वालिङलाई स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त बनाउने प्रतिबद्धता

तोलाकान्त बगाले/वालिङ :
वालिङलाई स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त नगर बनाउन जनप्रतिनिधिहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

युएसएआईडी, दियालो सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपाल र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा वालिङमा बुधबार सम्पन्न भएको एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता सम्बन्धी दुई दिने गोष्ठीमा जनप्रतिनिधिहरुले सामूहिक प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

नेपाल सरकारले अवलम्बन गरेको बहुक्षेत्रीय पोषण योजनाको मर्म अनुसार मातृ शिशु बाल्यकालीन तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार ल्याउन वालिङ नगरपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त बनाई समृद्ध नेपाल सुखी नेपाली बनाउने र दिगो विकास लक्ष्य प्राप्ति गर्ने अभियानलाई सफल बनाउने उद्धेश्यले प्रतिबद्धता गरिएको हो ।

सामूहिक छलफलबाट प्राप्त भएका सुझावहरुलाई ग्रहण गरी आगामी दिनमा योजना बनाएर कार्यान्वयनको चरणमा जाने नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष केदार काफ्लेले बताउनुभयो ।

अहिले गरेका प्रतिबद्धता अनुसार नै योजना बनाउन सहजीकरण गरी योजना प्रक्रियाको माध्यमबाट वालिङ नगरपालिकाको वार्षिक कार्यक्रममा समाहित गरेर कार्यान्वयनको चरणमा लैजाने नगर प्रवक्ता काफ्लेले बताउनुभयो ।

संयुक्तरुपमा कार्यक्रमको अनुगमन गरी पालिका एवं वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमा एकीकृत पोषण कार्यक्रमकाबारेमा प्रगति समीक्षासहित कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालिएको सुआहारा कार्यक्रमका प्रवन्ध निर्देशक विश्वरमण न्यौपानेले बताउनुभयो ।

मातृ शिशु तथा बाल्यकालीन पोषणका लागि स्थानीय सुशासन, स्वास्थ्य, कृषि तथा पशु सेवा, स्वच्छता खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका र शिक्षाका विषयमा समूहगतरुपमा छलफल भएको थियो ।
एकीकृत पोषण सुधारका लागि रचनात्मक प्रयास गर्ने, स्थानीयरुपमा उत्पादन भएका पोषणयुक्त खानालाई प्रोत्साहन तथा विद्यालयहरुमा जंकफूड हटाई दिवा खाजाको ब्यवस्था गर्ने, आवश्यकता अनुसार प्रचार प्रसार गर्ने, स्वच्छ र सफा खानेपानीको पहुँच विस्तार गर्ने, एकघर एक करेसाबारी स्थापना गर्ने, नगरलाई पूर्ण सरसफाईयुक्त नगर बनाउने, अण्डा तथा मासुमा आत्मनिर्भर नगर बनाउने, तालिम तथा क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने नीति मातृ शिशु तथा बाल्यकालीन पोषणका लागि स्थानीय सुशानमा रहेको छ ।
त्यस्तैगरी सुनौला एक हजार दिनका आमाहरुलाई प्रभावकारी परामर्श दिने, बालस्वास्थ्य कार्ड अपडेट गर्ने, गर्भवती तथा सुत्केरी महिलालाई २ वर्षसम्म प्रोटोकल अनुसार नियमित सेवा तथा फ्लोअप गर्ने, स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम गर्ने र पुरस्कृत गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिबृद्धि गर्ने रहेका छन् ।

प्रत्येक वडामा स्वयंसेवक प्राविधिक ब्यवस्था गर्ने, हाटबजार तथा कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, माटो परीक्षण गरी उपयुक्त बाली सिफारिस गर्ने, सुनौला एक हजार दिनका घर परिवारलाई कृषि तथा पशुपालन ब्यवसायमा अनुदान उपलब्ध गराउने जस्ता नीतिहरु कृषिमा रहेका छन् ।

त्यस्तैगरी स्वस्थ जीवनका लागि स्वच्छ पानी, एक घर एक फिल्टर अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने, स्वस्थ घर प्रवद्र्धन कार्यक्रमलाई अघि बढाउने छन् ।

बालबिवाह गर्दा स्वास्थ्य तथा पोषणसम्बन्धी देखिने असरकाबारेमा जानकारी दिने, महिला तथा पुरुषको समान सहभागिता सुनिश्चित गर्ने, नगरपालिका, वडा तथा अन्य सरकारी कार्यालयहरुमा सुविधासम्पन्न स्तनपान कक्षको ब्यवस्था गर्ने, माध्यमिक तहका विद्यालयहरुमा सेनेटरी प्याड वितरण गर्ने, विद्यालयहरुमा प्राथमिक उपचारको ब्यवस्था मिलाउने, सबै विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने लगायतका प्रतिबद्धता भएको हो ।

Facebook Comments Box
TOP