भोलि हुने वृहत निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा ।

आँधीखोला खवर / वालिङ :
स्याङ्जाको वालिङमा भोलि हुने वृहत निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । रोटरी क्लव अफ वालिङ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा हुने शिविरमा गौतम वुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोग रहने बताईएको छ ।

र्यालीमा सहभागीहरु


शिविरमा मुटु, मृर्गौला, दम तथा छाती निमोनिया र अन्य विभिन्न रोगको निशुल्क परिक्षण गरिने रोटरी क्लव अफ वालिङका अध्यक्ष मधुसुदन आचार्यले जानकारी दिनुभयो । उहाँले शिविरमा निशुल्क रुपमा रगत परिक्षण गरिनुका साथै आवश्यक औषधी समेत निशुल्क वितरण गरिने बताउनु भयो ।

शिविरमा बरिष्ठ मुटु रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ,मृगौला रोग विशेषज्ञ,जनरल फिजिसियन लगायतका स्वास्थ्यकर्मीहरुबाट ईसिजी र ईकोबाट मुटु रोगको परिक्षण तथा पिएफटिबाट दम तथा छाती रोगको परिक्षण गरिने शिविरका सह—संयोजक राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
वालिङ वहुमुखी क्याम्पस परिसरमा हुने शिविरको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
यस अघि शिविरको वारेमा जानकारी दिन भन्दै चेतनामुलक र्याली समेत गरिएको थियो । रोटरी क्लब अफ वालिङको अगुवाईमा वालिङ रेडक्रस ,लायन्स क्लव अफ वालिङ सिटि, सक्षम सिबिटेन क्लब वालिङ एब वालिङ बहुमुखी क्याम्पस सहितको टोलीले बजारका विभिन्न भागमा पुगेको थियो ।

Facebook Comments Box
TOP