले लेख्नुभएको थियो, ‘स्थानीय जनप्रतीनिधीको आग्रह नमान्ने तर क्याबिनेट सचिवालयको सदस्यको सामान्य अनुरोध स्वीकार्ने प्रशासनका कारण गृहजिल्लामा राजनीतिक तिक्तता बढेको हो, भने यो तुरुन्त सच्याउनु पर्छ, सुझाव छ ।’
यो पोष्ट जोकोहीले पनि सहजै बुझ्ने खालको थियो कि, लक्षित को प्रति छ भनेर, पत्रकार डुम्रेको पोष्ट लक्ष्मीपति पौडेलको परिवार अर्थात नेपाल सरकारका मन्त्री पद्मा कुमारी अर्याल र उहाँको सचिवालय प्रति लक्षित रहेको स्पष्ट देखिन्थ्यो,
नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रदिप कोईरालको पोष्टमा केही दिन पहिले पोखराबाट अर्जुनचौपारी आएका व्यक्ति र ल्याउन प्रयास गरेका सबैलाई क्वारेन्टीनमा राखिने तर उहाँहरु किन क्वारेन्टीनमा बस्नु नपर्ने जस्ता प्रसंग उल्लेख छ ।
नेकपाका युवा नेता मोहन गुरुङले सरोकार निकायको अमानविय व्यवहार प्रति स्याङ्जाका कतिजना पत्रकार मित्रहरुको कलम चलाउने छन् हेरौं । भनेर पोष्ट गर्नु भएको छ ।
संस्थागत रुपमा नेकपा वालिङल गम्भिर आपति भन्दै वडा नम्वर २ का अध्यक्ष पोत प्रसाद लम्साल प्रति आक्रोस पोखेको छ । यो पनि फेसबुक कै कुरा भयो ।
.


मान्छे लिन पठाउनु कमजोरी भयो प्रजिअ कुरुम्बाङ :
देशमा लकडाउन चलिरहेका बेला यति टाढा मान्छे लिन कसरी पठाउनु भयो भन्ने आँधीखोला खबरको प्रश्नमा प्रजिअ कुरुम्वाङले भन्नुभयो, ‘लिन नै पठाउन नहुने त होईन तर यस्तो अवस्थामा पठाउनु गल्ती भयो, त्यौ म स्वीकार गर्छु ।’ उहाँले क्वारेन्टीनको अवधी पुरा भईसकेकाले उनीहरुलाई जिल्लामा ल्याउन मिल्ने तर केही दिन सुरक्षित र एकान्तवासमा बस्नु पर्ने स्पष्ट पार्नु भयो ।
मैले प्रत्यक्ष नगर र वडासँग समन्वय गरेको हैन नेता पौडेल :
वालिङ नगरपालिकाको बिभिन्न गतिबिधिमा साथ, सहयोग र सहकार्य गर्दै आउनु भएको नेता लक्ष्मीपति पौडेलले आफूले यसरी मान्छे लिन जाने भनेर प्रत्यक्ष रुपमा नभनेको स्वीकार गर्नु भयो । उहाँले भन्नुभयो, ‘मैले वडा अध्यक्ष ज्युलाई युवाका परिवारलाई भन्नुभने उहाँले नराम्रो व्यवहार देखाउनु भएछ त्यसैले मैले नै प्रशासनसँग समन्वय र सहकार्य गरेको हुँ ।’ उहाँले थप्नु भयो मैले नै वडा र नगरप्रमुख सँग समन्वय गरिन । तर नेता कृष्ण खाँणले नगरपालिकालाई भन्नुभएको मेरो जानकारीमा आएको छ, पौडेलले भन्नुभयो ।
वडा कार्यालयको ध्यानाकर्षण :
वालिङ नगरपालिका २ नं. वडालाई जोडेर सामाजिक सञ्जालमार्फत गरिएको टिका टिप्पणीप्रति वडा कार्यालयले भ्रामक भन्दै आक्रोस पोखेको छ ।
वडा कार्यालयको आधिकारीक बिज्ञप्तीमा भनिएको छ आईतबार नेपाल कम्यूनिष्ट पार्टी वालिङ नगर कमिटी र ब्यक्तिगतरुपमा नेकपामा आबद्ध लक्ष्मीपति पौडेलले फेसबुक वालमा गरेको टिका टिप्पणी र विज्ञप्तीप्रति वडा कार्यालयले आईतबार विज्ञप्ती निकालेर आपत्ति प्रकट गरेको छ ।
वडा कार्यालयले आफ्नो वडाभित्रका ब्यक्तिहरुलाई सम्बन्धित निकायबाट अनुमति लिई ल्याउने तयारी भईरहेका बेला वडा कार्यालय तथा नगर कार्यपालिकाको कार्यालयमा समेत जानकारी र अनुमति नलिई गरिएको यस्तोे कार्यले नेपाल सरकार र स्थानीय सरकारको धज्जी उडाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वालिङ नगरपालिका २ नं. वडाका ५ जना मध्ये चुत्रबहादुर सार्की भनिने एकजना जिल्ला अदालत स्याङ्जाबाट चोरी डकैतीमा अभियुक्त प्रमाणित भएको हुँदा फरार अभियुक्तसमेत संलग्न गराई ल्याएको विषयले झनै नियतमाथि नै शंका उत्पन्न गराएको छ विज्ञप्तीमा छ ।
