लकडाउन प्रभाव : आदर्शले सुरु गर्‍यो अनलाइन कक्षा

भवानी अधिकारी/स्याङ्जा : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अनिश्चित बनेको एसईई (माध्यमिक शिक्षा परीक्षा) ध्यान दिँदै नेपाल आदर्श माध्यमिक विद्यालयले अनलाइनबाट अध्यापन सुरु गरेको  छ। 

वालिङ नगरपालिका ८ भिमटारीमा रहेको विद्यालयले लकडाउनमा पनि विद्यार्थीले आ-आफ्नै घरमा बसेर पढाइलाई निरन्तरता दिन सकून भन्ने उदेश्यले अनलाइनमार्फत पढाउन मंगलबारदेखि सुरु गरेको प्रधानाध्यापक होमकान्त गौतमले जानकारी दिए । 
दुईसाता लामो लकडाउन पछि पनि पुनः सरकारले बैशाख ३ गतेसम्म लकडाउनको समयाबधि बढाएपछि विद्यालयले डिजिटल प्रविधिको प्रयोग गरेको हो । विद्यालयका ७६ जना एसईईका परीक्षार्थीलाई लक्षित गर्दै अनलाइन तयारी कक्षा संचालन गरेको हो । इन्टरनेटको पहुँच भएपछि जुम एप्स डाउनलोड गरी शिक्षक र विद्यार्थीले सँगसँगै पढ्न र पढाउन सकिनेगरी अनलाइन कक्षा सुरु गरिएको प्रधानाध्यापक गौतमले बताए।

विद्यालयले सबै शिक्षकलाई ल्यापटप र डिजिटल वोर्ड उपलब्ध गराएको छ । शिक्षकले आ-आफनै घरबाटै सबै विद्यार्थीलाई अनलाइनबाट कक्षा संचालन गरिरहेका छन्। ८ वटै विषयका कक्षा संचालन भएका हुन्। 

कोरना भाइरसको संक्रमणका कारण सरकारले परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरेपछि अन्यौलमा परेका विद्यार्थी अनलाइनबाट पढ्न पाउदा खुशी भएका छन् ।  इन्टरनेटको पहुँच नहुनेले ३÷४ जना साथीहरु मिलेर पढ्ने गरेका छन्। अनलाइनबाट पढाइलाई निरन्तरता दिन पाउँदा खुशी लागेको एसईईका परीक्षार्थी रिया तिवारीले बताइन्।

अभिभावकलाई अनलाईन शिक्षाका लागि आफ्ना नानी बाबुलाई तयारी रहन जानकारी गराएपछि कक्षा सुरु गरेको विद्यालयले जनाएको छ । 

Facebook Comments Box
TOP