खुमा अर्याल फाउण्डेशनको आयोजनामा बिशेषज्ञ सहितको बृहत निशुल्क स्वास्थ्य शिविर

भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका १३ स्थित रानीथुम्कामा बिशेषज्ञ सहितको बृहत निशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
खुमा अर्याल फाउण्डेशन र रेडक्रस सोसाइटी उपशाखाको आयोजना, आमा मिलन केन्द्रको समन्वय तथा गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर गरिएको हो ।
शिविर उदघाटन गर्दे फाउण्डेशनका संरक्षक खुमा अर्यालले स्वास्थ्य सेवाको सहज पहुँच भन्दा केही पर रहनु भएका जेष्ठ नागरिक, बृद्धा, बालबालिका, महिला र अन्य युवाका लागि लक्षित गर्दै सबै विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गरिएको बताउनुभयो । शिविरबाट सबैले लाभ लिन आग्रह गर्दै फाउण्डेशनले आगामी दिनमा समेत यस्ता कार्यलाई अन्य क्षेत्रमा समेत विस्तार गर्दे अघि बढाउने जानकारी दिनुभयो ।


कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्रिन्सिपल रबिन्द्रप्रसाद श्रेष्ठ, वडा अध्यक्ष ख्यामनारायण अधिकारी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखा मन्त्री दिनेश अर्याल, फाउण्डेशनका सचिव धु्रव शर्मा, आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल, टोल विकास संस्थाका संयोजक तारक बहादुर थापा लगायतले स्वास्थ्य शिविरमा बिशेषज्ञ सहितको बिशेष स्वास्थ्य सेवाले यहाँका स्थानीयबासी धेरै लाभान्वित भएकोमा जोड दिनुभयो ।
रेडक्रस उपशाखा सभापति भागिरथ तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति दुर्गाबहादुर सारुले स्वागत, उपसचिव जयप्रसाद गौतमले धन्यवाद एवं कोषाध्यक्ष तुलेन्द्र केसीले संचालन गर्नुभएको थियो ।


गण्डकी मेडिकल कलेजका बिशेषज्ञ सहितको चिकित्सकहरुको टोलीले बिभिन्न रोगका ५ सय २४ जना विरामीको निशुल्क स्वास्थ्य परिक्षण एवं औषधी उपलब्ध गराएका थिए । शिविरमा भिडियो एक्सरे, इसीजी, हाडजोर्नी, नशा, आँखा, नाक कान घाटी, छाला तथा यौन रोग, इसीजी, बालरोग, दाँत, स्त्रीरोग, सम्बन्धी बिशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको हो ।

Facebook Comments Box
TOP