गण्डकी प्रदेशको नमुना कृषि गाउँलाई १४ करोड ।

पोखरा । ‘१ निर्वाचन क्षेत्र १ नमुना कृषि गाउँ’ विकास गर्न गण्डकी प्रदेश सरकार लागि परेको छ । चैत १० गते योजनाको सुरुआत तनहुँको भीमाद ९ पाथर्दीबाट प्रदेश सरकारले गरेको थियो । योजनाकोे शुभारम्भ गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, ‘अबको ५ वर्षमा प्रदेशको उत्पादन दोब्बर हुन्छ । यहाँ अझैं १४ प्रतिशत जनता गरिबीको रेखामुनी छन्, त्यो पनि आधा घट्ने छ ।’

पाथर्दीमा बोयर जातको बाख्राको स्रोत केन्द्र बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको छ । गण्डकी प्रदेशमा जम्मा ३६ वटा निर्वाचन क्षेत्र छन् । ३६ वटै निर्वाचन क्षेत्रका प्रत्येक स्थानीय तहको प्रतिनिधित्व हुने गरी वातावरण मैत्रीसँगै नमुना कृषि फार्म खोल्ने प्रदेश सरकारको लक्ष्य छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले योजना कार्यान्वयन गर्न १० करोड ८० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । ती सबै स्थानीय तहलाई समेट्ने गरी चालु आर्थिक वर्षमा पनि थप ३६ वटा गाउँलाई नमुना गाउँकारुपमा विकास गर्न प्रदेश सरकार लागि परेको छ । तर, चालु आवमा कार्यक्रमका लागि प्रति गाउँ २५ लाख रुपैयाँमात्र प्रदेशले दिने निर्णय गरेको छ ।

योजना कार्यान्वयन गर्न प्रदेशको ३६ वटै निर्वाचन क्षेत्रका लागि प्राविधिक छनोट भइसकेका छन् । प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्न सम्बन्धित गाउँमा उपसमूह गठन हुनेछ । सोही उपसमूहले कृषिलाई टेवा पुग्ने गरी आफ्ना आवश्यकता अनुसार विभिन्न शीर्षकमा खर्च गर्न पाउने सुविधा छ ।

नमुना कृषि गाउँ अन्तर्गत कास्कीका ६, पर्वतका २, बागलुङका ४, स्याङ्जाका ४, तनहुँका ४ म्याग्दीका २, मुस्ताङका २, मनाङका २, गोर्खाका ४, लमजुङका २ र नवलपुरका ४ वटा गाउँलाई प्रदेश सरकारले छनोट गरिसकेको छ ।

Facebook Comments Box
TOP