स्याङजा जिल्ला अस्पतालबाट टेलिमेडिसिन सेवा सुरु

भवानी अधिकारी /स्याङजा :

     पुतलीबजार नगरपालिकामा रहेको जिल्ला अस्पताल स्याङजाले बिहीवारदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ । जिल्ला अस्पताल स्याङजाकाद्धारा अस्पतालमा आयोजित कार्यक्रम मार्फत दुर चिकित्सापद्धतीको सुभारम्भ भएको जानकारी गराएको हो । इन्टरनेटको सहायताले भिडियो कल, स्काईप, म्यासेन्जर, भाइवर मार्फत पनि  बिरामी र सम्बन्धित डाक्टरको भेटवार्ता गरिने पद्धतीलाई टेलिमेडिसिन भनिन्छ । 

        टेलिमेडिसिन सेवाको सुभारम्भ गर्दै पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले सूचना प्रबिधिका कारण विश्व नै नजिक बनाएको बेला यस्ता प्रबिधिको उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । इन्टरनेट मार्फत विरामी र डाक्टरसंगको साक्षात्कार भेटवार्ता गरी आफना मार्का र पीडालाई सहज बनाउनुका साथै रोग निर्मुल बनाउन सहयोग पुग्नेमा उहाले जोड दिनुभयो । पुतलीबजार नगरपालिकामा रहेको जिल्ला अस्पतालको गुणस्तरीयतामा कमी आउन नदिन आफुले आवश्यकता अनुरुपको सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रमुख क्षेत्रीले प्रतिवद्धता जनाउनुभयो । 


      कार्यक्रममा बालरोग विशेषज्ञ डा. रामहरि शर्मा, अस्पतालका डा. नारायण गोदार, च्याम्बर अफ कमर्शका महासचिव लोकनाथ रेग्मी लगायतले टेलिमेडिसिनका उपयोगीता र आवश्यकताका बारेमा जानकारी गराउनुभएको थियो । अस्पताल विकास समितिका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल प्रमुख डा. सुशिल मरासीनीले स्वागत एवं मेडिकल रेकर्डर सुपरभाइजर बुद्धिसागर अधिकारीले संचालन गर्नुभएको थियो । 

       पुतलीबजार नगरपालिका ३ घरभई बिगत १० बर्षदेखि अमेरिकामा बस्दै आउनुभएका बालरोग विशेषज्ञ डा. रामहरी शर्माको समन्वयमा टेलिमेडिसिन सेवा सुरु गरिएको हो । शर्माले बालरोग सम्बन्धी सहजीकरण गर्नुहुने जनाईएको छ । 

      पुतलीबजार नगरपालिका ३ मा रहेको जिल्ला अस्पतालले आन्तरिक स्रोत ब्यवस्थापन गरेर टेलिमेडिसिन संचालनमा ल्याएको अस्पतालका सुपरीटेनडेन्ड डा. सुशिल मरासीनीले जानकारी दिनुभयो । आगामी दिनमा अस्पतालका आवश्यकता अनुरुप थप जनशक्ति र उपकरणको बृद्धि गर्दै अन्य सुबिधासम्पन्न अस्पतालसंग समन्वय गर्दै रोग निदानका कार्य गरिने उहाको भनाई छ । 
Facebook Comments Box
TOP