स्याङ्जाको पानीस्वाँरामा पानीकै संकट ।

स्याङ्जा — भीरकोट नगरपालिका–८ सिर्कोटको अर्को नाम हो पानीस्वाँरा । यहाँ खानेपानीको संकट भने पुरानै छ । स्थानीय बेनकला रेग्मी एक घण्टा लगाएर कुवाबाट एक गाग्री पानी ल्याउँछिन् । वर्षामा आकाशे पानीको भर पर्नुपर्छ । ‘कुवामा पालो कुरेर एक गाग्री पानी ल्याउँदा बिहान बित्छ । आएर कतिबेला घरको काम गर्ने, मेलापात गर्ने । साह्रै समस्या छ,’ उनले भनिन् । 

स्थानीय स्वयंसेविका छविकला चापागाईंले गाउँको नाम पानीस्वाँरा रहे पनि पानीको सधैं अभाव हुने बताइन् । गाउँमा रहेका प्रहरी, स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालयले पनि खोजेको पानीले गर्जो टार्नुपर्छ ।
‘गाउँमा तीनवटा कुवा छन्,’ स्थानीय यामकला तिवारी भन्छिन्, ‘बेलाबेलामा कुवा सरसफाइ गर्छौं र खानका लागि प्रयोग गर्दै आएका छौं ।’ नुवाइधुवाइका लागि भने समस्या रहेको उनले बताइन् । सिर्कोटको १ सय ७७ घरधुरीको करिब ७ सय जनसंख्यालाई खानेपानीको संकट छ । वडाध्यक्ष भीमबहादुर गुरुङले वडाभर खानेपानीको समस्या भएको बताए ।
‘लिफ्टिङ गरेर पानी ल्याउने तयारी भइरहेकाले अझै केही समय अभाव हुनेछ,’ उनले भने, ‘गाउँबाट १ किलोमिटर ओरालोमा भएको मूलमा ट्यांकी बनाएर पानी ल्याउने तयारीमा छौं ।’ योजनामा बेलैमा बजेट विनियोजन भए आगामी आर्थिक वर्षबाट पानीको संकट हट्ने उनले बताए । एक घर एक धारा नभए २/३ घरको एउटा साझा धाराबनाउने योजना रहेको उनले सुनाए । कान्तीपु्र दैनिकबाट

Facebook Comments Box
TOP