“विश्व कोभिड १९ भाईरसबाट आक्रान्त भएको अवस्थामा क्वारेन्टाईन ब्यवस्थापन कार्यविधि, सरुवा रोग (महामारी) नियन्त्रणसम्बन्धी ऐन २०२० को पूर्ण पालना गराउने जिम्मेवारी वडा कार्यालयको पनि भएको र जनताको हितका लागि वडा कार्यालय र ब्यक्तिगतरुपमा लागिरहेको अवस्थामा अनेक भ्रमात्मक टिका टिप्पणीहरु सामाजिक सञ्जालमा आएका छन् यसप्रति घोर भत्र्सना ब्यक्त गर्दछु” वडा अध्यक्ष पोतप्रसाद लम्सालले भन्नुभयो ।
नेकपाको नगर कमिटीजस्तो जिम्मेवार पार्टी र सोसँग सम्बन्धित ब्यक्तिहरुले ब्यक्तिगतरुपमा चरित्र हत्या गर्ने किसिमले सामाजिक सञ्जालमार्फत गरिएका टिका टिप्पणीप्रति वडा कार्यालय घोर भत्सना जनाउँछ वडा अध्यक्ष लम्सालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अहिलेको संवेदनशील अवस्थामा भ्रम सिर्जना गरी राजनीति गर्नुभन्दा सबै मिली पार्टीभन्दा माथि उठी देश र जनताप्रति जिम्मेवार भई कार्य गर्न पनि अध्यक्ष लम्सालले विज्ञप्तीमार्फत अनुरोध गर्नुभएको छ ।
तर नेकपा वालिङले पनि ५ जना नभई ४ जना ल्याएको जनाएको छ भने स्वयं लक्ष्मीपति पौडेलले पनि ४ जना युवा अनि चालक र आफु मात्रै आएको स्पष्ट पार्नु भएको छ । उहाँले यसमा कुनै सत्यता नभएको बताउनु भएको छ । नेकपा नगर कमिटिले पनि फेसबुकमै आफ्नो ध्यानकर्षण भएको उल्लेख गरेको छ । लक्ष्मीपति पौडलेसँग चार चना मात्रै आएको स्पष्ट हुँदाहुँदै नकारात्मक प्रचार गरिएको नेकपाको प्रष्टोक्ति छ ।
.


युवाका परिवार र आफन्तको बुझाई :
वालिङ २ दलित युवाहरु घरमा आए पछि उनको परिवारमा खुसी त छाउने नै भयो , खुसी भन्दा अगाडिको प्रशंग जोड्नु उपयुक्त रहन्छ । एक युवाका अभिभावक मेनुका सार्कीसँग आँधीखोला खबरले तपाईलाई वडा अध्यक्ष लम्सालले नराम्रो व्यवहार देखाउने काम गर्नु भएको हो भनेर सोधेका थियौं, जसमा उहाँले भन्नुभयो, हामीलाई अध्यक्ष लम्सालले त्यस्तो नराम्रो व्यहार देखाउनु भएको छैन र गाली पनि गर्नु भएको होईन, हेरौ कसरी सकिन्छ पैसा उठाएर भए पनि ल्याउनु पर्ला, नगरले सके सम्म प्रयास गर्छ भन्नुभएको हो । अनि तपाईलाई लौ बर्बाद हुने भो, जसलाई भोट हालेको हौ उसैलाई भन भन्ने जस्ता कुरा कसरले सुनायो त भन्ने प्रश्नमा मलाई त अनिता सार्कीले सुनाउनु भएको हो उहाँले स्पष्ट पार्नु भयो । हामीले अनितासँग पनि कुरा गर्न खोज्दा मोवाईल स्वीच अफ भन्यो र कुरा गर्न सकिएन । अनिता नेकपाको संगठित सदस्य समेत भएकाले राजनीतिक लडाईको कुरा स्थानीय स्तरबाट नै उठेको त होईन भन्ने शंका वडाको छ ।
निश्कर्ष :
नेकपाको शक्तिशाली दुईतिहाईको सरकार छ । उसले जनताको हित र सुरक्षाको लागि घोषणा गरेको लकडाउनलाई प्रतिपक्ष कांग्रेसले पनि सहयोग र साथ दिदै आएको छ । वालिङमा कांग्रेको बहुमत छ तर स्थानीय स्तरमा कोरोना रोकथामका लागि भएका गतिबिधिमा नेकपाको साथ र सहयोग रहेको छ । नगर अध्यक्ष राजेन्द्र डुम्रेले कोरोना रोकथामका लागि सवै मिल्नु पर्छ भन्नेमा कुनै शंका नभएको बताउनु हुन्छ ।
यस्तो परिस्थिती हुँदा हुदै यो द्धन्द आउनु सारै दुखद छ । जिल्ला कै प्रमुखको तुलनामा वालिङका प्रमुख खाँण सवैलाई मिलाएर लानु पर्छ मिलेर काम गर्नु पर्छ भन्ने र व्यवहारमा पनि त्यही उतारेको पाउन सकिन्छ । पछिल्लो समय चिउरीमा नेकपाका दुई नेता बीचको हात नै भचिने गरी भएको कुटाकुटको बिबाद मिलाउनमा समेत कांग्रेसबाट जितेका मेयर खाँणको महत्वपूर्ण भुमिका रहेको घटनाका प्रत्यक्षदर्शी एवं कांग्रेस नेता अर्जुन खनालको भनाई छ ।
अर्काे तर्फ यसै क्षेत्रबाट बिजयी हाल का नेपाल सरकारका मन्त्री पद्मा कुमारी अर्याल र नगरपालिका बीच सहकार्य र समन्वय राम्रो पाउन सकिन्छ तर पछिल्लो सयम यो घटना जसरी आयो त्यो आफैमा दुखद र पिडादायी छ । कोरोना रोकथाम र वालिङको बिकासका लागि सहकार्यको बातावरण बनोस हाम्रो शुभकामना ।
यो पनि पढ्नुहोस्……..
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…