वालिङमा कुपोषित बालबालिकाको संख्या शुन्यमा झार्छौ – नगर प्रमुख खाँण

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमलाई दिगोपना दिंदै वालिङमा हाल रहेको कुपोषित बालबालिकाको संख्यालाई शुन्यमा झार्ने बताउनु भएको छ ।

युएसएआईडी, दियालो सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपाल र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा आजबाट वालिङमा शुरु भएको एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता सम्बन्धी दुई दिने गोष्ठी कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख खाँणले सरोकारवालाको सहयोग र समन्वयमा नगरभित्रका सुनौला हजार दिनका आमाहरुलाई लक्षित पोषणका कार्यक्रमलाई अझै प्रभावकारी तबरले सञ्चालन गर्ने बताउनुभयो ।

“सुनौला हजार दिनका आमाहरुको पोषणलाई ख्याल गर्दै आवश्यक निती तथा योजनाहरु बनाएर अगाडि बढ्छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “सुनौला हजार दिनका आमा तथा बालबालिकाका लागि गरिएको खर्च, खर्च नभई लगानी भएकोले यसले भोलिका दिनमा प्रतिफल दिनेमा विश्वस्त छु ।”

भौतिक पूर्वाधारमा गरिएको लगानी छिटो देखिएपनि त्यो दीर्घकालीन नहुने तर गर्भवती महिला तथा बालबालिकामा गरिएको लगानीको प्रतिफल आगामी पुस्तामा देखिने र दीर्घकालीन हुने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बताउनुभयो ।

वालिङ नगरपालिका भित्र २ वर्षमुनीका वच्चाहरुको कुपोषणको दर १.३ प्रतिशत रहेको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।

निरीक्षक पाण्डेका अनुसार २ वर्षभन्दा मुनीका बालबालिकाहरुको बृद्धि अनुगमन बढाउनुपर्ने अवस्था रहेको र बृद्धि अनुगमन पश्चात यदि कुनैपनि बालबालिकामा कुपोषणको समस्या देखिएमा पोषण परामर्श एवं उपचारका लागि माथिल्लो ठाउँमा प्रेषण गर्ने गरिएको छ ।

कार्यक्रममा पहिलो दिन सुआहारा कार्यक्रमका बरिष्ठ प्रवन्धक विश्वरमण न्यौपाने, वालिङ नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम सापकोटा, स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे, पशु सेवा शाखाकी प्रमुख देवकुमारी श्रेष्ठ, कृषि शाखा प्रमुख केशबहादुर थापा, सुआहारा कार्यक्रम स्याङ्जाका संयोजक याम जिसी लगायतले शाखागत कार्य प्रगतिकाबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नगरपालिकालाई कुपोषणबाट मुक्त गराउने अभियान अन्तर्गत कार्यक्रम व्यवस्थापन गरिएको दियालो संस्थाका अध्यक्ष कबिता तिवारी गैह्रेले जानकारी दिनुभयो ।

बुधबार सम्पन्न हुने गोष्ठीबाट प्राप्त प्रतिबद्धतालाई कार्यान्वयनको चरणमा लगिने वालिङ नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
TOP