सुआहारा र आईपास कार्यक्रमको बार्षिक समिक्षा स्याङ्जामा सम्पन्न ।

भवानी अधिकारी/स्याङ्जा :
आइपास र दोश्रो चरणमा संचालित सुआहारा कार्यक्रमले चालु आर्थिक बर्षमा भए गरेका कामका गतिबिधि र आउँदा बर्षका कार्यक्रमका बारेमा जानकारी गराएका छन् ।
आइपास नेपाल र सुआहाराको आयोजना तथा जनस्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा बिहीवार सदरमुकाममा आयोजित बार्षिक समिक्षा कार्यक्रम मार्फत सो को जानकारी गराइएको हो ।
समिक्षा कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मा, सुआहारा कार्यक्रम संयोजक याम जी.सी., दियालो सुआहारा कार्यक्रम परियोजना प्रवन्धक ओमसुबा गुरुङ र आइपास नेपाल गण्डकी प्रदेश इन्चार्ज थमकुमारी कुवँरले प्रगती विवरण, चुनौती एवं आगामी बर्षका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।


जिल्लाका ११ वटै पालिकाका ९५ वटै वडामा पोषण तथा खाद्य सुरक्षण निर्देशन समिति गठन गरेर आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने काम गर्दे आएको सुआहारा कार्यक्रमले जनाएको छ । उहाका अनुसार १ हजार दिनका आमाका दम्पतीलाई लैंगिक समानता तथा सामाजिक समावेशीकरणको तालिमपद्धि पािरवारिक सहयोगमा बृद्धि भएको प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।
विगतका तुलनामा सुहारा कार्यक्रम संचालनपछि हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा उल्लेख्य प्रगती भएको, घरायशी खाद्यान्नमा जोड दिइएको, ६ महिनासम्मका शिशुलाई आमाको दुध चुसाउने बानी बसेको, स्वास्थ्य संस्थाहरुमा पोषण कर्नरको ब्यवस्थाका लागि सुरुवात हुन थालेको जस्ता कार्यक्रमले आमा र नवजात शिशुका स्वास्थ्यमा प्रगती भएको जनाइएको छ । स्याङ्जाका ४५ हजार ४ सय ३२ घरधुरीमा पुगेर गरिएको सर्वेक्षण र बिबिध क्षेत्रगत तथ्यांकका बारेमा सुआहारा कार्यक्रम संयोजक याम जी.सी. र दियालो सुआहारा परियोजना प्रवन्धक ओमसुवा गुरुङ्ले कार्यपत्र मार्फत जानकारी गराउनुभएको थियो ।


यसैगरी, जनस्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मा र आइपास नेपालका गण्डकी प्रदेश इन्चार्ज थमकुमारी कुवँरले अनिच्छित गर्भावस्थाको न्यूनिकरण सुरक्षित गर्भपतन सेवा र प्रजनन स्वास्थ्य अधिकारका बारेमा पनि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपालमा प्रतिवर्ष ३ लाख २३ हजारले गर्भपतन गराउने जनाउदै ती मध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको जनाईएको छ । ती मध्ये प्रति घण्टा २१ जना महिला किशोरीले, प्रतिदिन ५ सय २० जना महिला किशोरीले, प्रति महिना १५ हजार ५ सय १२ महिला किशोरीले र प्रति बर्ष १ लाख ८६ हजार १ सय ४४ जना महिला किशोरीले असुरक्षित गर्भपतन गराउदै आएको उल्लेख छ ।
यसरी बढ्दो असुरक्षित गर्भपतनलाई न्यूनिकरण गर्दे सुरक्षित गर्भपतन गराउन सचेतना दिने कार्यक्रमको प्रमुख उदेश्य रहेको आइपासका इन्चार्ज कुवँरले भन्नुभयो ।
समिक्षा पछिको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले विकास र समृद्धिका लागि सरकार, गैरसरकारी संस्था र बैदेशिक संस्थाहरुसंग सहकार्य र समन्वय गर्दे अघि बढ्नु पर्ने बताउनुभयो । संघीय सरकारद्धारा निर्दिष्ट नीति र कार्यक्रमको कार्यान्वयन गर्न स्थानीय सरकारले हामी सबैको समान दायित्व र भूमिका हुने हुदाँ यस्ता कार्यक्रम संचालनपछि स्थानीय तहमा उपलब्धी देखिनुपर्नेमा उहाँको जोड छ । वैदेशिक रकमलाई प्राथमिकीकरण गर्दा सरकार भन्दा पनि डोनरमुखी भईदिदा कहिले काँही समस्यामा पर्ने गरेको पनि प्रजिअ कुरुम्वाङले बताउनुभयो ।
जिल्ला स्वास्थ्य सल्लाहकार समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य प्रमुख यामप्रसाद शर्माले स्वागत एवं जनस्वास्थ्य अधिकृत मित्रबन्धु अर्यालले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP