स्याङ्जाका काफ्लेको व्यावसायिक सफलताको कथा : ‘नबिल बैंकको साथले सफल भएँ’

Bank-lone-kafle-3

भूपराज बस्याल/काठमाडौं :

बैंकबाट ऋण लिएको बुबाले थाहा पाए गाली गर्ने भएपछि आमाको नाममा रहेको केही जग्गा धितो राखेर २५ वर्षको उमेरमा व्यवसाय शुरू गर्नु भएका स्याङ्जाका नवदत्त काफ्ले अहिले सफल व्यवसायीको रूपमा चिनिनुहुन्छ।

घरबाट बुवाले पढाइसँगै जागिर गर्न भन्दै काठमाडांै पठाइएका काफ्ले केही समय पस्मिना कम्पनीमा एकाउन्टेन्ट काम गरेपछि त्यही अनुभवका आधारमा व्यवसाय शुरू गर्नुभएको थियो। चार वर्षसम्म बुवालाई थाहा नदिई व्यवसाय चलाउनु भएका उहाँले व्यवसायबाट केही आम्दानी आउन शुरू गरेपछि मात्रै घरपरिवार सबैलाई बताउनुभएको थियो।

व्यवसाय गर्ने इच्छा जागेपछि लगानीको जोहोमा जुट्नु भएका उहाँले आमाको नाममा रहेको केही जग्गा बैंकमा धितो राखेर पाँच जना कामदारबाट काम शुरू गर्नुभएको थियो भने आज उक्त कम्पनीमा सयौं कामदारले काम गरिरहेका छन्। एउटा फ्ल्याट भाडामा लिएर शुरू गरेको व्यवसायलाई अघि बढाउन बैंकमा ऋण खोज्दै हिँड्नु भएका उहाँलाई त्यतिबेला अन्य बैंकले ऋण दिन मानेनन्।

आफूले नेपालमा कर्मचारी र अन्य अफिस व्यवस्थापनको लागि ऋण नखोजेकाले चीनबाट केही मेसिन ल्याएर व्यवसाय बढाउन ऋण खोजेको भन्दै हिँड्दा नबिल बैंकले यहाँ पैसा नदिने तर चाइना सिधै पैसा पठाउने सहमतिमा ऋण पास गरेपछि उहाँको व्यवसायमा प्रगति शुरू भएको थियो।

उहाँले भन्नुभयो– ‘म आज जुन स्थानमा छु त्यो नबिल बैंकको कारण हो।’ उहाँले हाम्रो सम्वादका क्रममा पटक–पटक नबिल बैंकलाई सम्झिदै अहिलेसम्म पनि सबै कारोबार त्यही बैंकबाट गरेको बताउनुभयो। ‘मैले व्यवसायलाई देखाएर ऋण लिएर घर जग्गातिर पैसा हालेको भए सायद म आज यो स्थानमा हुने थिइन।’

त्यसैले जुन कामको लागि भनेर ऋण लिने गरिन्छ त्यही काममा प्रयोग गर्न सके पक्कै पनि सफल हुने उहाँको अनुभव छ। आफूले पाँच कामदार र तीन मेसिनका आधारमा ऋण लिएर व्यवसायलाई यो स्थानमा पुर्याएको अनुभव सुनाउँदै बैंकले ऋणको लागि धितोभन्दा पनि ऋण शीर्षकको सही प्रयोग र उसको व्यवसायप्रतिको इच्छाशक्ति हेरेर लगानी गर्न आग्रह गर्नुहुन्छ।

कतिपय साथीहरू व्यवसायमा सफल नभएको अनुभव सुनाउनुहुन्छ। उहाँको पृष्ठभूमि हेर्ने हो भने दशतिर हात हाल्नु भएको छ। एउटै काममा दृढ हुनुहुन्न त्यसैले उहाँहरू सफल हुन सक्नुभएन। व्यवसाय गर्न दृढ इच्छाशक्ति र लगनशीलता प्रमुख कुरा हुने उहाँको अनुभव छ। अनुभव भएको व्यवसायमा इच्छाशक्तिका साथ लागि परे व्यवसायमा खासै असफल नहुने उहाँको तर्क छ।

नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान २०५४ सालदेखि पस्मिना व्यवसाय शुरू गर्नु भएका स्याङ्जा जिल्ला भीरकोट नगरपालिका–३ समार्दी खोलाका नवदत्त काफ्लेको एसके पस्मिना इन्ड्रष्डिज प्रालि काठमाडौंको बसुन्धारामा रहेको छ।

सयौं कामदारहरू रहेको उक्त कम्पनीले २०/२५ देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ भने निरन्तर रुपमा अमेरिका, बेलायत, इटली, जर्मनीलगायतका देशमा व्यापार गर्दै आएको छ।

हिमाली उच्च भेगका च्यांग्राबाट आउने रौंको कच्चा पदार्थबाट सुइटरका विभिन्न डिजाइन, पछौरीका विभिन्न डिजाइन, स्काब, ब्लयाङकेटलगायतका समान उत्पादन गर्दै विदेश सप्लाई गर्दै आउनुभएको छ। १० लाख रुपियाँबाट शुरू गरेको व्यवसाय कडा मेहनत र परिश्रमका साथ उहाँ आज यो स्थानमा पुग्नुभएको छ।

कच्चापदार्थ र मेसिनसमेत चाइनाबाट ल्याएर सञ्चालन गरिएको व्यवसायबाट सोच जस्तो फड्को मार्न भने नसकिएको उहाँको भनाइ छ। बेला–बेला परिवर्तन हुने सरकारी नीति र बैंकको ब्याजले गर्दा नेपालमा स्थायी रूपमा उद्योग संचालन हुन नसकेको गुनासो गर्दै धेरै युवालाई रोजगारी सिर्जना गर्न उत्पादन मुलुक क्षेत्रको लगानी बढाउनुपर्नेमा त्यसो हुन नसकेको र सरकारले आफ्नो लक्ष्य पनि पूरा हुन नसकेको उहाँले बताउनुभयो।

बैंकमा ऋण लिएर काम गर्यो बेलाबेलामा परिवर्तन भएका नीतिका कारण तिर्ने बेलासम्म त्यसको दोब्बर हुन्छ त्यसैले दिगो रूपमा व्यवसाय गर्न गाह्रो भएको बताउनुभयो। बैंक सेवाप्रदायक भन्दा पनि बैकिङ क्षेत्र पनि एउटा व्यवसायको क्षेत्र भएको हुँदा बैंकलाई भरोसा दिलाउन सके बैंक लगानी गर्न इच्छुक हुने हँुदा ऋण लिएपछि तिर्छु भन्ने दृढ इच्छा राखे सफल हुने उहाँको अनुभव छ। साभार -नेपाल समाचारपत्र

Facebook Comments Box
TOP